काभानी फ्रान्सविरूद्ध खेल्नेमा आशंका
रुस (एजेन्सी)– उरुग्वेका स्टार स्ट्राइकर एडिन्सन काभानी फ्रान्सविरूद्ध शुक्रबारदेखि सुरु क्वाटरफाइनल खेलमा अनुपस्थित हुन सक्ने बताइएको छ।
पोर्चुगलविरूद्ध प्रि–क्वाटरफाइनलमा उनको खुट्टाको नसा तन्किएपछि बीचैमा खेल परित्याग गरेर बाहिरिएका थिए। खेल च्यानल इएसपिएनका डिएगो मुनोजलाई टिम श्रोतले दिएको जानकारी अनुसार उनी खेल्ने सम्भावना शंकाको घेरामा छ।
काभानी विगत तीन दिनदेखि अभ्यास सत्रमा उपस्थित नभएको बुधबार इएसपिएनले जनाएको छ। उनी देब्रे खुट्टाको उपचार गराइरहेका छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार काभानीले पोर्चुगललाई २–१ ले पराजित गरेको खेलमा दुवै निर्णायक गोल गरेका थिए। उनलाई ७४ मिनेटमा चोट बल्झिएको थियो।
काभानीको स्थानमा क्रिस्टियन स्टुआनीलाई पद्स्थापन गर्न सक्ने श्रोतले बताएको छ। प्रशिक्षक ओस्कार टाबारेजले काभानीको स्थानमा क्रिस्टियन रोड्रिगेजलाई पनि पद्स्थापन गर्न सक्ने छन्। काभानीको अनुपस्थितिमा एक्लो स्ट्राइकरको रुपमा लुइस सुआरेजलाई उतार्ने सम्भावना पनि बलियो छ।
उरुग्वे फुटबल संघले सोमबार काभानीको खुट्टा सुनिएपनि मासु नच्यात्तिएको बताएको थियो। त्यसैले शुक्रबार हुने खेलमा उनी फर्कन सक्ने आशा गरिएको थियो।
उरुग्वेले यस विश्वकपको सवै खेल जितेको छ। ३१ वर्षीय काभानीले तीन गोल गरिसकेका छन् र उनी टिमका प्रमुख खेलाडी हुन।