समाचारशुक्रवार, आषाढ २२, २०७५

निषेधाज्ञा जारी गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

हिमालखबर

सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज यही असार २९ गतेसम्मका लागि अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा उक्त दिन दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । अदालतले सो स्थानमा निषेधाज्ञा जारी गर्नुपर्ने कारण लिखित पेश गर्न समेत भनेको छ । 

सरकारले केही स्थानमा निषेधाज्ञा जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गरेका थिए ।

सरकारको निर्देशन अनुसार काठमाडौँ जिल्ला सुरक्षा समितिले ३० चैत २०७४ देखि सभा, जुलुस वा प्रर्दशन गर्नका लागि काठमाडौंमा खुला मञ्च, तीनकुने खुला चौर, कोटेश्वर, भुइँखेल चौर, भगवान् पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला चौर र गौशालास्थित सिफल चौरलाई तोकेको थियो । 

प्रतिकृया दिनुहोस