उम्टीटीको हेडिङले बेल्जियमलाई डुबायो, फ्रान्स १२ वर्षपछि फाइनलमा
काठमाडौं (एजेन्सी)– बार्सिलोनाका स्टार डिफेन्डर सामुअल उम्टीटीको निर्णायक हेडिङ गोलको सहयोगले बेल्जियमलाई १–० ले पराजित गर्दै पूर्व विश्व च्याम्पियन फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनल प्रवेश गरेको छ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा टुँगिएपछि फ्रान्सले दोस्रो हाफको खेल सुरु भएको ६ मिनेट भित्रै गोल गरेको थियो। आन्टन ग्रिजमनको कर्नर किकमा उम्टीटीले ५१ मिनेटमा गोल हान्दै फ्रान्सलाई जिततर्फ डोर्याएका थिए।
डिबक्स भित्रबाट हेडिङ गरेका उम्टीटीलाई फेलानीले रोक्न नसक्दा फ्रान्सले दोस्रो हाफको सुरुमै अग्रता बनाएको थियो।
यसपछि आक्रमणको धारलाई तीब्र बनाएको बेल्जियमले ३९ मिनेटभित्र गोल फर्काउन सकेन। ६१ मिनेटमा केभिन डि ब्रुयनले डिबक्स भित्र गोल फर्काउने राम्रो मौका पाएका थिए। तर उनको फितलो प्रहार गोलमा परिणत हुन सकेन। ८२ मिनेटमा डिबक्सबाट विट्सेलले हानेको दह्रो प्रहार फ्रेन्च कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले रोकेको थिए। ८९ मिनेटमा पनि ब्रुयनको क्रसमा यसअघि ४ गोल गरेका रोमेलु लुकाकु डिबक्स भित्र हेडिङ गर्न चुकेका थिए। खेलको अन्त्यतिर फ्रेन्च सेन्टर मिडफिल्डर कोरेन्टिन टोलिसोले हानेको प्रहार बेल्जियम गोलरक्षक कोर्टुवाले जोगाएका थिए।
दुवै टिम पहिलो हाफमा २–२ गोलको सम्भावित मौका गुमाएका थिए। १९ मिनेटमा बेल्जियम कप्तान हजार्डको सशक्त प्रहार फ्रेन्च डिफेन्डर भारानबाट डिफ्लेक्ट हुँदै बाहिरिएको थियो। यस्तै, २१ मिनेटमा भिन्सेन्ट कोम्पानीले कर्नर किकमा डिबक्सभित्रबाट दोस्रो बार च्यापेर हानेको प्रहार लोरिसले डाइभ हान्दै बचाएका थिए।
फ्रान्सले पनि ३३ मिनेटमा सुनौलो मौका पाएको थियो। डिबक्स भित्रबाट केलियान एमबापेले दिएको क्रस पासलाई ओलिभर जिरुडले गोलको दिशा दिन असफल भएका थिए। ३९ मिनेटमा पनि पाभाडले दोस्रो बार च्यापेर गरेको क्रस डिबक्स भित्र बेल्जियम गोलरक्षक कोर्टुवाको खुट्टामा लागेर कर्नर भएको थियो।
पछिल्लो समय फ्रान्स सन् २००६ मा फाइनल पुगेको थियो। फ्रान्सको यो तेस्रो फाइनल प्रवेश हो। सन् १९९८ मा फ्रान्सले पहिलो पल्ट विश्वकप उपाधि जितेको थियो।