टिप्पणीआइतवार, आषाढ ३१, २०७५

शहरमा बाढीको कहर

शेखर खरेल

अहिलेको डुबान प्राकृतिक प्रकोप नभएर मानवसिर्जित समस्या हो भन्नेमा कुनै शंका छैन ।

२७ असारमा आएको बाढीले डुबानमा परेको भक्तपुर । तस्वीरः बिक्रम राई

२७ असार बुधबारको रात हजारौं माइल टाढा मस्कोमा इङ्गल्याण्ड र क्रोएसिया विश्वकपको सेमिफाइनलमा दिलोज्यानले भिड्दै थिए । टेलिभिजनको पर्दामा त्यो दृश्य प्रत्यक्ष हेरिरहँदा घरबाहिर जोडतोडले परिरहेको वर्षा सिनेमाको ब्याकग्राउण्ड स्कोर झैं अनुभूति हुन्थ्यो ।

रूसमा क्रोएसियाले विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्दै इतिहास रचिसक्दा यता भने झरी रोकिएको थिएन । भोलिपल्ट अलि अबेर ओछ्यान छाड्दा राति छाडेका टेलिभिजन र मोबाइलका स्क्रिन अर्कै दृश्यले भरिएका थिए । काठमाडौं उपत्यकाको पूर्वी भेग बाढीमा डुबिसकेको थियो ।

भक्तपुर हुँदै बग्ने हनुमन्ते र काठमाडौं–भक्तपुर छुट्याउने मनहरा खोलाले कुनै निशाचरले झैं रातभर ताण्डव मच्चाएपछि मानिसहरू बिचल्लीमा परेका थिए । समाचारमा आएका तस्वीरहरू देख्दा हनुमन्ते र मनहरा आसपासका क्षेत्रहरू डुबानमा परेका तराईका बस्ती प्रतीत हुन्थे ।

अरनिको राजमार्गका केही खण्ड समेत डुबानमा परेपछि केही घण्टाका लागि यातायात ठप्प बन्न पुग्यो । घरभित्रै बाढी पसेपछि मानिसहरू सुरक्षाका लागि माथिल्ला तला र उँचो भागतिर लागेका थिए । नेपाली सेना र प्रहरीका उद्धारकर्ताहरू डुबान क्षेत्रमा दिलोज्यानले खटिएका देखिन्थे ।

भक्तपुरको चाँगुनारायणमा पहिरोबाट एकै परिवारका तीन जनाको मृत्युबाहेक हनुमन्ते र मनहराका डुबानका कारण मानवीय हताहती भएको खबर सुनिएन ।

धेरै नेपालीको मानसपटलमा कर्णाली भेगले गरीबीको बिम्ब निर्माण गरेजस्तै तराई डुबान र पहाडी क्षेत्रहरू पहिरोका प्रतीक बन्दै आएका छन् । तर, गरीब खोज्न कर्णाली लगायत दूरदराजका क्षेत्र पुग्नु आवश्यक नभए जस्तै बाढीले पनि शहरलाई आफ्नो चपेटामा नपार्ने होइन ।

फरक यत्ति मात्र हो, शहरको मनसुनी सकस गाउँको भन्दा भिन्न हुन्छ । हनुमन्ते र मनहराको डुबान पछि शहरी क्षेत्रमा आइलाग्ने बाढीको कारणहरू खोतल्न थालिएको छ ।

नाला जसरी खुम्चिएका र हिउँदमा कमिला दौडने खोलाहरू वर्षायाममा कसरी ताण्डव मच्चाउन सक्छन् भन्ने उदाहरण हनुमन्ते र मनहरा नै हुन् । अनियन्त्रित शहरीकरणका कारण प्राकृतिक स्रोतहरूको निर्मम दोहन हुँदै आएको छ र यसको सबभन्दा ठूलो मार नदीनालाहरूमा परेको छ । लाग्छ, नदीनालाहरू पनि आफूमाथि भएको अत्याचारको बदला लिन वर्षात्मा उग्र रूप धारण गर्छन् ।

