वीरगञ्जमा हुण्डी कारोबारी पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज–१२ रानीघाटका राहुल केशरीको घरमा तलाशी गर्दा रु १ करोड १५ लाख ५ हजार १५० बरामद गरेको छ ।
केशरी हुण्डी कारोबारी रहेको सूचनाका आधारमा खानतलाशी गर्दा नगदसहित हुण्डी कारोबार गरेको प्रमाणित हुने कागजात फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
त्यसलगत्तै प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकाको अधारमा केशरी सहित ७ जनालाई हिरासतमा लिएको छ ।
पक्राउ परेका केशरीलाई अवैध वित्तीय कारोवारको कसुर अन्तर्गत जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको ढकालले बताए ।
अवैध भारतीय रुपैयाँ बरामद
यसैगरी वीरगंज– १६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले प्रतिवन्धित भारतीय रुपैयाँ ८ लाख १ हजार सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यलय इनर्वाले सीमावर्ती भारतीय बजार रक्सौलबाट मोटरसाइकलमा वीरगञ्जतर्फ आउँदै गरेका बिहार, मोतिहारीका २८ वर्षीय अभिजित कुमार सर्राफले लुकाई छिपाई नेपाल ल्याउन लागेको भारु ५ सय दरका १ हजार ४ सय ३८ थान, २ हजार दरका ११ थान र २ सय दरका ३०१ थान नोट बरामद गरेको हो ।
सर्राफालाई अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक, ललितपुरमा पठाईने जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।
जीयालाल साह, वीरगञ्ज