ह्यारी केन ‘गोल्डेन बुट’ जित्ने दोस्रो इङ्लिस खेलाडी बन्दै
काठमाडौं (एजेन्सी)– इङ्लिस कप्तान ह्यारी केन ‘गोल्डेन बुट’ को एक मात्र दावेदार बन्न पुगेका छन्। फ्रान्स र क्रोएसियाविरूद्ध आज हुने फाइनलमा केनले विश्वकपमा गरेको ६ गोलको बराबरीमा पुग्न फ्रेन्च खेलाडीद्वय आन्टन ग्रिजमन र केलियन एमबापेले ३–३ गोल गर्नुपर्ने छ। यी दुवै आक्रामक मिडफिल्डरले ३–३ गोल गरेका छन्।
केनको कप्तानीमा रहेको इङ्ल्यान्ड सेमिफाइनलमा क्रोएसियासँग २–१ ले पराजित भएको थियो। शनिवार बेल्जियमविरूद्ध तेस्रो स्थानका लागि भएको खेलमा पनि इङ्ल्यान्ड २–० ले पराजित भयो। केनलाई पछ्याइरहेका बेल्जियम स्ट्राइकर रोमेलु लुकाकुले ४ गोल गरेका थिए। उनी तेस्रो स्थानका लागि भएको खेलमा गोल गर्न चुकेपछि केन एक्लो प्रतिस्पर्धी जस्तै बनेका छन्।
केनले यसपालि ‘गोल्डेन बुट’ जिते आफ्ना अग्रज ग्यारी लिनेकरको समकक्षमा पुग्ने छन्। लिनेकरले सन् १९८६ को विश्वकपमा ६ गोल नै गरेर ‘गोल्डेन बुट’ जितेका थिए। उनी ‘गोल्डेन बुट’ जित्ने दोस्रो इङ्लिस खेलाडी बन्दै छन्।