ब्लगशनिवार, आषाढ ३०, २०७५

कान्तिपुरमा हलचल

कनकमणि दीक्षित

कान्तिपुर दैनिकका नयाँ सम्पादकले खुला समाज र स्वतन्त्र पत्रकारिताको पहरेदारी गर्ने नै छन् ।

कान्तिपुर प्रकाशन गृहका दुई सम्पादक सुधीर शर्मा (कान्तिपुर) र अखिलेश उपाध्याय (दी काठमाडौं पोष्ट) ले सामूहिक राजीनामा दिंदा राष्ट्रिय तवरमै हलचल ल्यायो– विशेषगरी सामाजिक सञ्जालमा ।

यो जनचासो नेपाली पत्रकारिता जगतको लागि शुभसंकेत हो । पञ्चायतकालमा को सम्पादक आयो को गयो केही मतलब हुँदैनथ्यो, तर आज पत्रकारिताले यत्रो विश्वसनीयता तथा अभिभारा बोक्न पुगेको छ कि सम्पादक फेरबदलले व्यापक चर्चा पाउँछ । पत्रकारिताको विश्वसनीयता र वजनको संकेत हो यो ।

पत्रकारिता जगत भने कान्तिपुर प्रकाशन गृहमा भएको यो हलचललाई पेश गर्न चुक्यो । विभिन्न प्रकाशन गृह र अनलाइनका सम्पादकले एक खालको ‘मर्यादा’ राखेको देखियो, जुन कुराले समाजको सूचना र समाचारको हकको कदर भएन ।

अनुसन्धानका साथ समाचार सम्प्रेषण नहुनाले थरीथरीका अड्कलबाजी अगाडि आए— जस्तै के यो करीब दुई दशकअघि दी हिमालयन टाइम्स नेपालमा जबरजस्ती छिराए जस्तो भारतीय संस्थापनको अर्को दाउ त होइन ? अथवा मलेशिया र भारतमा ‘हेड हण्ट’ गरी, ठूलो राशि तलब तोकेर ल्याइएका नयाँ प्रबन्धकलाई आम्दानी बढाउने जिम्मा दिइयो, दुई सम्पादकको सम्पादकीय स्वतन्त्रता कुण्ठित हुने गरी– भन्ने अड्कलबाजी पनि चल्यो ।

के हो वा के होइन, कसैलाई थाहा भएन हल्लाले नै सूचनालाई दौडायो ।

भारतको टाइम्स अफ इण्डिया मा काम गरेका ती नयाँ प्रबन्धकले त्यहाँकै अनुभव यता सार्न खोजे भने नेपाल र नेपाली पत्रकारिता जगत दुवैलाई हानिकारक हुनसक्छ ।

एक त नेपाली पत्रकारिता उत्तर भारतको हिन्दी र अंग्रेजी पत्रकारिता भन्दा फरक छ । यहाँ गहिरो विश्लेषण नेपालीमा लेखिन्छ, आम पाठक र बौद्धिक वर्गले पनि त्यही सामग्री पढ्दछन् । भारतमा भने बौद्धिक विश्लेषण अंग्रेजीबाजहरूका लागि छाडिन्छ र आम नागरिकलाई हिन्दी प्रकाशन गृहहरुद्वारा अतिवादी, अतिराष्ट्रवाद पस्किइन्छ ।

परिणाम, आम जनताको राजनीतिक अनभिज्ञताले जन्माएको कठोर लोकरिझ्याइँले नरेन्द्र मोदी जस्तो हिन्दूत्ववादी नेतालाई प्रधानमन्त्रीसम्म बनायो ।

हाम्रो नेपाली पत्रकारिताले भारतका अंग्रेजी पत्रकारिता जस्तै ‘लिबरल डेमोक्रेसी’ लाई मूलधारको रुपमा अपनाएको छ ।

