लुका मोड्रिच (क्रोएसिया)
दुई महिनापछि ३३ औं जन्मदिन मनाउने तयारीमा रहेका क्रोएसियाली कप्तान लुका मोड्रिच रुसमा जारी विश्वकपको उत्कृष्ट मिडफिल्डर मानिएका छन्। उनी ‘गोल्डेन बल’ को पनि प्रमुख दावेदार हुन्। नाइजेरिया, अर्जेन्टिना र रुसविरूद्ध तीन खेलमा ‘म्यान अफ दि म्याच’ घोषित मोड्रिच फ्रान्सविरूद्ध आज हुने फाइनल खेलमा पनि क्रोएसियाली टिमको प्रमुख खेलाडी हुन।
मोड्रिचले अर्जेन्टिनालाई ३५ यार्ड टाढाबाट हानेको गोलको चर्चा अहिले पनि हुने गरेको छ। उनी आक्रामक मिडफिल्डरको भूमिकामा अगाडिबाट मात्र होइन, रक्षात्मक भएर पछाडिबाट पनि खेल्ने खुबी राख्छन्। मोड्रिचले २००६ र २०१४ को विश्वकपमा पनि भाग लिएका थिए। उनी २०१७ मा युरोपेली क्लब फुटबल अवार्डमा उत्कृष्ट मिडफिल्डर छानिएका थिए।
सन् २०१२ देखि स्पेनिस क्लब रियल म्याड्रिडमा रहेर व्यवसायिक फुटबल खेलिरहेका मोड्रिचलाई फिफाले २०१६ र २०१७ मा छानेको विश्व–११ टिममा समावेश गरेको थियो। उनी आफ्ना अग्रज डाभोर सुकरको कीर्तिमानलाई बराबरी गर्दै छैटौं पल्ट क्रोएसियाको उत्कृष्ट खेलाडी घोषित भएका थिए।
इङ्लिस क्लब टोटेनहमका पूर्व प्रशिक्षक ह्यारी रेडनेपले एक पल्ट मोड्रिचको विषयमा भनेका थिए, ‘उनी कहिल्यै गुनासो गर्दैनन्। आफूसँग बल भए पनि नभए पनि उनी मैदानमा उत्तिकै खटिरहेका हुन्छन्। उनी पास खेलेर वा एक्लै विपक्षी डिफेन्डरलाई मज्जाले काट्ने क्षमता राख्छन्। उनीमा कुनै पनि टिमलाई शीर्ष चारमा राख्ने खुबी छ।’
२०१०–११ को सिजन टोटेनहमलाई करिब ५० वर्षपछि च्याम्पियन्स लिगमा स्थान दिलाउन मोड्रिचको ठूलो भूमिका थियो। उनी अर्को सिजनदेखि रियल म्याड्रिडमा ३ करोड पाउन्डमा आवद्ध भएका थिए।