ब्लगशनिवार, आषाढ २३, २०७५

जंगबहादुरको युद्धोत्साह

ज्ञानमणि नेपाल

पहिले सल र पछि बलले सुखीम लिने इरादा पूरा गर्न नपाएका जंगबहादुरको ध्यान बेलायतबाट फर्केपछि पूरै भोटतिर मोडिएको थियो ।

सं. १८९१ मा सुखीमका राजा चुङफौद नामग्याललाई करेपेर सुरक्षा र स्वास्थ्यको दृष्टिले अत्युत्तम दोर्जेलिङ्ग क्षेत्र लिएपछि अंग्रेज अधिकारीहरू त्यहाँ आई बसोबास गर्न थाले, त्यस क्षेत्रको विकास पनि गराउन लागेका थिए ।

आफ्नो प्रदेश अंग्रेजले लगेर आफ्ना रैतीलाई नोकरी पनि दिएको कुरा सुखीमका काजीलाई मन पर्ने भएन । यसै कचकचमा अंग्रेजसँग सुखीमको सम्बन्ध बिग्रँदै गयो । काजी इलामसिंहले शर्तहरू स्वीकार नगर्दा अंग्रेजहरू पनि सुखीमसँग रिसाए । 

ल्हासाका लामा र चिनी अम्बा पनि आफ्ना विनाबुझै सुखीमको इलाका अंग्रेजलाई सुम्पेकोमा राजा चुङफौदसँग नाराज बने । ल्हासाका लामाले त्यसलाई विल्कुलै अवैध ठहर्‍याएर यसको नसिहतस्वरुप अब उप्रान्त सुखीमका राजाले पवित्र भूमि (ल्हासा) मा आठ वर्षमा एकपटक मात्र पस्न पाउने नियम बाँधेर असन्तोष जनाए ।

यसरी भोट र ब्रिटिशसँग सुखीमको सम्बन्ध बिग्रिएको अवस्थालाई जंगबहादुर राणाले नेपालका लागि अवसर बनाए । नभन्दै, श्री ५ राजेन्द्रविक्रम शाहको एक खलीतापत्र रेजिडेन्ट मार्फत कलकत्तास्थित गभर्नर जनरल कहाँ पुग्यो, जसमा निम्नलिखित प्रस्ताव थिए–

१. अघि हाम्रा बुबाज्युका पालामा मेचीदेखि टिष्टासम्मको जगा नेपालको थियो । अहिले कति कम्पनी सरकार र कति सुखीमका इलाकाभित्र रहेको छ । हाल दुवै सरकारको दोस्ती प्रीति बढेको वेला मेहेरमानगी गरी मेचीदेखि टिष्टासम्मको जगा र सुखीम समेत जस्ता तरहले हुन्छ, हाम्रो इलाका हुने गरिदिनु चाहिन्छ ।

२. दोर्जेलिङ्ग आदि पाहाडी प्रदेशमा सुखीमले कम्पनी सरकारलाई जुन जुन शर्त कबोल गरेको छ ती सबै नेपाल सरकार पनि कबोल गर्नेछ । कम्पनी सरकारबाट पाहाडमा छाउनी खडा गर्ने हातहतियार राख्ने बाटो बनाउने कुरा पनि नेपालले यथावत् मन्जुर गर्नेछ ।

३. नागजुङ्गमा कम्पनी सरकारले छाउनी खडा गर्ने शर्त राखेकोमा सुखीमले स्वीकार गरेको छैन । सो शर्त पनि नेपाल सरकार स्वीकार गर्नेछ । ४. कम्पनी सरकारले छाउनी खडा गर्दा वा त्यहाँ बस्ता अंग्रेज साहेबहरूबाट हिन्दुको धर्म नष्ट हुने जस्ता कार्य चाहिं गर्नुहुने छैन ।

५. कदाचित् लाठसाहेबबाट अर्को जमीन साटो नलिई सित्तैं दिन सकिदैन भन्ने कुरा हुन्छ भने पनि सुखीमको इलाका सह्र साह्रै आमदानी हुने अन्त आफ्नै जगा काटेर सट्टा दिन पनि नेपाल सरकार मञ्जुर गर्नेछ ।