आम नागरिकले खपत गर्ने सामग्रीमा हामी विचारको ‘स्पेक्ट्रम’ र तुलनात्मक रुपमा बढी स्वच्छन्दता पनि पाउँछौं । साथै, उताभन्दा दुई दशकयता हामी नागरिक, आफैंलाई धिक्कार्ने जमातमा परिणत भएको हुँदा नेपाली पत्रकारिताको यो विशेषता बिर्सने पनि गर्छौं ।

यो विशेष पाटोबारे समाजशास्त्रीय अध्ययन भएको छ/छैन मलाई थाहा छैन । पक्कै समावेशी, व्यावसायिक, ‘एक्स्पोजर’, आँट र औकातमा नेपालको पत्रकार जगतमा ठूला भ्वाङ छन्, तर तुलनात्मक रुपमा हेर्नुपर्ने हुन्छ जे कुरा जहिले पनि । यस सन्दर्भमा आस गरौं कि कान्तिपुर प्रकाशन गृह र विशेषगरी कान्तिपुर दैनिकले आफ्नो बाटो बिराउने छैन ।

टाइम्स अफ इण्डिया (टीओआई) का मालिक समीर जैनले आम भारतीयमा रहेको आफ्नो पत्रिका माथिको विश्वासलाई दुरुपयोग गरी पैसा उत्पादन गर्ने मेशीन बनाए । पत्रकार पंक्तिमा रुवावासी भयो । टीओआई का पानाहरूलाई सतही बनाए, गम्भीर विश्लेषणलाई अपहेलना गरे ।

हुँदाहुँदा ‘पेड न्यूज’ जस्तो अनर्थ पनि पत्रिकामा घुसाए । जर्नालिजम्लाई समीर जैनले ‘कमर्सिएलिजम्’ तर्फ मोडिदिए । यसै क्रममा टीओआई नरेन्द्र मोदी सरकारको पृष्ठपोषक बन्यो ।

समीर जैनले के कुराको पर्वाह गरेनन् भने एउटा दैनिक भनेको तयारी चाउचाउको प्याकेट बेच्ने जस्तो सिद्धान्त र दर्शनविहीन बजारको उत्पादन होइन । र, २०० वर्षअघि स्थापना भएको टीओआई जैन खानदानको मात्र सम्पत्ति होइन, बरु उतिबेलादेखिको नामुद सम्पादक, रिपोर्टर/डेस्क एडिटरको बौद्धिकता र मिहिनेतले यो यहाँसम्म आइपुगेको हो ।

टीओआई को प्रमुख प्रतिद्वन्द्वी हिन्दुस्तान टाइम्स ले पनि अन्ततोगत्वा यो बाटो नलिई धरै भएन । र पूरै भारतभरिकै पत्रकारिता आजसम्म उँभो लाग्न सकेको छैन । आखिर राष्ट्रिय दैनिकका सम्पादकले अन्य पत्रपत्रिका, टेलिभिजन, अनलाइन र रेडियोको सामग्री जानी नजानी निर्धारण गरेका हुन्छन् ।

भारतको अंग्रेजी पत्रकारिता भन्दा नेपालको नेपाली पत्रकारिता पाठक–विश्वासमा अडेको छ, जसले गर्दा विज्ञापन आर्जन हुन्छ, र स्वतन्त्र पत्रकारिता गरी जनताको हितमा निडर बोल्न सकिन्छ ।

नेपाल भारत भन्दा र नेपाली पत्रकारिता, भारतीय पत्रकारिता भन्दा नितान्त फरक भएको कारण कुनै गलतफहमीकै कारण कान्तिपुर ले यस उथलपुथलको घडीमा आफ्नो अग्रणी बौद्धिक र बजारस्थान नगुमाओस् !

जाँदाजाँदै शुक्रबार बिहानदेखि कान्तिपुर सम्पादकको रुपमा विभिन्न नामबारे चर्चा चल्यो । र, मध्याह्नसम्ममा १० वर्षपछि पुनः कान्तिपुरको सम्पादन कमान दोहोर्‍याउँदै, नारायण वाग्ले प्रधान सम्पादकमा नियुक्त भए । वाग्ले नेतृत्वको कान्तिपुरलाई शुभकामना !

प्रतिकृया दिनुहोस