कला/साहित्यसोमवार, कार्तिक १, २०७३

साक्षीद्वारा: मृत्युको दस्तावेज

हिमालखबर

फोटोग्राफर एवं चलचित्रकर्मी आजादे अख्लागी

इरानमा सन् १९७९ मा भएको इस्लामिक विद्रोह र त्यसपछिका हिंसाका थुप्रै घटनालाई फोटोग्राफर एवं चलचित्रकर्मी आजादे अख्लागीले फोटोको कलात्मक प्रस्तुतीमार्फत सम्झाउने प्रयत्न गर्दै आएकी छन् । उनै अख्लागीका कला परियोजना ‘बाइ एन आइविटनेस (साक्षीद्वारा) ५–१६ कार्तिकमा ललितपुरको पाटनमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सव फोटो काठमाडौं मा प्रदर्शित हुँदैछ । यो सन्दर्भमा फोटो काठमाडौंकी अतिथि क्युरेटर तन्वी मिश्रले आख्लागीसँग कुराकानी गरेकी छन् ।

साक्षीद्वारा फोटो शृंखला इरानका लागि एक महत्वपूर्ण ऐतिहासिक दस्तावेज हो । यो फोटो परियोजनामा काम गर्ने प्रेरणा कहाँबाट आयो ?

सन् २००९ को चुनाव पछि इरानमा भएका राजनीतिक उथलपुथलको बेलामा साक्षीद्वारा फोटो शृंखला सुरु भएको हो । सन् २००९ को राजनीतिक आन्दोलनको एउटा नतिजा के पनि भयो भने दशकौँदेखि बिर्सिइएका पुराना राजनीतिक व्यक्तित्वहरू, हत्या गरिएका बुद्धिजीबिहरू र पत्रकारहरू फेरी चर्चामा आए । उनीहरू इतिहासको भग्नावशेषबाट फर्केर आए । उनीहरूको मृत्यु धेरै अगाडी भइसकेको भएपनि उनीहरूको आत्माले आन्दोलनको वार्तालापमा भाग लिए—तेहरानका सडकमा उनीहरूको उपस्थिति महसुस गर्न सकिन्थ्यो । मेरो विचारमा स्वतन्त्रताका लागि उठ्नु भनेको आफ्नो विगतको उत्पीडित इतिहासलाई मुक्ति दिलाउनु पनि हो, उनीहरूप्रति हाम्रो कृतज्ञता प्रकट गर्नु पनि हो ।

मैले इरानको समसामयिक इतिहासका महत्वपूर्ण मोडहरू पहिल्याउने कोशिश पनि गरेकी छु । फोटोहरूमा चित्रण गरिएका प्रायः हत्याहरू दुःखद मात्रै थिएनन्, बरु उनीहरूले प्रतिनिधित्व गर्ने खास संघर्षमा महत्वपूर्ण घटनाहरू पनि थिए । उनीहरूको मृत्युको क्षणमा अभिलेख राख्ने कुनै क्यामेरा उपस्थित थिएन, त्यसैले कुनै प्रकारको दृश्य–दस्तावेज छैन । भन्नुको अर्थ, हरेक प्रकरणमा दृश्यअर्थमा एक रित्तोपन महसुस हुन्छ । यो फोटो प्रोजेक्ट त्यहि रित्तोपनालाई पुर्ने कोशिश थियो, अपितु एक ऐतिहासिक विलम्बकासाथ ।

यी चित्रहरूको निर्माण एकदमै मिहिन स्तरमा गरिएको छ, एकदमै सिनेमाजस्तो देखिने, अनि छविनिर्माण पनि कुनै चलचित्रको सेट झैँ देखिने प्रकारको छ । यी चित्रहरू निर्माण गर्ने प्रक्रियाबारे केहि भन्न सक्नुहुन्छ ? यसकालागि कस्तो अध्ययन गर्नु प¥यो ? फोटोहरू कसरी बनाइए ?

इरानमा सन् १९०८ को संवैधानिक क्रान्तिदेखि सन् १०७९ को इस्लामिक क्रान्तिसम्म मैले थुप्रै बर्बर हत्या प्रकरणहरूबारे अध्ययन गरेँ । इरान र इराकबीचको आठ वर्षे युद्धलाई पनि अध्ययन गरेँ, र जम्मा १७ पात्रहरू छानेँ । मेरो मुख्य उद्देश्य जीवनका हरेक पाटोबाट मानिसहरू जम्मा गर्नु थियो, त्यसैले यी पात्रहरूमा नेशनल फ्रन्ट तथा अन्य विभिन्न राजनीतिक पार्टीका राजनीतिक अभियन्ताहरूदेखि वामपन्थी कविहरू, लेखकहरू, पत्रकारहरू, बुद्धिजीवी तथा खेलाडीहरू सामेल छन् । यिनमा कसैले सशस्त्र क्रान्तिको पक्षमा आवाज उठाएका थिए भने कसैले अहिंसावादी आन्दोलनको पक्षमा, अनि कसैले आफ्नो हतियारको रुपमा कलम उठाएका थिए ।

