एमालेको सहमति विना संविधान संशोधन असम्भवः मन्त्री भण्डारी
वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले नेकपा (एमाले) को सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताएका छन् । नवलपरासीको मध्यबिन्दु–२ कोल्हुवामा १ कार्तिकदेखि शुरु १२ औँ राइनो संरक्षण गोल्डकप–२०७३ को उद्घाटन कार्यक्रमका लागि आएका उनले प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो धारणा राखेका हुन ।
काँग्रेस र माओवादीबीच साझा धारणा बनाएपछि मधेसवादी दलसँग छलफल गर्ने तयारी सरकारले गरेको समेत मन्त्री भण्डारी बताए । सरकार र मधेसी दलबीच संविधान संशोधनको विषयमा सहमति भएपछि त्यसको जानकारी एमालेलाई गराउने भण्डारीले जानकारी दिए । एमालेले खोजेको औचित्य जुटाउन गृहकार्यमा सरकार लागेको पनि उनले बताए ।
“संविधान कार्यान्वयन भनेको सरकारले स्थानीय, प्रदेश र संघीय संसदको चुनाव गराउने हो हामी त्यो दायित्व पूरा गर्न लागिपरेका छौँ” मन्त्री भण्डारीले भने, “स्थानीय निर्वाचन यही संरचनाभित्र भएपनि गर्नुपर्छ ।”रासस