टिप्पणीशनिवार, आषाढ २३, २०७५

कुचुक्क बौद्ध विश्वविद्यालय

वसन्त महर्जन

नेपालमा बुद्ध र बौद्ध धर्म–दर्शनका विषयमा जति कुरा उठे पनि यस सम्बन्धी सोच नै सतही रहेको ज्वलन्त प्रमाण लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना र संचालनको ढंग हो ।

झट्ट हेर्दा राज्यले राम्रै गर्न खोजेको जस्तो देखिए पनि लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनाले बुद्ध र बौद्ध धर्म–दर्शनको अध्ययन र अध्यापनलाई ओझेलमा नै पार्न खोजिएको भन्दा धेरैलाई अरुचिकर लाग्न सक्छ । तर विश्वविद्यालयको स्थापना र संचालनको अन्तर्य बुझ्दा यो बाहेक अर्को तस्वीर देखिन्न । 

नेपालमा अन्तर्राष्ट्रियस्तरको एउटा बौद्ध विश्वविद्यालय हुनुपर्ने महसूस धेरै अघि नै भएको थियो । प्रथम विश्व बौद्ध सम्मेलन (वि.सं. २०५५) मा पनि यसबारे चर्चा भयो र त्यसको घोषणापत्र मार्फत लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापना गर्नुपर्ने माग सार्वजनिक भयो । त्यही अनुसार लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको घोषणा भयो, तर दोस्रो विश्व बौद्ध सम्मेलन (२०६१) सम्ममा यस सम्बन्धमा सिन्को भाँच्ने काम समेत भएन । सम्मेलनपछि त्यही सालमा यस सम्बन्धी अध्यादेश आयो र २०६३ मा संसदबाट जारी भयो ।

अन्तर्राष्ट्रियस्तरको बौद्ध विश्वविद्यालयको माग भएकोमा राष्ट्रियस्तरको विश्वविद्यालय खोल्ने घोषणा भएपछि यस सम्बन्धी सोच, उत्साह र तयारी त शून्यमा झर्‍यो नै, यसका अभियन्ताहरू पनि फेरिए । यसरी जसोतसो संचालनमा आएको यो विश्वविद्यालयको स्तर राष्ट्रिय भनिए पनि अहिले स्थानीयस्तरको रहेको वास्तविकता छ ।

अहिले त यसलाई प्रदेश अन्तर्गत राख्ने भन्ने चर्चाले धेरैलाई निराश बनाइदिएको छ । नेपालमा अब त्रिभुवन विश्वविद्यालय (त्रिवि) र नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) मात्र राष्ट्रियस्तरको मान्यता दिने सोच हावी भएको देखिन्छ ।

अन्तर्राष्ट्रियस्तरको बौद्ध विश्वविद्यालय स्थापना र संचालनले विश्वमा राम्रो सन्देश जान्थ्यो । नेपालमा अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय चलाउने कुराले राष्ट्रिय–अन्तर्राष्ट्रिय बौद्ध समाज आर्थिक सहितका सहयोग जुटाउन उत्साहित थियो ।

बौद्ध विद्वानहरूको यस सम्बन्धी तयारी पनि त्यही अनुसारको थियो, तर स्वीकृतिका लागि विधेयक राजदरबार पुग्दा के खिचडी पाक्यो कुन्नि, ‘अन्तर्राष्ट्रियस्तरको’ भन्ने शब्दावली फालिएछ । त्यसरी स्थापना गरिएको यो विश्वविद्यालयलाई लामो समयसम्म काठमाडौंको भृकुटीमण्डपमा रहेको दुईकोठे ब्लकमा थन्क्याएर राखियो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालय एवं केन्द्रीय क्याम्पस संचालन गर्नु आफैंमा राम्रो कुरा हो । यसको विकास र विस्तार नेपालभर नै हुनुपथ्र्यो । तर सम्पूर्ण कुरा लुम्बिनी क्षेत्रमा मात्रै हुनुपर्छ भन्ने आग्रह हावी रहेको पाइन्छ । काठमाडौंमा रहेका सम्पर्क कार्यालयहरू बन्द गर्ने निर्णय भइसकेको छ भने दुई वर्षको स्नातकोत्तर तहको ‘म्युजिओलोजी एण्ड बुद्धिष्ट कलेक्सन’ र एक वर्षको पीजीडी कोर्स ‘आर्कोलोजी एण्ड बुद्धिस्ट आर्कोलोजिकल साइट’ पनि लुम्बिनीमा नै सार्नुपर्ने सोचाइले औपचारिक रूप लिएपछि लुम्बिनी क्षेत्रबाहिर सम्बन्धन प्राप्त क्याम्पसहरू मात्रै रहनेछन् ।

