आन्टन ग्रिजमन (फ्रान्स)
युरोपेली फुटबल संघका प्राविधिक प्रमुख लोन लुपेस्कुले २०१६ को युरोकपमा फ्रान्सेली स्ट्राइकर ग्रिजमनलाई उत्कृष्ट खेलाडी ठहर गरेका थिए। टिमका लागि खटेर खेल्ने, प्राविधिकरुपमा दक्ष र गोल गर्ने क्षमताका कारण उनी युरोपकै खतरनाक स्ट्राइकर मानिन्छन।
ग्रिजमनले विश्वकपअन्तर्गत उरुग्वेविरूद्ध क्वाटरफाइनलमा गोल गर्नुको साथै राफायल भारानलाई गोलको अवसर पनि मिलाइदिएका थिए। अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्न पनि उनको योगदान थियो। उनले पेनाल्टिमा पहिलो गोल गरेका थिए।
समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गर्दा पनि उनले पेनाल्टिबाट एक गोल गरेका थिए। स्पेनको एट्लेटिको म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने ग्रिजमनले फ्रान्सबाट ५९ खेलमा २३ गोल गरिसकेका छन्। उनले दुई वर्षअघि युरोकपमा ६ गोल गर्दै उत्कृष्ट खेलाडी र सर्वाधिक गोल गर्ने खेलाडीको उपाधि जितेका थिए।