ब्लगबुधवार, आषाढ २०, २०७५

हामी पत्रकार र उनीहरू

कनकमणि दीक्षित

उपत्यकामा कार्यरत पत्रकारलाई अन्यत्र जत्तिको डर–धम्की झेल्नु पर्दैन त्यसैले अझ स्वतन्त्र, निडर, निर्धक्क र उत्तरदायी बन्नुपर्छ ।

अघिल्लो साता भारतको समुद्री शहर गोवामा थियौं हामी । यो क्षेत्रका पत्रकारमाथि बढ्दो आक्रमण विरुद्धको छलफलमा भाग लिन । भर्खरै कश्मिरी सम्पादक सुजात बुखारीको दिनदहाडै श्रीनगरमा गोली हानी हत्या भएको थियो । भेलामा सहभागी दर्जन पत्रकारमध्ये धेरै सुजातका मित्र थिए । 

महफूज अनाम र स्तम्भकार ।

भारतको बैंगलोरमा गौरी लंकेशको हत्या भएको एक वर्ष पुग्दैछ । पाकिस्तानको बलोचिस्तान प्रान्तदेखि उत्तरपूर्वी भारत, श्रीलंकादेखि कश्मिरसम्म पत्रकारको बढ्दो असुरक्षाको ‘ट्रेन्ड’ माझ हाम्रो जमघट हुँदै थियो ।

स्तम्भकारसँग यी तस्वीरमा हँसिला देखिन्छन्, प्रख्यात बंगलादेशी सम्पादक महफूज अनाम । ढाका शहरमा खेप्नुपर्ने दिनानुदिन तनावबाट दुई दिन भए पनि मुक्त हुन पाउँदा साँच्चै खुशी देखिन्थे मित्र महफूज ।

यी ‘सेलिब्रेटी सम्पादक’ लाई शेख हसिना नेतृत्वको सरकारले निरन्तर खेदिरहेको छ । महफूजको प्रकाशन गृहको द डेली स्टार र प्रोथम आलो दैनिक बंगलादेशका सबैभन्दा विश्वसनीय पत्रिका मानिन्छन् ।

दक्षिणएशियाका अन्य धेरै ठाउँका पत्रकारले झेल्नुपरेको शारीरिक र मानसिक यातनाका अघि हाम्रो दुखाइको गहिराइ अलि कमै छ जस्तो लाग्छ ।

प्रोथम आलो का सम्पादक मोतिउर रहमानको आफ्नै व्यथा छ । महफूजलाई भने ७० भन्दा बढी मुद्दा लगाइएको छ, त्यो पनि देशका विभिन्न कुनाकाप्चामा, र यीमध्ये कुनै त देशद्रोह अभियोगसम्मका छन् । तारिख धाउँदै हैरान । उनलाई लगाएका सबै अभियोग हास्यास्पद छन्, तर हसिना सरकारलाई यसले केही फरक पारेको छैन ।

बम्बैकी पत्रकार राना अयुब पनि हामीमाझ थिइन् । उनले गत वर्ष ‘द गुजरात फाइल्स’ पुस्तक तयार पारिन् । तर, प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहका सन् २००२ को गुजरात दंगाको जवाफदेहीमा केन्द्रित यो पुस्तक कुनै प्रकाशन गृहले पनि छाप्न मानेन । उनी ‘सेल्फ पब्लिश’ गर्न बाध्य भइन्, तर बजारमा सफलता कमायो पुस्तकले । भारतको ‘तैं चूप मैं चूप’ बन्दै गएको बौद्धिक समाजमा पुस्तकले तहल्का नै मच्चायो ।

जत्तिकै साहसी भए पनि ‘ट्रोलिङ’ र लक्षित आक्रमणले राना अयुब मानसिक तनावमा परिन् । हुँदाहुँदा कसैले ‘पोर्न’ भिडियोमा उनको अनुहार कुनै महिलाको शरीरमा ‘मोर्फ’ गरेर इन्टरनेटमा सार्वजनिक गर्‍यो । ज्यान मार्ने धम्की त कति आयो, आयो । आक्रमण यत्ति चुलियो कि संयुक्त राष्ट्रसंघ समेतले चासो देखायो र रानाको जीवनरक्षाको लागि अपील गर्‍यो ।

गोवामा अरु पनि यस्ता सम्पादक थिए, जसको आफ्नै कहालीलाग्दो कथा थियो नै । सिलोङकी सम्पादक प्याट्रिसिया मुखिम, जसको घरलाई आगो लगाउने प्रयास भर्खरै भएको थियो । इम्फालका सम्पादक प्रदीप पन्जूभम्, जसले सरकार/राज्य र विद्रोहीबीच जहिल्यै आफूलाई जोगाइ हिंड्नु परेको छ ।

लाहोरकी अनुभवी पत्रकार विना सरवरले स्काइपबाटै पाकिस्तानी पत्रकारको वर्तमान सुनाइन्, जहाँ हत्या र अपहरण सामान्य भएको छ । विडम्बना, यस्तो कुकार्यमा तालिवान मात्र होइन, प्रहरीदेखि सैनिक गुप्तचर समेत संलग्न छन् ।

