समाचारबिहिबार, २८ आषाढ , २०७५
डुबानपछिको भक्तपुर
शब्द/तस्वीर: मुकेश पोखरेल

२७ असार रातीको वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको सल्लाघारी, कटुञ्जे, जगाती लगायतका स्थान डुबानमा परे । २८ असार बिहान त्यसक्षेत्रमा पुग्दा स्थानीयहरु बाढीले घरमा ल्याएको फोहर, हिलो सफा गर्न व्यस्त देखिन्थे ।
भक्तपुरको चाँगुनारायण नपा–२ निकिसेराका माधव चालिसेको परिवार बाढीले घरभित्रै पुर्याएको फोहर सफा गर्न व्यवस्त थिए भने नजिकै हनुमन्ते पुलमा रहेका पाकाहरुको समूह खोला क्षेत्रमा भएको मानवीय अतिक्रमणकै कारण बाढी आएको अनुमान लगाइरहेका थिए ।
स्थानीय शालिग्राम पाण्डेको अनुमानमा खोलामा अनियन्त्रित रुपमा जथाभावी फोहर फालिंदा पानीले निकास नपाएर वस्तीतर्फ पसेको थियो । हुन पनि निकिसेराका वस्तीमा पनि फोहरसहितका बोरा खोलाले पुर्याएको थियो ।

केही भने खोला क्षेत्रमै भएको निर्माण, बढ्दै गएको वस्तीले पानीको अन्य निकास नहुँदा पनि डुबान भएको अड्कल काटिरहेका थिए । जगातीमा भेटिए, काठमाडौं उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखामा काम गर्ने रत्नबहादुर भरेल ।
२७ असार राति केयूकेएलको पम्प हाउसमै रहेका उनी करिब १ बजे विद्युत ट्रान्सफ्रमर पड्किएको आवाजले व्यूँझ्दिा ५ फीट माथिसम्म पानी आइसकेको रहेछ । उनी भन्दै थिए, झण्डै डुबिएन, नजिकैको ग्यारेज र पसलमा सुतेका १५ जनालाई पनि उठाएँ र सँगै सुरक्षित स्थानमा पुग्यौं ।”

कटुञ्जेका वृषमान मगरको बंगुरफार्ममा रहेका ६० वटा बंगुर र पाठापाठी बाढीले बगाएछ । एकवर्ष अघि मात्र जग्गा भाडामा लिएर बंगुर पालन शुरु गरेका वृषमानलाई चौपट भएको व्यवसाय पूरानै अवस्थामा फर्काउन कसैले सहयोग गर्ला की भन्ने आशा छ ।

कटुञ्जेकै प्रेमबहादुर बस्नेतको गोठका ५ वटा गाई पनि बाढीले बगाएको छ ।

सल्लाघारी क्षेत्रको एस एस स्कूल रहेको क्षेत्रका सबै घरको भूइँ तलामा बाढी पसेको थियो । उक्त क्षेत्रमा लगाइएको तरकारी बाली पनि बाढीले सोत्तर बनाएको छ ।
