रुसविरूद्ध नाटकीय खेलमा क्रोएसिया विजयी, २० वर्षपछि सेमिफाइनलमा
काठमाडौं (एजेन्सी)– आयोजक रुसविरूद्ध नाटकिय खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै क्रोएसिया २० वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्रोएसियाले अब सेमिफाइनल इङ्ल्यान्डसँग खेल्नु पर्नेछ।
निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा टुँगिएपछि निर्णय पेनाल्टी सुटआउटबाट निस्किएको थियो। पेनाल्टी सुटआटमा शनिवार राती पनि इभान राकिटिक नायक बने। निर्धारित समयको खेलमा डिफेन्सिभ मिडफिल्डरको भूमिकामा क्रोएसियाको डिफेन्स लाइनलाई सहयोग पुर्याएका बार्सिलोनाका यी व्यवसायिक खेलाडीले पाँचौ तथा निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै १९९८ पछि आफ्नो टोलीलाई सेमिफाइनल पुर्याउन योगदान गरे।
आयोजक रुसले पेनाल्टीमा दुईवटा त्रृटी गर्यो। रुसका फेडोर स्मोलभको फितलो पहिलो पेनाल्टी नै क्रोएसियाका गोलरक्षक सुवासिचले रोकेका थिए। अर्को पेनाल्टीमा मारियो फर्नान्डेज गोल गर्न चुके। उनले अतिरिक्त समयमा २–१ ले पछाडि परेको स्थिति उल्ट्याउँदै १ सय १५ मिनेटमा रुसका लागि बराबरी गोल गरेका थिए। तर, पेनाल्टी मिस गरेपछि उनी एकै छिनमा हिरोबाट जिरो सावित भए।
क्रोएसियाबाट पनि दोस्रो पेनाल्टी हान्न आएका माटियो कोभासिचको प्रहार रुसी गोलरक्षक इगोर अकिनकिफले रोकेका थिए।
क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिचले पहिलो, लुका मोड्रिचले तेस्रो, डोमागोज भिडाले चौथो र राकिटिकले पाँचौ पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।
रुसले पहिलो र तेस्रो गोल मिस गरेको थियो भने दोस्रो गोल एलेन जाकोएभले गरेका थिए। चौथो पेनाल्टीमा सर्गेई इग्नासेभिच र पाँचौ पेनाल्टीमा डालेर खुझियायेभले गोल गरेका थिए।
रुसले खेल सुरु भएको ३१ मिनेटमै गोल गरेर सनसनी मच्चाएको थियो, जब डेनिस चेरिसेभले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहारमार्फत गोल गरे। तर, रुसले यो अग्रतालाई लामो समय टिकाउन सकेन।
क्रोएसियाले ८ मिनेटमै गोल फर्काएको थियो। क्रोएसियाका लागि आन्द्रेज क्रामारिचले ३९ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो हाफमै खेलमा फर्काएका थिए। उनले स्ट्राइकर मान्डुज्किचको पासमा डिबक्स भित्रबाट हेडिङमार्फत गोल गरेका थिए।
दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन। यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १० मिनेटमा कप्तान मोड्रिचको कर्नर किकमा डिफेन्डर भिडाले गोल गरेपछि क्रोएसियाले खेलमा २–१ को अग्रता बनाएको थियो।
तर, अतिरिक्त समयको दोस्रो हाफमा १० अन्तर्राष्ट्रिय खेल खेलिरहेका फर्नान्डेजले हेडिङमार्फत गोल गर्दै आयोजक टोलीलाई खेलमा फर्काएका थिए। उनले १ सय १५ मिनेटमा हानेको गोलका कारण खेल पेनाल्टीमा धकेलिएको थियो।
क्रोएसियाले ६३ मिनेटमा मिडफिल्डर इभान पेरेसिचलाई पद्स्थापन गर्दै इन्टर मिलानका डिफेन्सिभ मिडफिल्डर मार्सेलो ब्रोजोभिचलाई मैदान भित्र प्रवेश गराएपछि कप्तान मोड्रिचले अग्रपंक्तिमा आक्रमणको धारलाई तीब्र बनाएका थिए। क्रोएसियाका गोलरक्षक सुवासिचको प्रदर्शन सम्झनालायक थियो। उनले रुसको २ वटा खतरनाक प्रहार जोगाएका थिए।