काठमाडौंका हामी सम्पादक–पत्रकार यदाकदा आफूलाई परेको कष्ट, धम्की र ‘ट्रोलिङ’ ले हैरान भएको अभिव्यक्ति दिन्छौं । तर दक्षिणएशियाका अन्य धेरै ठाउँका पत्रकारले झेल्नुपरेको शारीरिक र मानसिक यातनाका अघि हाम्रो दुखाइको गहिराइ अलि कमै छ जस्तो लाग्छ ।

पञ्चायतकाल, द्वन्द्वकाल, ज्ञानेन्द्रकाल, विदेशी हस्तक्षेपकाल, लोकमानसिंहकाल– मा पत्रकारले कम पीडा खेपेका होइनन्— तर जीउज्यानमै खतराको कुरा गर्ने हो भने उपत्यकाको अवस्था त्यति नाजुक छैन ।

लोकतन्त्रको पहिलो पहरेदार र रक्षक नै पत्रकार हो भने पत्रकारिता गाउँ, सदरमुकामदेखि उपत्यकासम्म निर्धक्क, निडर, रवाफिलो हुन जरुरी छ । आजको नेपालमा पत्रकारिता गर्न दक्षिणएशियाका धेरै ठाउँभन्दा सहज छ, त्यसैले हाम्रो दायित्व पनि त्यही हिसाबले बढी छ ।

‘मैले खप्नुपरेको पीडालाई अरुको अनुभवसँग तुलना गर्ने हो भने औसत नै मान्नुपर्छ’, भेलामा राना अयुबले बडो संवेदनशील कुरा भनिन् । उनको संकेत मोफसलका पत्रकारतर्फ थियो, जो जहिल्यै अत्यन्तै जोखिमपूर्ण परिवेशमा जुधिरहेको हुन्छ । स्थानीय पत्रकार गुण्डा/डन, प्रशासक, राजनीतिकर्मी, उद्योगी–व्यवसायी जो–कोहीको तारो बन्दछन् । तर उनीहरूलाई प्रतिरक्षा उपलब्ध हुँदैन । न प्रहरी र राज्य संयन्त्रले सहयोग गर्छ न अन्तर्राष्ट्रिय हल्लीखल्लीले नै ओत दिन्छ ।

यस्तो बेला मोफसलका पत्रकारले कि एक्लो साहसिक बाटो रोज्दै आफूमाथि हमलाको सम्भावना निम्त्याउँछ, कि ‘सेल्फ सेन्सरसिप’ र मौनता साध्छ । जोखिमको स्तर अंग्रेजी भाषीभन्दा स्थानीय भाषी (‘भर्नाकुलर’) पत्रकारितामा बढी हुने कुरा पनि भेलामा उठे ।

अर्थात् नेपाली, तेलेगु, सिन्धी, हिन्दी, बाङ्ला, सिन्हाला अथवा असमियामा पत्रकारिता गर्दा जति दुश्मन बन्छन्, अंग्रेजीमा लेख्दा/गर्दा त्यति हुँदैन । त्यसैले अंग्रेजीमा लेखन, रिपोर्टिङ र सम्पादन गर्न बढी सहज छ ।

नेपालको दशक लामो द्वन्द्वकाल र मधेश आन्दोलनमा जिल्लाका पत्रकारका सास्तीबारे हामीले अझसम्म मिहिन विश्लेषण र चिन्तन गर्न सकेका छैनौं । डेकेन्द्र थापा (२० साउन, २०६१), वीरेन्द्र साह (१८ असोज, २०६४), ज्ञानेन्द्र खड्का (२१ भदौ, २०६०), उमा सिंह, (२७ पुस, २०६५) लाई स्मृतिमा राखिकन र अन्य कैयन् पत्रकारले सहनुपरेको आतंक र पीडालाई फर्केर हेर्ने हो भने मात्र भोलिको नेपालको पत्रकारिता आम नागरिकले चाहे जस्तो हुनेछ ।

अहिले राज्य पुनर्संरचनाका क्रममा संघीय, प्रान्तीय, स्थानीय सरकारलाई छुट्टाछुट्टै अधिकार दिएर प्रभावशाली बनाइएको छ । जहाँ शक्ति हुन्छ, त्यहाँ दुरुपयोग पनि हुन्छ ।

लोकतन्त्रको पहिलो पहरेदार र रक्षक नै पत्रकार हो भने पत्रकारिता गाउँ, सदरमुकामदेखि उपत्यकासम्म निर्धक्क, निडर, रवाफिलो हुन जरुरी छ । आजको नेपालमा पत्रकारिता गर्न दक्षिणएशियाका धेरै ठाउँभन्दा सहज छ, त्यसैले हाम्रो दायित्व पनि त्यही हिसाबले बढी छ ।

प्रतिकृया दिनुहोस