बेल्जियमको ‘गोल्डेन’ पिढीलाई ब्राजिलको दबाब
काठमाडौं (एजेन्सी)– जापानविरूद्ध ६९ मिनेटसम्म २–० ले पछाडि परेको नतिजा उल्टयाउँदै बेल्जियम अन्ततः ३–२ गोलले विजयी भयो। यो जितसँगै क्वाटरफाइनल प्रवेश गरेर उत्साही बनेको बेल्जियम शुक्रबार मध्यराती विश्वकपको दावेदार ब्राजिलविरूद्ध मैदानमा उत्रिँदै छ।
बेल्जियको हालको टोली ‘गोल्डेन जेनेरेशन’ भएको दावी धेरैले गर्दै आइरहेका छन्। तर, त्यो परिक्षण भने शुक्रबार नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटदेखि सुरु हुने खेलको नतिजापछि हुनेछ।
विश्वकपमा समावेश हुने सवै टोली पाँच पल्टको विजेता ब्राजिलसँग एक पल्ट भएपनि प्रतिस्पर्धा गरेको अनुभव बटुल्न चाहन्छन। यस अर्थमा बेल्जियमका लागि यो सुनौलो अवसर पनि हो। तर, क्वाटरफाइनलमा भिड्नु पर्दाको अफ्ठयारा आफ्नै ठाउँमा छदैँछ। किनभने नकआउट चरणमा पराजयको अर्थ हुन्छ, प्रतियोगिताबाट बाहिरिनु।
ब्राजिल हाल विश्व वरियतामा दोस्रो नम्बरमा छ भने बेल्जियम तेस्रो। बेल्जियमको यही टोलीलाई दुई वर्षअघि युरोकपमा पनि दावेदार मानिन्थ्यो। तर, वेल्सविरूद्ध क्वाटरफाइनलमा पराजित भएर बाहिरिएको थियो।
गत विश्वकपमा पनि बेल्जियम क्वाटरफाइनलमा दक्षिण अमेरिकाको अर्को शक्ति राष्ट्र अर्जेन्टिनासँग पराजय भोगेर बाहिरिएको थियो। हाल बेल्जियम टोलीमा इङ्लिस प्रिमियर लिग खेल्ने खेलाडीको घँुइचो छ।
जापानलाई दबाबपूर्ण खेलमा पराजित गर्दा बेल्जियम टोलीका ११ खेलाडी प्रिमियर लिगमा सहभागी भइसकेका उत्रिएका थिए। जसमा ३२ वर्षीय भिन्सेन्ट कोम्पानी र ३१ वर्षीय दुई स्टार ड्रिस मार्टेस र यान भर्टोङ्घम थिए।
डिफेन्डर कोम्पानी, गोलकिपर थाइबुट कुर्टोइस, मिडफिल्डर केभिन डि बु्रयन र फवार्ड इडेन हजार्ड संलग्न टिमले ८ पल्ट प्रिमियर लिगको उपाधि जितिसकेको छ।
प्रशिक्षक रोबर्टो मार्टिनेसले इङ्लिस क्लब इभर्टनलाई प्रशिक्षण गरिसकेका छन्। उनको आगमनसँगै बेल्जियम तीन स्ट्राइकर बोकेर ३–४–३ को आक्रामक शैलीमा फुटबल खेल्न थालेको थियो।
शुक्रबार ब्राजिलविरूद्ध पनि उनको टिम फर्मेसन यही हुने पक्का छ। जापानविरूद्ध डिफेन्समा देखिएको कमजोरी दाहर्याउने पक्षमा मार्टिनेस पक्कै हुने छैनन्। डिफेन्सको खुकुलो प्रस्तुतिका कारण बेल्जियमले दोस्रो हाफको ५८ मिनेट भित्रै जापानविरूद्ध दुई गोल खाएको थियो।
ब्राजिली टिममा नेइमार र फिलिप कोउटिन्होको रुपमा अग्रपंक्तिमा दुई खतरनाक खेलाडी भएका कारण बेल्जियम जापानविरूद्धको गल्ती दोहर्याउने पक्षमा छैन। किनभने ब्राजिलसँग पछाडि परिसकेको अवस्थामा खेलमा फर्किनु भनेको लगभग असम्भव मानिन्छ।