समाचारबुधवार, आषाढ २०, २०७५

चुरे जोगाउन सिकाउने गाउँ

हिमालखबर

तोया गौतम

जीविकोपार्जनसँग जोड्न सके वातावरण संरक्षणको काम साँच्चिकै सफल हुन्छ भन्ने उदाहरण बनेका छन्– महोत्तरीको बाहुनमारा र धनुषाको राजावास ।

राजवासमा संरक्षित वन क्षेत्र ।

करीब ४० डिग्री सेल्सियसको हपहपी गर्मीमा पनि ‘जलवायु मैत्री गाउँ’ ? यही जिज्ञासाले हामीलाई महोत्तरीको बर्दिवासबाट झण्डै १९ किलोमीटर पश्चिम रातु नदीको बगरमा पुर्‍यायो । नदी वारि बर्दिवास नगरपालिका–३ बाहुनमारा पर्छ भने पारि पूर्वपट्टि धनुषाको मिथिला नगरपालिका–११ को राजावास । 

करीब ६० जनाको हाम्रो टोलीमा प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्मा, प्रदेश सभाका सदस्य, स्थानीय सरकारका प्रतिनिधि, जलवायु विज्ञ र गैरसरकारी संस्थाका सदस्यहरू पनि थिए । यो एक भिन्न सेमिनार थियो, हिंड्दै–डुल्दै गरिने ‘भ्रमण–सेमिनार’ ।

जेठको मध्याह्न । गाडीबाट ओर्लनासाथ पसिनाका धारा छुट्न थाले । बाहुनमारा र राजावासका गाउँले संसारकै ‘कान्छो पहाड’ भनेर चिनिने चुरेलाई जोगाउँदै गाउँलाई ‘जलवायु मैत्री’ बनाउने अभियानमा जुटेका रहेछन् । उनीहरूको यो सक्रियतालाई जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), बर्दिवासको ‘सामुदायिक विकास तथा पैरवी मञ्च’ लगायतका संस्थाले सघाइरहेका रहेछन् ।

पानी तान्नको लागि जोडिएको सोलार ।

रातुको बगरमा पानीको थोपै थिएन । तर, पैरवी मञ्चका नागदेव यादव भन्दैथिए, ‘बगरभित्र पानी बहिरहेको छ ।” उनका अनुसार, बगरभित्रको पानीको केही भाग संकलन गरेर भूमिगत कुलो बनाइएको छ, गेग्य्रान नछिरोस् भनेर स्ल्याबले ढाकिएको छ । भूमिगत कुलोले नै खेतमा सिंचाइ दिन्छ । गाउँमा यस्ता तीन वटा कुलो रहेछन् ।

रातुको भूमिगत कुलो हेरेर अघि बढेपछि पाक्न लागेको चैते धान र रोप्नका लागि ठिक्क ब्याड सँगसँगै देखिए । स्थानीय देविका भुजेलले कुलो बनेपछिको उत्पादनले नौ जनाको परिवारलाई सजिलैसँग खान पुगेको बताइन् ।

अलिकति उकालो चढेपछि हामी एउटा ठूलो टारमा पुग्यौं । टारमा सिंचाइका लागि झण्डै डेढ किलोमिटर टाढाको पानीको मुहानबाट प्रतिदिन दुई लाख १३ हजार लीटर पानी आउने गरी पाइप बिछ्याएर नजिकै पोखरी बनाइएको रहेछ । सौर्य प्रणालीको सहायताले प्रतिदिन एक लाख लीटरभन्दा बढी पानी तानेर टारबारीमा सिंचाइ गरिंदो रहेछ । टारमा जताततै हरिया मकैका बोट र तरकारी देखिन्थ्यो । 

राजवासका सूर्यबहादुर कार्कीको माछापोखरी ।

मकैबारीभित्र अन्तरबालीका रूपमा बोडी, करेला, लौका, फर्सी जस्ता तरकारी लगाइएको थियो । स्थानीय सूर्यबहादुर कार्कीले त सानो पोखरी बनाएर माछा पनि पाल्न थालेछन् । भ्रमण टोलीका सदस्यहरूले निकै चाखका साथ गाउँलेको कृषि कर्म नियाले । स्थानीय महिलाले पानी आएपछि ‘पानीको दुःख हटेको र समय पनि बचेको’ बताए ।

