केलियान एमबापे (फ्रान्स)
अर्जेन्टिनाविरूद्ध प्रि–क्वाटरमा दुई गोल गरेपछि फ्रान्सका १९ वर्षीय स्ट्राइकर केलियन एमबापे किशोर अवस्थामा एउटै खेलमा दुई गोल गर्ने ब्राजिलका महान खेलाडी पेलेको सूचीलाई बराबरी गर्न पुगेका थिए।
उनी यही खेलमा ‘म्यान अफ दि म्याच’ पनि भए। एमबापे रुसमा जारी विश्वकपमा क्रोएसियाका लुका मोड्रिचसँगै ‘गोल्डेन बल’ का दोवेदार पनि हुन। उनी उत्कृष्ट युवा खेलाडीको पंक्तिमा पनि अगाडी छन्।
तीब्र गतिमा बल लैजाने उनको शैली र विपक्षी डिफेन्डरलाई सहजै काट्न सक्ने खुबीका कारण धेरै क्लबले उनलाई आँखा लगाएका थिए। तर, उनी फ्रान्सकै उत्कृष्ट क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका छन्।
इङ्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सने बेङ्गर एमबापेसँग पूर्व स्टार थियरी हेनरी जत्तिकै प्रतिभा भएको बताउँछन्। फ्रान्सका अर्का पूर्व स्टार निकोलास एनेल्का एमबापेको वर्तमान खेललाई सन् १९९६ को ओलम्पिकमा ब्राजिलका रोनाल्डोले खेलेको खेलसँग दाँज्ने गरेका छन्।
एमबापेका बुवा विल्फ्रेड फुटबल प्रशिक्षक पनि हुन्। उनी क्यामरुनबाट बसाइँ सरेर फ्रान्स आएका हुन्। आमा फायजा लामारी ह्यान्डबल खेलाडी हुन् भने उनी अल्जेरियामा जन्मिएकी थिइन्।
एमबापे १७ वर्षको उमेरदेखि नै चर्चामा आएका थिए। उनले ११ वर्षको उमेरमै इङ्लिस क्लब चेल्सीमा ट्रायल पनि दिएका थिए।