टिप्पणीशनिवार, आषाढ ३०, २०७५

‘ढुटो’ खान नपरोस्

हिमालखबर

डा. अरुणा उप्रेती

बदलिंदो जीवनशैली, ‘पत्रु खाना’, कम हिंडाइ आदिका कारण नेपालीमा कब्जियत र अन्य रोग बढेको देखिन्छ ।

केही समयका लागि अमेरिकाबाट आएकी एक ३३ वर्षीया महिला (शोभा) ले मलाई एउटा प्याकेट देखाउँदै भनिन्, “दालमा यो हालेर खाएपछि कब्जियतको नामोनिसान रहँदैन ।” ‘ह्वीट ब्रान’ लेखिएको प्याकेटमा मूल्य अंकित थियो, झण्डै किलोको रु.१३०० । ब्रानको नेपाली अर्थ ‘ढुटो’ हुन्छ । गुगलमा हेरें, हिन्दीमा ‘भुसी’, ‘चोकर’ भनिंदो रहेछ । 

शोभा भन्दै थिइन्, “नेपालमा पनि ब्रान पाइन्छ होला ! अमेरिकाबाट ल्याएको सिद्धिन लागिसक्यो । मिलमा गएर किन्नुपर्ला ।”

नेपालमा ढुटो/चोकर गाईवस्तुलाई दिइने र मान्छेका लागि भनेर नबेचिने मैले बताएँ । भनें, “अमेरिकाको खानेकुरामा प्रायः रेसादार पदार्थ नहुनाले उनीहरूले भुसी, ढुटो वा चोकरलाई औषधिको रूपमा खानुपर्छ । हामीले खाने आँटा, कोदो, फापर, दाल, हरियो तरकारीमा पर्याप्त रेसादार पदार्थ हुन्छ, त्यसैले ढुटो खानै पर्दैन ।”

‘कब्जियत ठीक हुने’ शोभाको कुराले भने मलाई सोचमग्न बनायो । बदलिंदो जीवनशैली, ‘पत्रु खाना’, कम हिंडाइ आदिका कारण नेपालीमा पनि कब्जियतको समस्या बढ्दो छ ।

यो लेखिरहँदा एक विदेशी नर्स, मेरियम क्रेच, जो पोषणविद् पनि हुन्, उनले २०३२ सालतिर लेखेको एक आलेखको सम्झ्ना भयो । बिजुलीको मिल आएपछि खलमा कुटेको रातो चामलको भात खाने चापागाउँ, ललितपुरका बासिन्दाहरूले मिलमा कुटेको सेतो चामलको भात खान थाले ।

सेतो चामलको भात खान थालेको केही समयपछि तिनको मुख र ओेठका कापमा घाउ हुन थाल्यो । उनीहरूलाई ‘भिटामिन बी’ को कमी भएको थियो । चामलमा रहेको चोकर अर्थात् ढुटो बिजुलीको मिलले निकालिदिएको थियो ।

पोषणविद् क्रेचलाई थाहा थियो, यो समस्या ढुटो हटाइएको चिल्लो सेतो चामल सिर्जित थियो । उनले ‘यसको औषधि ढुटो खानु हो’ भनेको भए कसैले वास्ता गर्दैनथ्यो होला ! तर, उनले चतुर्‍याइँपूर्वक समाधान निकालिन् । मिलमा गएर ढुटो ल्याइन् र त्यसलाई सफा गरेर साना–साना प्लाष्टिकका झेलामा हालिन् । बाहिरपट्टि औषधि लेखेर पुगिन् चापागाउँ ।

‘भातमा यो औषधि छरेर खानू’ भनेपछि गाउँलेले आफ्नै चामलबाट निकालिएको ढुटो भातमा हालेर खाए । उनीहरूको समस्या केही हप्तापछि हरायो । ‘सेतो’ चामल खानेहरूले त्यस्ता विभिन्न पौष्टिक तत्वको फाइदा लिन पाउँदैनन्, किनभने उनीहरूको खानामा भिटामिन बी र रेसादार पदार्थ हुँदैन ।

“मूख्र्याइँपूर्ण काम गर्नेलाई गाली गर्नुपर्दा हामीकहाँ ‘ढुटो खाने बुद्धि’ भनिन्छ । अमेरिकामा भने मानिसले ढुटो किनेर खान्छन्” मैले शोभालाई जिस्क्याएँ । उनले अबदेखि हरियो तरकारी खाने प्रण गरेकी छन् । खालिन्/नखालिन् उनको कुरा । तर के हामीले पनि यहाँ ढुटो किनेर खानुपर्ला ?

