समाचारआइतवार, आषाढ २४, २०७५

उपकुलपति कोइरालालाई क्यानडा जान रोक लगाएकोबारे सरकारको जवाफ माग

हिमालखबर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई नियनत्रणमा लिई क्यानडा जान नदिईएकोमा विरोध जनाएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा समय मागेर कांग्रेसबाट सांसद बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडमा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्‍याएको थियो । 

क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा थिए । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४ मा नेपालमा हुनेबारे छलफल गर्ने तयारी थियो ।

‘नेपालले सन् २०२४ मा सम्मेलन आयोजना गर्ने तयारीमामा जानुपर्ने महत्वपूर्ण काममा बाधा पुगेको छ’, पाण्डेले भने।

उनले यो घटनाबाट सरकारको निरंकुश चरित्र उदाङ्गो भएको दाबी गर्दै भने, "यो घटनाको घोर भत्सर्ना गर्छु र वास्तविकता के हो जवाफ दिन म सरकारलाई आग्रह गर्छु ।"

प्रतिकृया दिनुहोस