इङ्लिस प्रशिक्षक साउथगेटको परीक्षा आज, कोलम्बियालाई हराउने दबाब
काठमाडौं (एजेन्सी)– सन् १९६६ मा इङ्ल्यान्डले विश्वकप जित्दा प्रशिक्षक गारेथ साउथगेटको जन्म नै भएको थिएन। उनी इङ्ल्यान्डले विश्वकप जितेको ५ वर्षपछि जन्मिएका थिए।
सन् १९६६ पछि इङ्ल्यान्डले विश्वकप जितेको छैन। र, जारी विश्वकपमा इङ्ल्यान्डको प्रदर्शन र खेलाडीबीचको तालमेल हेर्दा इङ्ल्यान्ड पनि दावेदार टोलीको रुपमा उभिन पुगेको छ। त्यसैले अहिले इङ्लिस समर्थकहरू साउटगेटको प्रशिक्षणमा ५२ वर्षपछि इङ्ल्यान्डले विश्वकप जित्ने भविष्यवाणीसहित ‘थ्री लायन’ को दह्रो समर्थनमा उर्लिएका छन्।
समूह चरणको अघिल्लो दुई खेल जितेर सवैलाई उत्साही तुल्याएको इङ्ल्यान्ड अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित भएको थियो। यो खेलमा साउथगेटले आफ्नो स्टार स्ट्राइकर कप्तान ह्यारी केनसहित नियमित टोलीका ९ खेलाडीलाई विश्राम दिएका थिए।
साउथगेटको यो निर्णयप्रति बेलायती फुटबल आलोचक त्यति खुसी देखिएनन्। धेरैले समूह विजेता बन्दै क्वाटरफाइनलमा ब्राजिलविरूद्ध हुन सक्ने सम्भावित भिड्न्त टार्न साउथगेटले दोस्रो रोजाईको खेलाडी उतारेको भन्दै आलोचना गरेका थिए।
इङ्ल्यान्डको समूहमा विजेता बन्दै अन्तिम १६ प्रवेश गरेको बेल्जियमले सोमबार राती जापानलाई ३–२ गोलले हराएर क्वाटरफाइनलको स्थान सुरक्षित गरिसकेको छ। यही सेरोफेरोमा आज राती ११ बजेर ४५ मिनेटमा इङ्ल्यान्डले दक्षिण अमेरिकी राष्ट्र कोलम्बियासँग खेल्दैछ।
यो खेलमा इङ्ल्यान्ड पराजित भए साउथगेटको जागिर धरापमा पर्ने निश्चित छ। त्यसैले आज इङ्लिस खेलाडीहरू ५२ वर्ष अगाडिको इतिहास दोहर्याउन मात्र होइन, इङ्लिस फुटबलको कायपलट गर्न नयाँ योजनासहित प्रशिक्षक बनेका साउथगेटको निरन्तरताको लागि पनि मैदानमा उत्रिँदै छन्।
कोलम्बिया र इङ्ल्यान्डबीच विश्वकपमा एक मात्र भिड्न्त २० वर्ष अगाडि भएको थियो। जसमा डेभिड बेकहम र डारेन एन्डर्टनले गोल गरेका थिए। पछिल्लो समय यी दुई राष्ट्रबीच २००५ मा अमेरिकाको न्यु जर्सीमा भिडन्त भएको थियो। यसमा पनि माइकल ओयनको ह्याट्रिक गोलको सहयोगले इङ्ल्यान्ड ३–२ ले विजयी भएको थियो। इङ्ल्यान्ड र कोलम्बियाबीच कूल ५ खेल भएका छन्, जसमा ‘थ्री लायन्स’ अपराजित छ।
विश्वकपमा दक्षिण अमेरिकी राष्ट्रसँग इङ्ल्यान्डको १८ पल्ट भिड्न्त भइसकेको छ। जसमा इङ्ल्यान्ड ८ पल्ट विजयी भएको थियो। आज कप्तान केनसँगै रहिम स्टार्लिङ, जेसी लिङ्गार्ड, डेले अली मैदानमा फर्किदै छन्। केन समूह चरणको दुई खेलमा ५ गोल गर्दै ‘गोल्डेन बुट’को दावेदारको सूचीमा अगाडि छन्।
कोलम्बियामा पनि हामेज रोड्रिगेज खेलमा फर्किदै छन्। सेनेगलविरूद्ध अघिल्लो खेलमा ३० मिनेट मात्र खेलेका रोड्रिगेज खुट्टामा चोट बोकेर फर्किएका थिए। मैदानमा रोड्रिगेजसँगै कप्तान राडामेल फाल्काओ र हुँवा कुवार्डाडोको सन्तुलन इङल्यान्डका लागि टाउको दुःखाई बन्न सक्छ। रोड्रिगेज गत विश्वकपको ‘गोल्डेन बुट’ विजेता खेलाडी हुन्।