२८ वर्षपछि सेमिफाइनल सपना बोकेको इङ्ल्यान्डलाई स्विडेनको चुनौती
काठमाडौं (एजेन्सी)– विश्वकपको अर्को रोचक खेलमा दुई युरोपेली राष्ट्र इङ्ल्यान्ड र स्विडेन शनिवार राती ७ बजेर ४५ मिनेटमा भिड्दै छन्। सन् २००६ समूह चरणमा खेलेयता इङ्ल्यान्ड र स्विडेनबीच विश्वकपमा तेस्रो भिड्न्त हो।
२००६ मा इङ्ल्यान्ड विश्वकप क्वाटरफाइनल प्रवेश गर्दा इङ्लिस टोलीमा स्विडिस प्रशिक्षक स्वाँन गोरान इरिक्सन थिए। उनकै प्रशिक्षणमा इङ्ल्यान्ड २००२ को विश्वकपमा पनि क्वाटरफाइनल प्रवेश गरेको थियो। यी दुवै विश्वकपमा इङ्ल्यान्ड र स्विडेन समूह चरणमा भिडेका थिए। तर, दुवै खेल बराबरीमा टुँगिएको थियो। २००२ को विश्वकपमा स्विडेनले जहाँ इङ्ल्यान्डलाई १–१ को बराबरीमा राखेको थियो, २००६ मा पनि दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए।
इङ्ल्यान्ड २८ वर्षपछि सेमिफाइनल प्रवेशको तयारीमा छ। सन् १९९० मा सेमिफाइनल पुगेको इङ्ल्यान्ड त्यसपछि अन्तिम चारमा प्रवेश गर्न सकेको छैन। यस्तै, स्विडेन पनि १९९४ पछि सेमिफाइनल प्रवेशको तयारीमा छ। अमेरिकामा भएको १९९४ को विश्वकपमा स्विडेन तेस्रो भएको थियो।
आजको खेलमा इङ्लिस फर्वाड जेमी भर्डी खेल्ने कुरामा आशंका छ। उनी कोलम्बियाविरूद्ध खुट्टामा चोट बोक्न बाध्य भएका थिए। आस्ले यङ कुर्कुच्चाको चोटबाट फर्किएका छन् भने केली वाल्कर पनि पूर्णरुपमा स्वस्थ्य रहेको बताइएको छ।
इङ्लिस टोलीमा ह्यारी केन उत्कृष्ट लयमा छन्। उनले यो विश्वकपमा ६ गोल गरिसकेका छन् र ‘गोल्डेन बुट’ को सबैभन्दा दावेदार मानिन्छन्। इङ्ल्यान्डले प्रि–क्वाटरफाइनलको रोमाञ्चक खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले कोलम्बियालाई पराजित गरेको थियो।
इङ्ल्यान्ड जस्तै २४ वर्षपछि विश्वकपको सेमिफाइनल प्रवेशको तयारीमा रहेको स्विडेनले प्रि–क्वाटरमा स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेको थियो। आजको खेलमा मिडफिल्डर सेबास्टियन लार्सन पुनः टिममा फर्किदै छन्। उनी अघिल्लो खेलमा निलम्बित थिए। ‘राइट–ब्याक’ मिकेल लस्टिङ दुई पहेँलो कार्डका कारण आज उपस्थित हुने छैनन। उनलाई एमिल क्राफ्थले पदस्थापन गर्ने सम्भावना बलियो छ।