इङ्ल्यान्डको सपना तुहियो, क्रोएसिया पहिलो पल्ट विश्वकपको फाइनलमा
काठमाडौं (एजेन्सी)– ५२ वर्षपछि फाइनल पुग्ने इङ्ल्यान्डको सपनालाई तुसारापात गर्दै क्रोएसिया पहिलो पल्ट विश्वकपको फाइनल प्रवेश गरेको छ।
सेन्टर फरवार्ड मारियो मान्डुज्किचले अतिरिक्त समयको १ सय ९ मिनेटमा गरेको गोल निर्णायक भएपछि इङ्ल्यान्ड २–१ गोलको नतिजासँगै प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो हाफको पाँच मिनेटमै अग्रता लिएको इङ्ल्यान्डले दोस्रो हाफमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिन सकेन।
क्रोएसियाले एक गोलले पछाडि परेको अवस्थालाई उल्ट्याउँदै खेललाई आफ्नो पक्षमा पार्यो। इङ्ल्यान्डले किरन ट्रिपरको फ्रिकिक गोलमार्फत पहिलो हाफमा अग्रता बनाएको थियो। क्रोएसियाली कप्तान लुका मोड्रिचले खेल सुरु भएको चार मिनेटमै डेले अलीलाई डिबक्स बाहिर लडाएपछि इङ्ल्यान्डले फ्रिकिकको अवसर पाएको थियो। जसमा २० यार्ड नजिकबाट कर्लिङ फिकिक हान्दै ट्रिपरले पहिलो हाफमै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा इङ्ल्यान्डले आफ्नो प्रदर्शनलाई निरन्तरता दिन सकेन। ६८ मिनेटमा इभान पेरिसिचले इङ्लिस डिफेन्डरको ‘वाल’ तोड्दै बराबरी गोल गरे। उनले एट्लेटिको म्याड्रिडका सिमे भार्साकोले विङबाट दिएको लामो क्रस पासमा इङ्लिस डिफेन्डर केली वाल्करलाई जिल्याउँदै गोल गरेका थिए। यसको चार मिनेटपछि नै उनले फेरि डिबक्स भित्र गोलको अवसर पाएको थिए। तर, उनले दोस्रो वार च्यापेर हानेको बल पोलमा लागेर बाहिरिएको थियो।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गएको थियो। पहिलो हाफमा दुवै टिमका खेलाडी गोल गर्न चुकेपछि खेल अतिरिक्त समयको पनि दोस्रो हाफमा पुगेको बेला मान्डुज्किचले निर्णायक गोल गरे। उनले पेरिसिकले दिएको पासमा गोल गरेका थिए।
६८ मिनेटमा गोल खाएपछि इङ्ल्यान्डको डिफेन्स लाइन छताछुल्ल भएको थियो। क्रोएसियाले विश्वकपको फाइनल खेल आइतबार १९९८ को विजेता फ्रान्सविरूद्ध खेल्ने छ। फ्रान्सले मंगलबार राती बेल्जियमलाई १–० ले पराजित गर्दै १२ वर्षपछि फाइनल पुगेको थियो।