३२ वर्षपछि बेल्जियम विश्वकपको सेमिफाइनलमा, नेइमारको ब्राजिल २–१ ले पराजित
काठमाडौं (एजेन्सी)– पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई २–१ गोलले पराजित गर्दै बेल्जियम ३२ वर्षपछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ। बेल्जियमको जितमा ब्राजिलका फर्नान्डिन्हो भिलेन सावित भए। उनले खेल सुरु भएको १३ मिनेटमा आत्मघाती गोल गरेपछि ब्राजिल २००२ पछि विश्वकप जित्ने अभियानबाट बाहिरिएको हो।
ब्राजिलको हारमा केभिन डि ब्रुयन हिरो सावित भए। उनले ४० मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै पहिलो हाफमै आफ्नो टिमलाई २ गोलको अग्रता दिलाएका थिए। ब्राजिलका लागि ७६ मिनेटमा रेनेटो अगुस्टोले गोल फर्काएका थिए। शुक्रबार मध्यरातीको खेलमा बेल्जियमलाई जित दिलाउन गोलकिपर कोर्टोइसले उत्कृष्ट प्रदर्शन गरे। उनले ब्राजिलको करिब आधा दर्जन गोल जोगाएका थिए। यस्तै, कप्तान इडेन हजार्डको प्रदर्शन पनि उत्कृष्ट थियो।
बेल्जियमविरूद्ध फिलिप काउटिन्हो बेअसर रहे। उनको प्रदर्शन आज प्रभावशाली रहेन।