पर्दैन, यदि हामीले सेतो चिल्लो चामल खाएनौं, मैदा नखाएर आँटाको रोटी खायौं, चाउचाउ, कुरकुरे जस्ता जंकफूड खाएनौं, विभिन्न फलफूल धोएर बोक्रै समेत खायौं भने । सुन्तला, कागतीको बोक्रालाई पनि प्रयोग गर्न जान्यौं, हरियो तरकारी पर्याप्त खायौं, बट्टाको जुस नखाएर फलफूल नै खायौं, पौष्टिक तत्वले भरिपूर्ण खाना खायौं भने हामीलाई कब्जियतको समस्या हुँदैन ।

खाना खाने रेसादार
गहुँको ढुटो र माथि भनिएका खानेकुरामा रेसादार पदार्थ पर्याप्त हुन्छ । यस्तो खानाले पेट भरिएको महसूस हुन्छ, छिटै भोक लाग्दैन र तौल घटाउन मद्दत गर्न सक्छ । कब्जियत नभएपछि दिसा सजिलोसँग हुन्छ, हर्सा (बावासिर) हुने सम्भावना कम हुन्छ ।

आजकाल स्कूले बालबालिका र युवायुवतीलाई पनि समयमा दिसा हुँदैन । उनीहरूले बढी मात्रामा खाने ‘पत्रु खाना’ मा रेसादार पदार्थ कम हुनाले कब्जियत हुन्छ । तौल बढी भएका मानिसमा नराम्रो खालको बोसो बढी हुनसक्ने सम्भावना हुन्छ । रेसादार पदार्थ भएको खानाले यो समस्या पनि कम गराउँछ ।

कहिलेकाहीं चिन्ता, पीर, कुनै औषधिको प्रयोग, ठाउँ परिवर्तन आदि कारण पनि कब्जियत हुन सक्छ, तर यस्तो समस्याको समाधान समयसँगै हुन्छ । कतिपय अवस्थामा कब्जियतको समाधान ढुटोले मात्रै गर्न सक्दैन, त्यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

भारतमा झ्ण्डै १४ प्रतिशत मानिस कब्जियत पीडित छन् । मुम्बई र कोयम्बटुर (केरला) मा २२ प्रतिशत मानिस कब्जियत पीडित रहेको १७ जून २०१७ को टाइम्स अफ इन्डिया मा उल्लेख छ । कब्जियतको मुख्य कारण ‘पत्रु खाना’, हिंडडुल कम, पानी कम पिउनु नै भएको अध्ययनले देखाएको छ ।

कब्जियतले मानसिक रूपमा पनि चिन्तित बनाउँछ । यसका कारण पेट ढुस्स फुल्ने, वाक्वाकी लाग्ने, खान मन नलाग्ने समस्या हुन्छ, यस्तो भएपछि चिन्ता थपिने नै भयो । खानामा ख्याल नगर्ने हो भने सानो उमेरमै कब्जियत हुने, वयस्क भएपछि मधुमेह, मोटोपन, उच्च रक्तचाप हुने सम्भावना रहन्छ । ‘पत्रु खाना’ ले एकछिन मुख मीठो भए पनि जीवनभरको रोग निम्त्याउन सक्छ ।

केही दिनअघि एक परिचित महिला शारदा ज्ञवाली (६२) को रगत जाँच गर्दा नराम्रो खालको बोसो ‘ट्राईग्लेसराईड्स’ को मात्रा बढी (२९०) देखियो । ‘ट्राईग्लेसराईड्स’ कम गर्न औषधि चलाउनेबारे डाक्टरले सल्लाह दिए । शारदाले भनिन्, “मलाई दुई महीनाको समय दिनुस् । म खानपान र हिंडाइबाटै बोसो कम गर्छु ।”

त्यसपछि उनले चामलको भात कम खाएर हरियो तरकारी, मकै, गहुँ–जौको मात्रा बढाइन् । फलफूल, आलस आदिको पनि प्रयोग गर्न थालिन् । दैनिक हिंड्न थालिन् । दुई महीनापछि जाँच गराउन जाँदा उनको ‘ट्राईग्लेसराईड्स’ को मात्रा १३४ मा आएको रहेछ । शरीरको खराब बोसो खानामा भएको रेसादार पदार्थले नै घटाएको उनको पनि अनुभव रह्यो ।

प्रतिकृया दिनुहोस