केलियान एमबापे (फ्रान्स)
फ्रेञ्च टिमका उदयमान युवा फरवार्ड केलियान एमबापेको उत्कृष्ट खेलका कारण लिओनल मेसीको अर्जेन्टिना प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो। एमबापेले दोस्रो हाफमा अर्जेन्टिना २–१ ले अगाडि रहेको अवस्था उल्ट्याउँदै दुई गोल गरेपछि अन्ततः दुई पल्टको च्याम्पियन ४–३ गोलले पराजित भएको थियो। यो खेलमा उनलाई अर्जेन्टिनी डिफेन्डर मार्कुस रोजोले डिबक्स भित्र लडाएपछि फ्रान्सले पेनाल्टीको पनि अवसर पाएको थियो।
रुसमा जारी विश्वकपमा सबैभन्दा धेरै कुनै खेलाडीको चर्चा छ भने ती एमबापे नै हुन्। हाल फ्रान्सकै पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबमा ऋण सम्झौतामा खेलिरहेका एमबापेले यो विश्वकपमा उत्कृष्ट युवा खेलाडीको पुरस्कार जित्ने सम्भावना बलियो छ। उनले प्रतियोगितामा ३ गोल गरिसकेका छन्। उनले पेरुविरूद्ध समूह चरणको खेलमा निर्णायक गोल गरेपछि फ्रान्स १–० ले विजयी भएको थियो।
उनको ‘स्पिड’ र खेल कौशललाई रोक्न अहिले विपक्षी खेलाडीलाई धौ–धौ परिरहेको छ। त्यसैले शुक्रबार दक्षिण अमेरिकी राष्ट्र उरुग्वेविरूद्ध हुने पहिलो क्वाटरफाइनलमा उनी विपक्षी खेलाडीको सबैभन्दा ठूलो तारो हुने पक्का छ। उनी यतिबेला विपक्षी टोलीको डिफेन्स रणनीतिलाई फोड्ने फ्रान्सको अचुक अस्त्र हुन्।