अनुभवी क्रोएसियाली टोलीसँग युवा इङ्लिस टोलीको रोचक सेमिफाइनल भिडन्त आज
काठमाडौं (एजेन्सी)– विश्वकपको अर्को रोमाञ्चक सेमिफाइनल अन्तर्गत बुधबार राती ११ बजेर ४५ मिनेटमा सन् १९६६ को विश्व विजेता इङ्ल्यान्ड युरोपको अर्को प्रभावशाली देश क्रोएसियाविरूद्ध भिड्दै छ।
युवा खेलाडीले भरिपूर्ण इङ्ल्यान्ड ५२ वर्षपछि विश्वकप फाइनल प्रवेशको प्रतिक्षामा छ। १९६६ मा विश्वकप जितेयता इङ्ल्यान्ड फाइनल प्रवेश गर्न सकेको छैन। क्रोएसिया अहिलेसम्म विश्वकपको फाइनल पुगेको छैन। सन् १९९८ को विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको क्रोएसियाका लागि यसपालि फाइनल प्रवेश गर्ने मौका पनि हो।
क्रोएसियाली टोलीमा इङ्ल्यान्डभन्दा अनुभवी खेलाडीको संख्या ठूलो छ। क्रोएसियाका १३ खेलाडी दोस्रो पल्ट विश्वकप खेलिरहेका छन्। इङ्ल्यान्डको २३ सदस्यीय टोलीमा १८ खेलाडी पहिलो विश्वकपको अनुभव संगाल्दै छन्। हाल इङ्लिस टोलीमा समावेश ५ अनुभवी खेलाडीमध्ये रहिम स्टार्लिङ र जोर्डन हेन्डर्सनको रुपमा दुई मात्र यस्ता खेलाडी छन्, जो नियमित टोलीमा समावेश भएर खेलिरहेका छन्।
इङ्ल्यान्डले क्वाटरफाइनलमा स्विडेनलाई जित्दा खेलाडीहरूको औसत उमेर २५ वर्ष थियो। यस्तै, क्रोएसियाले रुसलाई पेनाल्टी सुटआउटबाट बाहिर निकाल्दा टोलीको औसत उमेर २९ वर्ष थियो।
त्यसैले आजको खेललाई युवाविरूद्ध अनुभवी खेलाडीको भिडन्तको रुपमा हेरिएको छ। आजको खेलमा इङ्लिस प्रशिक्षक गारेथ साउथगेटले खेलाडी परिवर्तन नगरेको खण्डमा ‘थ्री लायन्स’ टोलीमा तीन खेलाडी यस्ता उपस्थित हुने छन्, जो १९९० मा इङ्ल्यान्ड सेमिफाइनलमा पराजित हुँदा जन्मिसकेका थिए। आस्ले यङ पछिल्लो विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्ड हार्दा ४ वर्षका थिए। केली वाल्कर र हेन्डर्सन भर्खर जन्मिएका थिए।
क्रोएसियाका तीन प्रभावशाली खेलाडी कप्तान लुका मोड्रिच (३२), इभान राकिटिक (३०) र मारियो मान्डुच्किच (३२) को उमेर ३० भन्दा माथि छ। तीन वटा विश्वकपको अनुभव संगालिरहेका मोड्रिच क्रोएसियाली टिमका यस्ता खम्बा हुन्, जसलाई कुनै खेलमा पनि क्रोएसियाले विश्राम दिएको छैन।
क्रोएसियाले समूह चरणको खेलमा नाइजेरियालाई २–०, अर्जेन्टिनालाई ३–० र आइसल्यान्डलाई २–१ गोलले पराजित गर्दै नकआउट चरण प्रवेश गरेको थियो। प्रि–क्वाटरमा उसले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले र क्वाटरफाइनलमा रुसलाई पनि पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेको थियो।
इङ्ल्यान्डविरूद्धको खेल पनि पेनाल्टी सुटआउटमा टुँगिएको खण्डमा क्रोएसिया विश्वकपको तीन नकआउट चरणमा पेनाल्टी सुटआउटसम्म पुग्ने एक्लो देश बन्ने छ।
इङ्ल्यान्डले पनि समूह चरणमा ट्युनिसियालाई २–१, पानामालाई ६–१ ले पराजित गरेको थियो भने बेल्जियमसँग १–० ले पराजित भएको थियो। प्रि–क्वाटरमा ‘थ्री लायन्स’ ले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्यो। क्वाटरफाइनलमा उसले स्विडेनलाई २–० ले हराएको थियो।
इङ्ल्यान्डले अहिलेसम्म विपक्षी टोलीविरूद्ध ११ गोल गरेको छ भने ४ गोल खाएको छ। स्विडेनविरूद्ध अघिल्लो खेलमा मात्र उसले विपक्षी टोलीलाई कुनै गोल गर्न दिएन। इङ्लिस कप्तान ह्यारी केन ६ गोल गरेर उत्कृष्ट फर्ममा छन्। उनलाई अघिल्लो पंक्तिमा डेले अलीले साथ दिइरहेका छन्।
क्रोएसिया यसपालिको विश्वकपमा सबै खेल जितेर सेमिफाइनल पुगेको टिम हो। उसले विपक्षी टोलीविरूद्ध १० गोल गरेको छ भने इङ्ल्यान्ड बराबर नै ४ गोल खाएको छ।
क्रोएसिया र इङ्ल्यान्डको विश्व फुटबलमा रमाइलो प्रतिद्वन्दीता छ। सन् २००८ को युरो छनोटमा क्रोएसियाले विम्बलेमा ३–२ गोल हान्दै इङ्ल्यान्डको आशामा तुसारोपात गरेको थियो। यसको बदला स्वरुप इङ्ल्यान्डले २०१० को विश्वकप छनोटमा क्रोएसियालाई ४–१ र ५–१ ले पराजित गर्दै विश्वकप खेल्न बञ्चित गरेको थियो।
यी देशबीच कूल ७ खेल भएका छन्। जसमा इङ्ल्यान्डको अवस्था मजबुत छ। इङल्यान्डले ४ र क्रोएसियाले २ मा जित हात पारेको छ। एक खेल बराबरीमा टुँगिएको थियो।
क्रोएसियाली टोलीमा रियल म्याड्रिडबाट खेल्ने मोड्रिच र बार्सिलोनाबाट खेल्ने राकिटिकको रुपमा विश्वका दुई खतरनाक मिडफिल्डर समावेश छन्। क्रोएसियाली टिमका खेलाडी लिभरपुल, एसी मिलान, युभेन्ट्स, एथलेटिको म्याड्रिड र मोनाकोबाट पनि खेल्छन। यी सबैको विश्लेषण गर्दा क्रोएसियाली टिममा ९ च्याम्पियन्स लिग जितेका खेलाडीको जमघट छ।
इङ्ल्यान्डले लामो समयपछि इङ्लिस प्रिमियर लिग खेल्ने टिमलाई मात्र मैदानमा उतारेको छ।