लोकमानलाई अदालतमा उपस्थित हुन म्याद तामेल
सर्वोच्च अदालतले पटक पटकको प्रयत्नपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद सूचना टाँसेको छ । सर्वोच्च अदालतका तमेलदारहरूले १ कात्तिकमा कार्कीको घर र १० नम्बर वडा कार्यालयमा सूचना टाँसेको जानकारी दिएका छन् ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले म्याद तामेल भइसकेको पुष्टि गरेका छन् । पौडेलले भने, “उक्त मुद्दाको हिजै म्याद तामेल भइसकेको छ ।”
कार्कीको घरमा पुगेका सर्वोच्च अदालतको टोलीलाई अवरोध गरेपनि तामेलदारहरूले वडा सचिवको रोहवरमा म्याद तामेल गरेर फर्केका हुन्।
अदालतले १५ दिनभित्र सवुद् प्रमाणसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ । सूचनामा भनिएको छ, “सूचना तामेल भएको १५ दिनपछि मुद्दा पेशीमा चढ्न सक्नेछ ।”
कार्कीको नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ३१ भदौ २०७३ मा निस्सा प्रदान गर्ने आदेश दिएको थियो ।
तस्वीरः विक्रम राई/हिमालखबर