बेल्जियम र फ्रान्सले गुमाए पहिलो हाफमा दुई अवसर
काठमाडौं (एजेन्सी)– पूर्व विश्वविजेता फ्रान्स र पहिलो पल्ट फाइनल प्रवेशको तयारीमा रहेको बेल्जियमबीच विश्वकपको रोचक सेमिफाइनल भिडन्तको मध्यान्तरसम्मको खेल गोलरहित बराबरीमा रोकिएको छ।
दुवै टिमले पहिलो हाफमा २–२ गोलको सम्भावित मौका गुमाएका थिए। १९ मिनेटमा बेल्जियम कप्तान इडेन हजार्डको सशक्त प्रहार फ्रेन्च डिफेन्डरबाट डिफ्लेक्ट हुँदै बाहिरिएको थियो। यस्तै, २१ मिनेटमा भिन्सेन्ट कोम्पानीले कर्नर किकमा डिबक्सभित्रबाट दोस्रो बार च्यापेर हानेको प्रहार फ्रेन्च कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले डाइभ हान्दै बचाएका थिए।
फ्रान्सले पनि ३३ मिनेटमा सुनौलो मौका पाएको थियो। डिबक्स भित्रबाट केलियान एमबापेले दिएको क्रस पासलाई ओलिभर जिरुडले गोलको दिशा दिन असफल भएका थिए। ३९ मिनेटमा पनि बेन्जामिन पाभाडले दोस्रो बार च्यापेर गरेको क्रस डिबक्स भित्र बेल्जियम गोलरक्षक कोर्टुवाको खुट्टामा लागेर कर्नर भएको थियो।