ब्लगशनिवार, आषाढ २३, २०७५

कीर्तिनिधिको मृत्युघण्ट

भैरव रिसाल

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले एक जमानामा ‘मृत्युघण्ट’ शीर्षकको कविता लेखेर पनि ठूलै हलचल मच्चाएका थिए ।

शान्त स्वभावका भद्रभलाद्‌मी व्यक्तित्व कीर्तिनिधि विष्ट सामान्यतः मृत्युको घण्ट बजाउने कित्तामा पर्दैनन् । तर उनको त्यो कविताले पंचायती शासन व्यवस्थामा लामै समय हलचल मच्चाइरह्यो । पत्रकार मणिराज उपाध्याय स्मृति ग्रन्थमा स्वयं विष्टले लेखेका छन– ‘मेरो उक्त भनाइलाई अर्थको अनर्थ लगाएर टिङ्ग्याएर बङ्ग्याएर त्यो सम्प्रेषण गर्नु पत्रकारको भूल हो । म सहमत छैन यस्ता कुरामा । ... त्यसलाई अनेक अर्थ लगाएर, बङ्ग्याएर पत्रकार वर्गले लेखे, तर त्यसको सार के हो भन्ने बुझेनन् ।’ यसरी भनी चोखिएका छन्, विष्ट । 

कीर्तिनिधि विष्ट । तस्वीरः मीनरत्न बज्राचार्य

कीर्तिनिधिको कविता यस्तो रहेछ–

नेपाली हौं, हिमशिखरमा बस्दछौं धक नमानी

देशको माटो भनी सकल यहाँ राख्दछौं शिर माथि ।

जस्ले गर्दा तन–मन–धनले जानी नोक्सान यस्को

होला मृत्यु पलक भरमा दास बन्दा सपुत्को ।।

कीर्तिनिधिको ‘मृत्युघण्ट’ अन्धाहरूले हात्ती छामेर त्यसको वर्णन गरेजस्तै भयो । कीर्तिनिधिको स्वभाव, आचरण, चरित्र, आनीबानीको समीक्षा गर्दा उनी अरूको विरुद्ध मृत्युको घण्ट बजाउनेमा ठहर्दैनन् पनि ।

सूर्यबहादुरको कालो टीका र अनशन
सूर्यबहादुर थापा २०२१ माघबाट २०२३ चैतसम्म मन्त्रिपरिषद्को अध्यक्ष भए । राजा महेन्द्रले संविधान संशोधन गरेर ‘जनताको नासो जनतालाई नै सुम्पने’ भने पनि प्रजातन्त्र दिएनन् । बरु, २०२३ चैत १५ देखि सूर्यबहादुरलाई मन्त्रिपरिषद्को प्रधानमन्त्री भनेर पानी माथि ओभानो हुन खोजे । सूर्यबहादुर यसपल्ट २०२५ चैतसम्म ओहोदामै रहे । २०३६ जेठमा जनमत संग्रह घोषणा पछि फेरि प्रधानमन्त्री नियुक्त भएर चार वर्ष लगातार कायम रहे ।

त्यसपछि राजा वीरेन्द्र अघाएर छोड भनेछन्, तर सूर्यबहादुरले टेरेनछन् । अनि आगो भएका राजाले २०४० असारमा राष्ट्रिय पञ्चायतमा महाभियोग लगाउन लगाएर प्रधानमन्त्री पदबाट हटाए । त्यो बेला राष्ट्रिय पञ्चायतका १४० सदस्यमध्ये १६ जना मात्र सूर्यबहादुरको पक्षमा उभिएका थिए ।

सूर्यबहादुर थापासँग राजा महेन्द्र अघाएकै थिए । वीरेन्द्र राजा भएपछि थापाले २०२९ साउन २९ गते काठमाडौंको इटुंवहालमा आमसभा गरेर प्रजातन्त्रका लागि १३ सूत्रीय माग प्रस्तुत गरे । माग चर्का थिए । त्यही साँझ सूर्यबहादुर नजरबन्द गरिए । त्यतिबेला कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए । विष्ट थोरै–थोरै समय धेरैपल्ट गरी ५/६ वर्ष प्रधानमन्त्री भए ।

चार महीनामा पनि काराबास मुक्त हुने छेकछन्द नदेखिएपछि सूर्यबहादुरले १ पुसमा जेलमै होम गरी कालो तिलक लगाए । प्रधानमन्त्री कीर्तिनिधि विष्टले बेलाबेला ‘मृत्युको घण्ट’ बजाउन थालेको पनि त्यही कालबाट हो । सूर्यबहादुरले २०२९ माघ २३ बाट अनशन थालेर २१ दिनमा आफैंले ग्लुकोज पानी खाएर अनशन तोडे । तैपनि कीर्तिनिधिले थापालाई जेलमुक्त गरेनन् ।

२०३० असारको अन्तमा सिंहदरबारमा आगलागी भयो, १ साउनमा नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भए अनि असोज १७ गते सूर्यबहादुर थापा साढे १३ महीना थुनिएर मुक्त भए । यस कारण कीर्तिनिधि विष्टको ‘मृत्युको घण्ट’ सूर्यबहादुर थापा विरुद्धको विषवमन हो भन्ने अर्थमा लिइएको थियो, त्यो बेला ।

एक–डेढ महीनायता मैले ऊ बेलाको ‘मृत्युघण्ट’ बारे केही पूर्वपञ्चसँग जिज्ञासा राख्दा ठोस जवाफ पाउन सकिनँ । पशुपतिशमशेर राणाले ‘थाहा छैन’ भने । लोकेन्द्रबहादुर चन्दले ‘व्यवस्था विरोधीहरूलाई भनेको हो क्यार ! त्यति बेला म यहाँ थिइनँ’ भने । केशरबहादुर विष्टलाई पनि हेक्का रहेनछ यो ‘मृत्युघण्ट’ को । दीर्घराज प्रसाईंले ‘इतर पक्षका पञ्चहरूलाई भनेको हो जस्तो लाग्छ’ भने । नारायणदत्त भट्टलाई सोध्दा उनी पनि अलमलिए ।

प्रतिकृया दिनुहोस