ह्यारी केन (इङ्ल्यान्ड)
सन् १९८६ मा ‘गोल्डेन बुट’ प्राप्त गरेका इङ्ल्यान्डका पूर्व स्ट्राइकर ग्यारी लिनेकरपछि विश्वकपमा अर्को ‘गोल्डेन बुट’ को नजिकै छन्, ह्यारी केन। इङ्लिस कप्तान केनले रुसमा जारी विश्वकपमा ६ गोल गरिसकेका छन् र आज इङ्ल्यान्डले तेस्रो स्थानका लागि बेल्जियमसँग खेल्दैछ।
बेल्जियम स्ट्राइकर रोमेलु लुकाकु पनि ‘गोल्डेन बुट’ को दौडमा दोस्रो नम्बरमा छन्। उनले ४ गोल गरेका छन्। लुकाकुलाई केनको गोल संख्यासम्म पुग्न अझै २ गोल आवश्यक छ। त्यसैले यसपालि केनको सम्भावना बलियो मानिन्छ।
केन अग्रपंक्तिमा कुनै पनि टोलीको रणनीति भंग गर्न माहिर मानिन्छन। केनले पहिलो पल्ट विश्वकप खेलेको पानामाविरूद्ध ह्याट्रिक गोल गरेका थिए। उनले ट्युनिसियालाई पराजित गर्न पनि गोल गरेका थिए। बेल्जियमविरूद्ध विश्राम गरेका केन विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो इङ्लिस खेलाडी पनि हुन्।
बेल्जियमविरूद्ध उनी यो विश्वकपको पहिलो खेल खेल्दै छन्।