समाचारबिहिवार, आषाढ २१, २०७५

देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज, प्रदेश प्रमुख पनि हटाइए

हिमालखबर

बुधबार, २० असारमा बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १४ भदौ २०७४ पछि ओली सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद् र बोर्डमा गरिएका सबै राजनीतिक नियुक्ति खारेज गरेको हो ।

“प्रतिनिधिसभा र प्रदेश सभा चुनावको आचारसंहिता लागू भएदेखि निर्वाचित सरकार गठन हुँदासम्मका सबै राजनीतिक नियुक्ति फिर्ता लिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रदेश प्रमुखहरूको नियुक्ति पनि राजनीतिक भएकाले सातै प्रदेशका प्रमुखको नियुक्त पनि खारेज गरिएको उनले बताए ।

देउवा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–१ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ल नियुक्त गरेकी थिइन् ।

प्रदेश प्रमुख हटाउने मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि उनीहरू पदमुक्त हुनेछन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार ३ फागुन २०७४ मा गठन भएको थियो ।

 

प्रतिकृया दिनुहोस