समाचारबिहिवार, आषाढ २८, २०७५

भक्तपुरमा बाढी, एकै परिवारका तीनको मृत्यु

हिमालखबर

गएरातिदेखि परेको अविरल वर्षाले आएको बाढी र पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ ।

डुबानमा परेको मध्यपुरथिमिको राधेराधे र भाटभटेनी सुपर मार्केट क्षेत्रको बस्ती । तस्वीरः रासस

वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामा रहेको भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

त्यस्तै, बाढीका कारण सूर्यविनायक नगरपालिकाको आशापुरीमा एक घर भत्किएको छ ।

हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि दक्षिण पश्चिम मध्यपुरथिमि हुँदै लोकन्थलीसम्मको भू–भाग डुबानमा परेको छ । रासस

प्रतिकृया दिनुहोस