जंगबहादुर सत्तामा आएपछि यसरी नेपालले आफ्नो देश बढाउने, बेपार फैलाउने र सुरक्षा व्यवस्था बाँध्ने उद्देश्यले कम्पनी सरकारसँग सलैले सुखीम लिने प्रस्ताव पठाएको थियो । यस्तै, भोट–चीन सरकारसँग पनि मुस्ताङसँग ताक्लाखार र भोटाङमाथि एक कोस प्रमाणको जग्गा साट्ने प्रस्ताव प्रस्तुत गरेको थियो । तर, नेपालको प्रस्तावमा न भोट–चीन न त कम्पनी सरकारले सहमति जनायो ।

त्यसवेलाको नेपालको परराष्ट्र नीतिको यो पक्ष निकै महत्वपूर्ण छ । भरसक भोटान शुद्ध, नभए टिष्टासम्मका इलाका नेपालमा मिलाउने, ती रियासतमा आफ्नो प्रभाव जमाउने नेपालको परराष्ट्र नीतिको मुख्य उद्देश्य थियो । नेपालमा मुख्तियारहरू फेरिंदा पनि परराष्ट्र नीतिको यो उद्देश्य फेरिएन । श्री ५ सरकारका तर्फबाट यी कुरा चलिरहे ।

जंगबहादुर प्राइमिनिष्टर बनेपछि यसमा अझ तीव्रता आयो । उनले सुगौली सन्धिपछिको वीर गोर्खालीको घाउमा मल्हम लाउने काम गरे । यस्तो प्रथम प्रयत्न पूर्वी सिमानामा रहेको रियासतमा हुन सम्भव थियो । अन्तको ठूलो खण्डमा त अंग्रेजसँग पनि खटपट परिनै रहेको थियो । जन र धन बलमा पनि सुखीम नै आफूभन्दा कमजोर थियो ।

कोत पर्व अघि १७ पल्टनको पजनी गर्ने अधिकार पाएका जंगबहादुर त्यसपछि कान्छी महारानी राज्यलक्ष्मीको इच्छा अनुसार राजकुमार रणेन्द्रलाई राजा बनाउन तयार भएनन्, बरु महारानीलाई नै काशी पठाइदिए । कान्छी रानीको पछि लागेर राजा राजेन्द्र पनि काशी गएपछि उनले युवराज सुरेन्द्रलाई विधिवत् राजा बनाएर गद्दीमा राखेका थिए ।

आफ्ना केही समर्थकका साथ सुगौलीमा आएर बसेका राजेन्द्रविक्रम शाहले जंगबहादुरलाई ‘मेचीबाट टिष्टावारको जगा अंग्रेजलाई भनेर सट्टैमा भए पनि मिलाएर ल्याउन सकिस् भने नेपालको अधिकार तेरो हुन्छ नत्र भने मेरै रहन्छ’ भनेका थिए ।

पूर्वतिर बढ्ने काममा दत्तचित्त जंगबहादुरले यस कार्यमा राई–लिम्बूका खेर गइरहेको सौर्य–वीर्य शक्ति उपयोग गर्न धनकुटा गौडाका तैनाथवाला कर्णेल कृष्णध्वज कुँवरका मद्दतले एक हजारजति राई–लिम्बू झ्किाउन कुम्भेदान (लेफ्टिनेन्ट) शिवदल खड्कालाई आदेश दिएका थिए ।

तर, आफ्नै किपटमा कुटोकोदाली गरी रमाएका ती जातिले गोर्खाली सैन्यमा जागिर खान त्यति मन देखाएनन् । र पनि, जंगबहादुरले यो प्रयास जारी राखेका थिए ।

नेपालमा जस्तै सुखीम, भोटाङ, भोट र चीनमा पनि पश्चिमा फिरङ्गीहरूलाई मन नपराउने कुरा स्पष्ट छ । यी देशका शासकहरू फिरङ्गीहरूलाई आफ्ना मुलुकभित्र पस्न दिन सकभर मञ्जुर गर्दैनथे । फिरङ्गीहरू भने यो हिमाली भेगमा भ्रमण गरेर आवहवा बुझ्नेमा अत्यन्त रुचि राख्थे ।

सुपर्यवेक्षक भई दोर्जेलिङ्ग बसेका डा. क्याम्पवेल र उद्भिद्शास्त्री डा. हूकर राजाको अनुमति लिएरै सं. १९०६ मा सुखीम भ्रमणमा गएका थिए । सुखीमको भित्री इलाकाभित्र पसेका ती दुई अंग्रेजलाई त्यहाँका देवानले पक्रेर थुनामा हाली निकै शारीरिक यातना पनि दिए ।

