समाचारमंगलवार, आषाढ २६, २०७५

‘सडक सुरक्षामा संस्थागत संरचनाको अभाव’

हिमालखबर

सवारी र सडकको जानकारहरुले सडक सुरक्षामा संस्थागत संरचनाको अभाव रहेको बताएका छन् ।

सडक दुर्घटना र सुरक्षाका बारेमा ललितपुरको पाटन ढोकामा आज आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले दुर्घटनाको प्रमुख कारण सिन्डिकेट र संस्थागत संरचनाको अभाव भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै सडक विभागका वरिष्ठ इन्जिनियर कमलराज पाण्डेले राज्यले बाटो बनाउने मात्रै काम गरेको बताए । उनले भने– “राज्यले बाटो बनाउने र कर उठाउने बाहेक अरु काम गरेको छैन ।” यातायात व्यवस्था विभाग र अन्य सम्बन्धित निकायले सडक सुरक्षाका बारेमा चासो नलिएको उनको भनाइ छ । राज्यले सडक निर्माणसँगै सुरक्षालाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने पाण्डेको सुझाव छ ।

पूर्व ट्राफिक प्रहरी प्रमुख विज्ञानराज शर्माले यातायात क्षेत्रमा रहेको सिन्डिकेट नै दुर्घटनाको प्रमुख कारण रहेको बताए । “सिन्डिकेटले गर्दा आम मानिसले छनोटको अवसर पाएनन् ।” उनले भने– “पुरानो र नियमित मर्मत नभएको गाडीमा यात्रा गर्ने बाध्यता हुँदा दुर्घटना बढेको छ ।” आम मानिसमा जनचेतना नहुनु र तीव्र गति पनि दुर्घटनाको कारण भएको उनको भनाइ छ ।

त्यस्तै, समाजशास्त्री सुरेश ढकालले दुर्घटना न्यूनीकरणका लागि समाज नै अग्रसर हुनुपर्ने भनाइ राखे । उनले भने– “समाजलाई अग्रसर बनाएर स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नेतृत्व लिए सडक दुर्घटना कम गर्न सकिन्छ ।” सडक सुरक्षाका बारेमा आफैं सचेत हुनुपर्ने र कम गतिमा सवारी चलाउनुपर्ने उनको भनाइ थियो ।

लेन अनुशासन पालना नगर्नु, गलत साइडबाट ओभरटेक गर्नु, सडकमा ट्राफिक चिह्नहरु नहुनु लगायतका कारणले दुर्घटना बढेको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुको भनाइ थियो ।

स्कूल तहदेखि नै सडक सुरक्षाको बारेमा पढाइनुपर्ने र जनचेतनाका कार्यक्रमलाई तीव्रता दिनुपर्ने अन्तरक्रियामा बोल्नेहरुले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस