ग्रिजमनको उत्कृष्ट प्रदर्शनमा फ्रान्स १२ वर्षपछि सेमिफाइनलमा, उरुग्वे बाहिरियो
काठमाडौं (एजेन्सी)– आन्टोन ग्रिजमनको उत्कृष्ट प्रदर्शनपछि फ्रान्स १२ वर्षको अन्तरालमा विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ।
गत विश्वकपको अन्तिम चारमा प्रवेश गरेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेविरूद्ध शुक्रबार सम्पन्न खेलमा ग्रिजमनले दोस्रो हाफमा हानेको उत्कृष्ट गोलको सहयोगले फ्रान्स सेमिफाइनल प्रवेश गरेको हो। विश्वकपमा तेस्रो पल्ट भिडेको उरुग्वेविरूद्ध फ्रान्सले २–० को जित आत्मसाथ गर्यो।
आफ्नो स्टार खेलाडी इडिन्सन काभानी बिना मैदान उत्रिएको उरुग्वेविरूद्ध पहिलो हाफको ४० मिनेटमा रियल म्याड्रिडका डिफेन्डर राफायल भारानले गोल गरेका थिए। उनले ग्रिजमनकै फ्रिकिकमा डिबक्स भित्र ‘अनमार्क’ रहेको अवस्थामा हेडिङ गोल गरे।
भारानको फ्रान्सका लागि यो तेस्रो गोल थियो र उनले तीनवटै गोल हेडिङबाट गरेका छन्। उरुग्वेले दोस्रो गोल आफ्नै गोलकिपर मुस्लेराको गल्तीका कारण खान पुग्यो। ग्रिजमनले डिबक्स बाहिरबाट हानेको कडा प्रहारलाई राम्रो ‘जज’ गर्न नसक्दा उरुग्वेले दोस्रो गोल खायो। ६१ मिनेटमा ग्रिजमनको प्रहार मुस्लेराको ग्लोब्समा ‘फ्लिक’ हुँदै गोलमा परिणत भएको थियो।