महाकाली यातायातका पदाधिकारी प्रहरी नियन्त्रणमा
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि ३० असोजमा तोडफोड भएको थियो । महाकाली समितिका नेतृत्वले तोडफोड गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेललाई नियन्त्रणमा लिएको हो ।
सिडिन्केट रहेको यस क्षेत्रमा शुक्लाफाँटा प्रालिले समिति दर्ता गरी बस सञ्चालनमा ल्याएपछि बस समितिबीच विवाद बढेको छ । महाकाली सेती यातायात समिति र पवनदुत समिति सम्बद्ध मजदुरले शुक्लाफाँटाको ना ५ ख ४१५० नम्बरको बस तोडफोड गरेपछि पूर्व पश्चिम राजमार्ग समेत केहीबेर अवरुद्ध बनेको थियो ।
शुक्लाफाँटाले प्रालिको अवधारण पूरा नगरेको र पूर्वी रुटमा चलेका पुराना गाडी समिति दर्ता गरेर यहाँ सञ्चालनमा ल्याएको भन्दै महाकाली र पवनदुत समितिले विरोध गर्दै जनाएको छ । उनीहरुले प्रालिले नयाँ बस ल्याउनुपर्ने भन्दै यातायात सञ्चालनमा अवरुद्ध पार्दै आएका छन् । रासस