इङ्ल्यान्डलाई २–० ले हराउँदै बेल्जियम तेस्रो
काठमाडौं (एजेन्सी)– बेल्जियम विश्वकपमा तेस्रो स्थान ओगट्न सफल भएको छ। इङ्ल्यान्डविरूद्ध शनिवार सम्पन्न खेलमा कप्तान इडेन हजार्ड र थोमस मुनियरले गोल गरेपछि इङ्ल्यान्डले दूर्भाग्यपूर्ण पराजय भोग्नु पर्यो।
खेल सुरु भएको ३ मिनेट ३७ सेकेन्डमा मुनियरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। उनले नासेर चाड्लीले देब्रेतर्फबाट डिबक्समा गरेको क्रसलाई गोलमा परिणत गरेका थिए।
फ्रान्सविरूद्ध सेमिफाइनलमा १–० ले पराजित खेलमा उनी निलम्बित थिए। तेस्रो स्थानको लागि भएको खेलमा फर्किएका मुनियर विश्वकपमा सबैभन्दा छिटो गोल गर्ने बेल्जियम खेलाडी पनि बन्न पुगेका छन्।
इङ्ल्यान्डले दोस्रो हाफमा गोल फर्काउने ठूलो प्रयास गरेको थियो। एरिक डायरले तीन पल्ट राम्रो प्रयास गरेका थिए। ७० मिनेटमा बेल्जियमका गोलकिपरले डाइभ हानेको बेला बललाई हल्का टच गर्दै खुला गोल पोस्टतर्फ गएको बललाई डिफेन्डर टोबी अल्डरवेरेल्डले बाहिर पठाएपछि इङ्ल्यान्डको खेललाई बराबरीमा राख्ने सपना तुहिएको थियो।
हजार्डले ८२ मिनेटमा केभिन डि ब्रोयनको पासमा गोल गरे। उनको यो पछिल्लो २५ खेलमा १२ गोल थियो। ‘गोल्डेन बुट’ का दुई दावेदार खेलाडी बेल्जियमका रोमेलु लुकाकु र इङ्ल्याण्डका ह्यारी केन गोल गर्न असफल भए। केन ‘गोल्डेन बुट’ को नजिकै छन्। उनले ६ गोल गरेका छन्। लुकाकुको ४ गोल मात्र छ।
इङ्ल्यान्ड २८ वर्षअघि सन् १९९० मा पनि तेस्रो स्थानका लागि भएको खेलमा इटालीसँग २–१ ले पराजित भएको थियो।