सरकार गम्भीर नहुँदा निर्वाचन अन्योलमाः बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तोकिएको समयमा निर्वाचन गर्न सरकार गम्भीर नभएको बताएका छन् । रफत सञ्चार क्लबले १ कार्तिकमा भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधान संशोधन गरी मधेस आन्दोलनका गलत माग सम्बोधन गर्न सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने बताए ।
नेपालका लागि चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारकै कारण नहुने टिप्पणी गर्दै विजेक्छुले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नदिन भारतले समेत अदृश्य रुपमा हस्तक्षेप गरेको दाबी गरे । इतिहासमै सरकारको कूटनीतिक पक्ष कमजोर रहेको आरोप लगाउँदै बिजुक्छेले भने, “कूटनीतिक पक्षलाई सवल पार्न नसके अन्तर्राष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्छ, यसले नेपाललाई नै हानि हुन्छ ।”
बिजुक्छेले माओवादीको जनयुद्धमा भारतले गरेको सहयोगको दाहालले ऋण तिर्न थालेको पनि चर्चा गरे । उनले भने, “देशमा अहिलेको अवस्था ल्याउनकै लागि तत्कालीन जनयुद्धमा भारतले माओवादीलाई सहयोग गरेको पुुष्टि भयो, माओवादीका नेताहरुले भारतको कठपुतलीका रुपमा काम गरिरहेका छन्, भारतले आफ्नो आवश्यकता पूरा गरिसकेको छ ।”
नेपाली काँग्रेसले दाहाललाई प्रयोग गरेर विगतका आफ्ना गल्ती सुधार्न थालेको बताउँदै विजुक्छेले अब केही महिनाभित्रै नयाँ सत्ता समीकरण बन्ने दाबी गरे।रासस