राजावासका किसानले कृषि प्रणालीमा रासायनिक मलको साटो गोबर तथा कम्पोस्ट मल र बालीमा रोगकीरा लागेमा गहुँत र खरानी जस्ता पदार्थले उपचार गर्दा रहेछन् । सूर्यबहादुरको अनुभवमा पहिले प्रतिकट्ठा दुई–तीन हजार रुपैयाँ बराबरको कोदो पनि नफल्ने ठाउँमा सिंचाइ सुविधाले कम्तीमा ५० हजार रुपैयाँको तरकारी उत्पादन भइरहेको छ ।

त्यही भएरै, राजावासका सबै ५६ घरधुरीले तरकारी खेती गर्न थालेका छन् । तरकारीका चिचिलामा बसेर फल कुहाउने झिंगा नियन्त्रणका लागि चाहिं ‘फेरोमिन ट्रयाप’ झुण्ड्याउनुको विकल्प नभेटेको उनीहरूले बताए । “गाउँमा वातावरणलाई क्षति गर्ने र जलवायु मैत्री नहुने सबै प्रविधिलाई निरुत्साहित गरिरहेका छौं” स्थानीय दुर्गाबहादुर भुजेल (६७) भन्छन् ।

राजावास, सिरान टोलका गाउँले हप्तैपिच्छे गाउँ–टोलको सरसफाइ गर्छन् । प्लास्टिक झाेलाको सट्टा अन्य किसिमका हाते झाेला बोक्न सुझाउँछन् । संकलित प्लास्टिक खाल्डोमा जम्मा गर्छन् ।

राजावासको यो अभियान छिमेकी बाहुनमारा गाउँमा पनि शुरू भइसकेको छ । बाहुनमाराका प्रेमबहादुर कार्की चुरे क्षेत्रको संरक्षण गर्नुपर्छ भन्नेमा अब गाउँलेलाई सम्झाइरहनु नपर्ने बताउँछन् ।

संरक्षणकै लागि चुरे क्षेत्रको वनबाट जिल्ला वन कार्यालयको अनुमति बेगर कुनै पनि काठपात ननिकालिने नियम बनाइएको र गाईबस्तुको चरिचरन समेत बन्द गरिएको उनी बताउँछन् । यसबाट बाहुनमारा र राजावास गाउँ वरपर वन–जङ्गल हुर्कंदै गएको देखिन्छ । 

‘ली–बर्ड’ का कार्यकारी निर्देशक डा. बलराम थापा स्वयं प्राकृतिक स्रोत विज्ञ हुन् । उनी र सहकर्मी डा. विकास पौडेल सहितको टोलीले अहिले देशका विभिन्न ठाउँमा जलवायु मैत्री गाउँ निर्माणमा सघाइरहेको छ ।

यी दुई र अर्का प्राकृतिक स्रोत विज्ञ डा. वाई.बी. मल्ल राजावास क्षेत्रको यो प्रयत्नलाई अन्यत्र पनि विस्तार गर्नु जरूरी ठान्छन् । डा. मल्लको भनाइमा ‘जलवायुमैत्री गाउँ’ विस्तारका लागि स्थानीय सरकारले नीति नै बनाउनुपर्छ, प्रदेश तथा सङ्घीय सरकारले आवश्यक सहयोग गर्नुपर्छ ।

भ्रमण–सेमिनारमा सहभागी महोत्तरीकी प्रतिनिधिसभा सदस्य इन्दुकुमारी शर्मा चुरे संरक्षणमा स्थानीयवासी पहरेदार बनेर काम गरिरहेको देख्दा खुशी लागेको बताउँछिन् । “चुरे र तल्लो तटीय क्षेत्रमा समेत यस्ता कार्यक्रम गरिनुपर्छ”, उनी भन्छिन् । महोत्तरी–१ की प्रदेश सभा सदस्य शारदादेवी थापाले त ‘चुरे जोगाऊँ र मधेश बचाऊँ’ भन्ने नीति बनाउने हो भने बाहुनमारा र राजावासको भ्रमण नगरी नहुने बताइन् ।

प्रतिकृया दिनुहोस