एकाध वर्षअघि भू–माफियाहरूले एस्काभेटर र डोजर लगाएर एकै रातमा हनुमन्ते खोलाको धार परिवर्तन गरिदिएका थिए । त्यस कृत्यको विरोधमा आन्दोलित स्थानीयवासीले अरनिको राजमार्ग बन्द गरिदिएका थिए । समयमै जनता नजुर्मुराएको भए संभवतः हनुमन्तेको बाढी अहिलेको भन्दा पनि वितण्डाकारी हुन सक्थ्यो । भूमाफिया विरुद्ध लड्न एकजुट भएका मानिसहरू शायद हनुमन्तेको संरक्षणमा चाहिं जुट्न सकेनन् !

हनुमन्तेले आज जुन वितण्डा मच्चाएको छ, त्यसको मूल कारण उमाथिको अतिक्रमण नै हो । खोलाछेउका घरहरूले बगर मिचिदिएका कारण हनुमन्ते र मनहराको स्वाभाविक वहाव अवरुद्व हुन पुगेको छ । वर्षात्को पानी सोहोरिएर खुम्चिएको खोलामा पुग्दा निकास पाउँदैन र जम्दैजम्दै छेउका बस्तीहरूतिर फैलन्छ ।

बाढी नियमित आकस्मिकता हो । यो हिजो पनि आएकै थियो र भोलि पनि आइरहनेछ । हिजोको बाढी र आजको बाढीका प्रकृतिमा भने धेरै फरक आएको छ । हिजो नदीहरू खुम्चिएका थिएनन्, बाढीबाट मानव बस्ती कमै मात्र प्रभावित हुन्थ्यो ।

आज नदीहरूलाई ढलको आकारमा खुम्च्याइएको छ । हिजो नदीहरूका बगर हुन्थे, त्यसभन्दा पर खेतबारी र अझ् पर मात्र मानव बस्ती हुन्थे । जब पानीको बहाव बढ्थ्यो, नदीहरू बगरसम्म फैलिन्थे । बगरमा पनि नअटाउने बाढी आउँदा खेतबारीसम्म पस्न पुग्थे, मानव बस्ती सुरक्षित रहन्थे ।

आज राजधानी शहरले डुबानको कहर काट्नु पर्नाको खास कारण पानी निकासको दुरवस्था नै हो । यो त वर्षायाम नै भयो, एकाध घण्टाको बेमौसमी झ्रीले पनि शहरका सडकहरू डुबाउन थालेको छ । विकासका नाममा यत्रतत्र खनेर छाडिएका सडक, ढल, मर्मतसम्भार नगरेर खाल्डाखुल्डी परेका सडकहरूमा जब पानी जम्छ, ती दहमा रूपान्तरित हुन्छन् । खुला छाडिएका ढलहरू कतिसम्म जोखिमयुक्त छन् भनेर गत वर्ष एक स्कूले बालिका सामाखुशीको ढलमा बगेको घटनाले देखाइसकेको छ ।

हिजो शहरका उँचा सडकको बीचमा ढ्वाङ्प्वाल (अर्ध–वृत्ताकार निकासद्वार) हरू बनाइएका हुन्थे, जसले पानीलाई नजिकैको खोलासम्म सहज निकास दिन्थ्यो । आज ती सबै ‘उहिलेका कुरा खुइले’ भइसके । शहर नामको कंक्रिटको जंगलमा वर्षात्को पानी ‘रिचार्ज’ हुने ठाउँ समेत बचेको छैन ।

घर र सडकदेखि सोहोरिंदै बग्ने पानीले जबर्जस्ती खुम्च्याइएका खोला–नदीमा पुग्दा समेत निकास पाउँदैन र कहर बनेर बस्तीतिरै फर्कन्छ । सरासर मानवसिर्जित यो समस्याको निम्ति सरकारलाई मात्र दोष दिएर पुग्ने अवस्था छैन ।

भक्तपुरमा बाढीः निम्तो दिइएको विपत्ति

प्रतिकृया दिनुहोस