हाल सम्बन्धन प्राप्त क्याम्पसहरू काठमाडौं उपत्यकामा सात र दोलखाको जिरीमा एउटा छ । सम्बन्धन प्राप्त क्याम्पसहरूको विस्तार लुम्बिनीभन्दा पश्चिम र दोलखाबाट पूर्व लाग्न सकेको छैन । राष्ट्रियस्तरमा नै भए पनि फैलिनुपर्ने विश्वविद्यालय प्रदेश र स्थानीयस्तरमा खुम्चने बाटोमा छ, जुन दुखद पक्ष हो ।

बुद्धको जन्मस्थल लुम्बिनी धार्मिक तथा पर्यटन क्षेत्रका रूपमा विकास भए पनि बौद्ध शिक्षाको केन्द्र बन्नसकेको छैन । बौद्ध विश्वविद्यालयले यसलाई शैक्षिक केन्द्र बनाउने अपेक्षा राखिए पनि यो त्यति सजिलो काम होइन । धनी देशहरूका स्रोतसाधन सम्पन्न विद्यार्थीलाई बौद्ध अध्ययनका लागि लुम्बिनी आइराख्नुपर्ने बाध्यता छैन ।

लुम्बिनीमा रहेका विभिन्न देशका बौद्ध विहारहरूमा स्थायी रूपमा बस्ने भिक्षुहरू निकै कम हुन्छन् । तिनीहरूलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययनमा खासै रुचि रहेको पनि पाइन्न । अर्को कुरा, त्रिवि, नेसंवि र काठमाडौं विश्वविद्यालयमा पनि बौद्ध अध्ययनका कार्यक्रमहरू भएकाले यसमा इच्छुक विद्यार्थीले लुम्बिनी नै धाइराख्नु पर्दैन ।

त्रिविले बौद्ध अध्ययनका लागि सस्तो र सुलभ रूपमा सम्बन्धन दिने हो भने देशभर बौद्ध अध्ययनको सुविधा हुन्छ । त्यसको प्रभाव लुम्बिनी बौद्ध विश्वविद्यालयमा पर्ने नै छ । यसपटक दीक्षान्त समारोहमा सहभागी विद्यार्थीमध्ये अधिकांश लुम्बिनी क्षेत्रभन्दा बाहिरका देखिएबाट भोलिका दिनमा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीको अभाव झेल्नुपर्ने देखिन्छ । गएको १५ वैशाखमा लुम्बिनीमा सम्पन्न प्रथम दीक्षान्त समारोहमा १०८ स्नातकोत्तर र २० जना विद्यावारिधिका विद्यार्थी सहभागी थिए ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको एउटा बौद्ध विश्वविद्यालय त चाहिन्छ नै । थालनीमा जुन सोच थियो, त्यसलाई ब्युँताएर अब कुनै अर्कै नाममा बौद्ध विश्वविद्यालय स्थापना गरेर त्यो खाँचो पूरा गर्ने पहल हुनुपर्छ । भएको विश्वविद्यालयलाई नै स्थानीयस्तरबाट अन्तर्राष्ट्रियस्तरमा उठाउने विकल्प त छँदैछ ।

प्रतिकृया दिनुहोस