तनावपूर्ण खेलमा इङ्ल्यान्ड पेनाल्टी सुटआउटमा ४–३ ले विजयी, क्वाटरफाइनलमा स्विडेनसँग भिडन्त
काठमाडौं (एजेन्सी)– इङ्ल्यान्डले निकै तनावपूर्ण प्रि–क्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। इङ्लिस गोलकिपर पिकफोर्डले कोलम्बियाली खेलाडी कार्लोस बाकाको पाँचौ तथा निर्णायक पेनाल्टी रोक्नुका साथै इङ्लिस खेलाडी एरिक डायरले गोलमा परिणत गरेपछि इङ्ल्यान्ड संघर्षपूर्ण खेलमा क्वाटरफाइनल प्रवेश गर्यो।
जितसँगै इङ्ल्यान्डले क्वाटरफाइनलमा स्विडेनविरूद्ध शनिवार भिड्नु पर्नेछ। निर्धारित समयको खेल १–१ गोलमा टुँगिएपछि थप गरिएको ३० मिनेटमा पनि कुनै नतिजा निस्किएन। यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
माटेस मुरेले हानेको चौथो पेनाल्टी पोस्टको माथि लागेर दुर्भाग्यपूर्ण रुपमा बाहिरिएपछि कोलम्बियाको दूर्भाग्य सुरु भएको थियो। पाँचौ पेनाल्टीमा बाका चुके। यसअघि कोलम्बियाली गोलरक्षक ओसपिनाले पनि इङ्ल्यान्डका हेन्डर्सनले हानेको तेस्रो पेनाल्टी प्रहार जोगाएका थिए। यतिबेला खेल कोलम्बियाको पक्षमा ३–२ ले थियो। तर, यसपछि दुवै पेनाल्टीलाई गोलमा परिणत गर्न कोलम्बियाली खेलाडी चुके भने इङ्ल्यान्डका दुवै खेलाडी सफल भए।
कोलम्बियाका लागि पहिलो पेनाल्टी कप्तान राडामेल फाल्काओले गरे, जुन गोलमा परिणत भएको थियो। हुँवा कावार्डाडो र लुइस मुरिलले हानेको दोस्रो र तेस्रो पेनाल्टी पनि गोलमा परिणत भएको थियो।
इङ्ल्यान्डका लागि पहिलो गोल कप्तान ह्यारी केनले गरे। उनको यस खेलमा दोस्रो र प्रतियोगितामा सातौ गोल थियो। दोस्रो गोल मार्कुस रसफोर्डले गरे। जोर्डन हेन्डर्सनको तेस्रो पेनाल्टी भने कोलम्बियाली गोलरक्षकले रोके। चौथो र पाँचौ पेनाल्टीलाई किरन ट्रिपर र डायरले गोलमा परिणत गरे।
यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुँगिएको थियो। इङ्लिस कप्तान ह्यारी केनले ५७ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल खेल सकिन २ मिनेट बाँकी हुँदा ९३ मिनेटमा कोलम्बियाली डिफेन्डर येरी मिनाले फर्काएका थिए। उनको विश्वकपमा यो तेस्रो गोल थियो र उनले तीनवटै गोल हेडिङमार्फत गरेका थिए। सन् २००२ मा जर्मनीका मिरोस्लाभ क्लोसले हेडिङमार्फत तीनभन्दा बढी गोल गरेका थिए। त्यसयता कसैले गर्न सकेका थिएनन्।
यस खेलमा कोलम्बियाका ६ खेलाडी तथा इङ्ल्यान्डका २ खेलाडीले पहेँलो कार्डको सामना गर्नु परेको थियो।