अन्तर्वार्ता/विचारबुधवार, आषाढ २०, २०७५

‘योजनामा साथ दिनुहोस्’

हिमालखबर

बमबहादुर तामाङ
वडाध्यक्ष, उत्तरगया गाउँपालिका–१, रसुवा

गुगलबाट लिइएको उत्तरगया गाउँपालिका कार्यालयको तस्वीर ।

साविक हाकु गाविस–९, गोगने (दङ्ग) गाउँको म अहिले उत्तरगया गाउँपालिका–१ को बासिन्दा र वडाध्यक्ष पनि भएको छु । २०७२ सालको महाभूकम्पले दङ्ग, तिरु र सिरुचेमा धनजनको ठूलो क्षति पुर्‍यायो ।

बाँचेकाहरू गाउँबाट विस्थापित भएर कोही नुवाकोटको पिपलटार त कोही रसुवाकै उत्तरगया गाउँपालिकाको खाल्टेमा अस्थायी क्याम्प बनाएर बस्दै आएका छौं । गर्मीयाममा जस्तापाताको टहराको बसोबास निकै सकसपूर्ण हुने गरेको छ । मेरै अगुवाइमा तिरु, सिरुचे र दङ्गका विस्थापितहरूका लागि पिपलटारमा ६ रोपनी जग्गा खरीद गरेर बनाएको क्याम्पमा ८८ वटा टहरा छन्, ६०० जना जति बस्छन् ।

रसुवा जिल्लामा हाम्रो क्षेत्र निकै विकट छ । म अहिले ३४ वर्ष पुगें । घरको काम, गोठालो जीवन, वैदेशिक रोजगार, कृषि सबैमा अनुभव छ । जुनै काममा पनि शिक्षाको अभाव खट्किन्छ । एक त आर्थिक विपन्नता, त्यसमाथि गाउँमा राम्रो विद्यालय र मन लगाएर पढाउने शिक्षक पनि नहुँदा हाम्रो पुस्ताले पढ्न पाएन ।

भूकम्प पछि निकै दुःख पाइयो । धनजनको नोक्सान त भयो नै बस्ने ठाउँ पनि पाइएन । सुरक्षित बास खोज्दै पहिला कालिकास्थान र त्यसपछि पिपलटारमा आइपुग्यौं । एसीएफ भन्ने अन्तर्राष्ट्रिय संस्थाले रु.२१ लाख जति सहयोग गर्‍यो । बाँकी आफैं उठाएर टहरा बनायौं ।

यो ठाउँ बाढीपहिरोबाट सुरक्षित छ, तर बस्नलाई कसैको मन अडिएको छैन । सबै गाउँ फर्किने भन्छन् । आफ्नो गाउँ बिर्सन नसकिने रहेछ । तीन वर्ष बितिसक्यो, कसैले गर्मी पचाउन सकेका छैनन् । गाउँमा दाउरामा पकाएर खाएको स्वाद ग्याँसमा पकाएको खानामा छैन भन्छन् ।

यहाँ दिनहुँ तरकारी किन्नुपर्छ । त्यसमा स्वाद र तागत दुवै छैन भन्छन् । गाउँमा अन्न, तरकारी किन्नु पर्दैनथ्यो । यहाँ बालबच्चा पढाउन त सजिलो छ तर दैनिक ज्यालादारीमा काम नपाएर जीवन धान्न मुश्किल छ ।

यहाँ हाम्रो केही छैन, जे छ सबै गाउँमै छ, उतै जाने हो भन्ने छ । गाउँमा घाँसदाउरा गरेको याद आउँछ । नाचगान र संस्कृति सम्झ्इिन्छ । यता हामीलाई कसैले चिन्दैन । आफ्नो थातथलोसँग हामी आदिवासी जनजातिको गहिरो माया बसेको हुन्छ । मौसम अनुसारको जीवनशैली हुन्छ । हिमाली हावामा बानी परेका हाम्रा पुर्खाहरूले हिमालको काखमै बस्ती बसाले ।

गर्मी मन पराएको भए पुर्खाहरू नै वेत्रावती, तुप्चे, सिमुटार, बटारका फाँटहरूमा झरिसकेका हुन्थे । यहाँ क्याम्पमा बसेकाहरू आफ्नो गाउँकै नेदाशिब्ता (देवीदेवता) पुज्ने, जन्मेको ठाउँ र पुर्खालाई जलाएको डाँडोमै दाहसंस्कार होस् भन्छन् ।

यसकारण सबैको चाहना अनुसार तिरु र सिरुचेमा एकीकृत बस्ती बनाउने योजना अगाडि बढाएका छौं । तिरुमा करीब २०० परिवार र सिरुचेमा १०० देखि १५० परिवारलाई पुनस्र्थापना गर्ने उद्देश्य छ ।

त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ । सरकारले लच्याङ र कोकिल भन्ने ठाउँमा पुनस्र्थापना गर्ने भनेको थियो, तर विस्थापितहरू मानेनन् । मलाई पनि मन परेन । र, सबैसँग छलफल गरेर गाउँ फर्किने योजना बनाएको हो ।

अब तिरु र सिरुचेमा विद्यालय, स्वास्थ्य चौकी, गुम्बा, खानेपानी, बत्ती, सडक आदिको सुविधा भएको एकीकृत नमूना बस्ती बनाउँछौं । भोलि गएर जैविक विविधता संरक्षण र सांस्कृतिक पर्यटनको विकास पनि गर्छौं ।

यसका लागि वडा कार्यालयबाट रु.१५ लाख बजेट छुट्याउने व्यवस्था मिलाएका छौं । संसद विकास कोषबाट रु.१ करोड ८० लाख आउने भएको छ । यो योजना हामी विस्थापितहरूको साझ सपना हो । यो सपनाले उत्साह ल्याएको छ । यसका लागि सहयोग गर्न सबैमा अनुरोध छ ।

प्रस्तुति: फुर्पा तामाङ

प्रतिकृया दिनुहोस