अध्ययनको क्रममा मैले एक्लै काम गरेँ । म पुस्तकालय तथा अभिलेखालयमा जान्थँें र सकेसम्म धेरै सूचना संकलन गर्थें । त्यसबेलाका पत्रपत्रिका, लिखित शब्द, गोप्य दस्तावेजहरू, साक्षीहरूको साविती र रेडियो रिपोर्टहरू अध्ययन गर्नुपथ्र्यो । मैले उपलब्ध सबै कागजात संकलन गरेँ र तिनीहरूलाई एकजुट बनाएर हत्याको त्यो क्षणलाई पुनर्निर्माण गरेँ । बोलिएका र लेखिएका शब्दहरू अनुसार यो फोटोहरूले उनीहरूको मृत्युको क्षणको सबैभन्दा सम्भाव्य दृश्य देखाउँछन् ।

तपाईंले आफुलाई हरेक चित्रमा राख्नुभएको छ, सँधै यौटा रातो स्कार्फ लगाएर । किन यसो गर्ने निर्णय गर्नुभयो भन्नेबारे केहि भनिदिन सक्नुहुन्छ ?

मलाई के लाग्छ भने घटनाको त्यो क्षणलाई मैले कहिल्यैपनि ठ्याक्कै दुरुस्त पुनर्निर्माण गर्न सक्दिनँ । प्रोजेक्टको पहिलो चरणमा म सकेसम्म तथ्यपरक हुने कोशिश गर्दैथिएँ । तर जति मेरो अध्ययन गहिरिँदै गयो, त्यति मलाई निश्चय हुँदै आयो कि ऐतिहासिक यथार्थता असम्भव छ ।

त्यसैले मैले बरु त्यस क्षणको सत्यता, त्यसको मर्मलाई पकड्ने कोशिश गरेँ । त्यसैले मैले हरेक तस्विरमा आफूलाई पनि राखेकी छु ता कि यो स्पष्ट होस् कि यो सम्पूर्ण चित्र मैले—एक कलाकारले—साक्षात देखे अनुरूप हो ।

तपाईंले यो प्रोजेक्टकालागि लगभग ५ वर्षसम्म अनुसन्धान गर्नुभयो । यो प्रोजेक्ट अन्तत्वगोत्वा मृत्युको बारेमा हो । यसले तपाईंमाथि कस्तो प्रभाव पा¥यो?

अत्यन्तै ‘डिप्रेसिङ’ थियो । मेरो विचारमा ती ५ वर्ष मेरो जीवनको सबैभन्दा दुःखद र उदास समय थियो । मेरो मस्तिष्क आफ्नो प्रोजेक्टका पात्रहरूले भरिएको थियो । तर प्रदर्शनी सकिएपछि मैले त्यो उदासीलाई परास्त गर्न सकेँ र तुरुन्तै नयाँ फोटो शृंखलामा काम सुरु गरेँ ।

इरानका मानिसहरूले यी चित्र हेरेर कस्तो प्रतिक्रिया दिए ? यी घटनाहरूको कुनै दृश्य–अभिलेख नभएको पृष्ठभूमिमा यी घटनाका साक्षीहरूकोलागि यिनै फोटोहरू एक दृश्य–संस्मरणको माध्यम बने । यो फोटो प्रदर्शनी इरानमा सुरु हुँदा त्यहाँ दर्शकहरूको प्रतिक्रिया कस्तो रह्यो ?

इरानका मानिसहरूले यी चित्रप्रति एकदमै उत्साहकासाथ प्रतिक्रिया दिए । ग्यालरीमा थुप्रै मानिस आए, पहिले कहिल्यै ग्यालरी नछिरेका मानिस पनि आए, तर उनीहरू किन आए भने उनीहरूले यो प्रोजेक्टकाबारे सुनेका थिए । तिनमा मेरा पात्रहरूका साथीहरू, नातेदारहरू अथवा तिनको विचारप्रति गाढा सौहार्द राख्नेहरू थिए । धेरैजसोले आँसु थाम्न सकेनन्, धेरैजसोले आएर मलाई अंकमाल गरे । एकदमै भावुकता र दुखले भरिएको प्रतिक्रिया थियो ।
इरानका अन्य शहरबाट यात्रा गरेर आफ्ना नायकहरूलाई तेहरानको ग्यालरीको भित्तामा हेर्न आउने मानिसहरू पनि थिए । आज ५ वर्ष बितिसकेपछि पनि मैले अझै पनि विश्वभरीका इरानीहरूबाट इमेल पाउँछु । उनीहरूले यी चित्रहरू प्रदर्शनीमा अथवा सामाजिक सञ्जालमा कतै देखेका हुन्छन् । मेरा धेरैजसो पात्रहरूबारे बोल्न वा किताब छाप्न प्रतिबन्धित थियो । त्यसैले उनीहरूको मृत्युकाबारेमा एक प्रकारको मौनता थियो । अब मानिसहरू मलाई सम्पर्क गर्छन् र यी फोटोहरूबारे कुरा गर्छन् । तीमध्ये केहि प्रत्यक्षदर्शीहरू छन् जो मलाई उनीहरूका आफन्तजनकाबारे नयाँ सूचना दिन चाहन्छन् ।

 

प्रतिकृया दिनुहोस