क्रोएसिया बलियो, रुसलाई इतिहास कोर्ने अवसर
काठमाडौं (एजेन्सी)– क्रोएसियाले यसपालिको विश्वकपमा आफूले खेलेको कुनै खेल हारेको छैन। प्रि–क्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै २० वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेको क्रोएसिया निकै बलियो देखिएको छ। तर, उसको अगाडि आयोजक रुस छ। आज विश्वकपको चौथो क्वाटरफाइनलअन्तर्गत राती ११ बजेर ४५ मिनेटमा क्रोएसिया र रुस भिड्दै छन्।
सन् १९९८ पछि क्रोएसियाको अहिलेको टिम सन्तुलित देखिन्छ। सन् १९९० सम्म युगोस्लाभियाबाट प्रतिनिधित्व गरेको क्रोएसिया डाभोर सुकरको कप्तानीमा १९९८ को विश्वकपमा तेस्रो भएको थियो।
हाल लुका मोड्रिचको कप्तानीमा क्रोएसिया बलियो देखिन्छ। समूह चरणको खेलमा पूर्व विश्व च्याम्पियन अर्जेन्टिनालाई ३–० ले पराजित गरेपछि क्रोएसियाको खेलको निकै तारिफ भएको थियो। क्रोएसियाको मिडफिल्ड यो विश्वकपको सबैभन्दा बलियो मानिएको छ। क्रोएसियाको मिडफिल्डमा रियल म्याड्रिका मोड्रिच र माटियो कोभासिक, बार्सिलोनाका इभान राकिटिक, इन्टर मिलानका इभान पेरिसिकजस्ता हस्ति छन्। अग्रपंक्तिमा मारियो मान्डुज्किचको प्रदर्शन पनि उत्कृष्ट छ।
रुस र क्रोएसियाबीच युरो–२००८ मा एक पल्ट प्रतिस्पर्धा भएको थियो, जुन गोलरहित बराबरीमा टुँगियो। यसबाहेक २०१५ मा यी दुई टोली मैत्रिपूर्ण खेलमा उत्रिएका थिए। जसमा क्रोएसिया ३–१ ले विजयी भएको थियो।
सन् १९९८ यता विश्वकप आयोजक टिमले सेमिफाइनल यात्रा गर्दै आइरहेको छ। त्यसैले यसपालि रुसले पनि सेमिफाइनलको यात्रा गर्ने आशा धेरैले गरेका छन्। सोभियत संघको विघटनपछि रुसले अन्तर्राष्ट्रिय फुटबलमा पहिले जस्तो गति लिन सकिरहेको छैन। यही विश्वकपमा उ पहिलो पल्ट क्वाटरफाइनल पुगेको हो। रुसलाई अन्तिम ८ मा स्थान दिलाउन कप्तान गोलकिपर इगोर अकिनकिफले पूर्व विश्व च्याम्पियन स्पेनविरूद्ध प्रि–क्वाटरफाइनलमा कोके र लागो आस्पासको पेनाल्टी जोगाएका थिए। उनकै उत्कृष्ट प्रदर्शनपछि रुस ४–३ गोलले विजयी भयो।