त्यो खबर चाल पाएर गभर्नर जनरलले बन्दीहरूलाई कुनै शर्त स्वीकार गराई यो वा त्यो कुनै कागत गराइयो भने कम्पनी सरकारलाई मन्जुर हुने छैन, बन्दीलाई कुनै शारीरिक यातना दिइयो भने त्यसको जवाफदेही सुखीमका महाराज हुनुपर्नेछ भन्ने पत्र पठाए ।

ब्रिटिशसँग मनमुटाउ बढेर युद्धको स्थिति पैदा भएको बेला सुखीममा चढाइ गरी नेपालको पुरानो आकाङ्क्षा पूरा गर्ने दाउमा रहेका जंगबहादुरले पनि दुई अंग्रेजलाई सुखीमले कैद गरेको चाल पाउनासाथ धनकुटा गौडाका कर्णेल कृष्णध्वज कुँवरलाई श्रीनाथ कम्पनीका पल्टन एकत्रित पारी तैनाथ बस्न आदेश पठाए ।

बारुद–कार्तोस औ कीला–काँटा, तोपका गोली–गिराफ, डोरी, अरू युद्धसामग्री ठीक पारी भनेको वेला युद्धभूमिमा उत्रन तम्तयार रहने आडर थियो । त्यस अनुसार, पल्टन इलाम छाउनीमा तम्तयार हुँदै र युद्ध सामग्री पनि भेला पारिंदै थियो । त्यतिकैमा देवान तेन्जिङ्ग नाम्गेलले अंग्रेज अधिकारीहरूलाई विना शर्त रिहाइ गरेर सुखीमलाई युद्धबाट जोगाए ।

यता जंगबहादुरको पनि बेलायत हिंड्ने वेला भइसकेको थियो । युद्ध टरेकाले उनी कलकत्तातिर लागे । बेलायतमा महारानी भिक्टोरियालाई भनेर युद्धमा गुमेका नेपालका इलाका फिर्ता ल्याउँछु भन्ने उनको उत्कण्ठा उत्कट हुँदो हो । भाइभारदार र जनताले पनि मनमा यो आशा राखेका थिए हुनन् । राजा राजेन्द्र सुखीमको जमीन फिर्ता ल्याए त्यहाँको राजा हुने आकाङ्क्षा राख्थे ।

त्यही कारण, जंगबहादुरको भाव अनुसारको लालमोहर अंग्रेज सरकारमा पठाएका थिए । जंगबहादुर भने पहिले सलैले नभए बलैले सुखीम हात पारेर राजेन्द्र राजालाई त्यहाँ थन्क्याउने र उनको कचकच मेटाउने उद्योगमा थिए ।

जंगबहादुरको समयमा भोटको आन्तरिक स्थिति पनि त्यति राम्रो थिएन । सन्धि–विग्रहमा दलाइ लामाको कुनै भूमिका थिएन । ११औं दलाइ लामा निकै कमजोर थिए । पन्चेन लामा पनि भर्खरै मरेका थिए ।

त्यसरी ल्हासामा राजा–लामा कमजोर हुँदा चार काजीमध्येका सेठ काजीको हाइदुहाई थियो । भोटका कतिपय लामाहरू नेपालको सहयोग लिएर चीनको बन्धनबाट फुत्कन चाहन्थे । चिनियाँ अम्बा र नेपाली नाइके आ–आफ्ना सरकारका तर्फबाट खटिई ल्हासा बसेका थिए ।

नेपाली नाइके नेपाली जनधनको सुरक्षा र बेपारको रेखदेखमै सीमित रहन्थे । चिनियाँ अम्बा भने सन्धि–विग्रहका मामलादेखि भोटको दैनिक प्रशासनसम्ममा दक्खल दिइरहन्थे । त्यसबाट ल्हासाका लामाहरू आजित थिए ।

यस्तो अवस्थामा भोटमा आक्रमण गर्न खोज्नुमा जङ्गबहादुरको चातुर्य प्रकट हुन्छ । इङ्गिसस्थान घुमेर आइसकेपछि सुखीमतिरको कुरा छोडेर उनको विचार पूरै भोट–चीनतिर मोडियो ।

प्रतिकृया दिनुहोस