स्विडेनको सपनामा स्विस बन्ला तगारो?
काठमाडौं (एजेन्सी)– ६ दशकपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्ने सपना देखेको स्विट्जरल्यान्ड र २४ वर्षअघि क्वाटरफाइनल पुगेको स्विडेन रुसमा जारी विश्वकपको २१ औं संस्करणअन्तर्गत मंगलबार प्रि–क्वाटरफाइनलमा भिड्दै छन्।
९८ वर्ष लामो फुटबल मित्रता रहेको यी दुवै देश २९ पल्ट एक अर्कासँग भिडेका छन्। तर, विश्वकपमा भने उनीहरूको पहिलो भेट हो। त्यसैले राती ७ बजेर ४५ मिनेटमा दुवै देश ठूलो प्रतिस्पर्धाका लागि उत्रिँदा लामो समयदेखि विश्वकपको क्वाटरफाइनल प्रवेश गर्न नसकेको दागलाई मेटाउने प्रयासमा हुनेछन्।
स्विट्जरल्यान्ड १९५४ मा आफ्नै देशमा आयोजना भएको विश्वकपको सेमिफाइनल पुगेको थियो। त्यसयता उ तीन पल्ट प्रि–क्वाटरमा पुग्न त सफल भयो तर त्यहाँदेखि उसको यात्रा समाप्त भयो। गत विश्वकपमा स्विट्जरल्यान्डको क्वाटरफाइनल पुग्ने सपना अर्जेन्टिनाले १–० गोलले रोकेको थियो।
यस्तै, स्विडेन पनि १९९४ को विश्वकपदेखि क्वाटरफाइनल प्रवेश गर्न सकेको छैन। अमेरिकामा भएको त्यो विश्वकपमा स्विडेन तेस्रो भएको थियो। त्यसयता २००२ र २००६ मा अन्तिम १६ मा प्रवेश पाएपनि क्वाटरफाइनल पुग्न असफल रह्यो। २०१० र २०१४ को विश्वकपमा स्विडेन छनोट नै हुन सकेन।
२०१६ को युरोकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका ज्लाटन इब्राहिमोभिकको अनुपस्थितिमा स्विडेनले यो विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ। उसको सबैभन्दा मुख्य हतियार नै प्रभावकारी ‘काउन्टर एट्याक’ हो। दोस्रो हाफमा संगठित रुपमा विपक्षीमाथि हमला गर्ने स्विडिस रणनीतिले काम पनि गरेको छ।
मेक्सिकोविरूद्ध समूह चरणको खेलमा स्विडेनले तीन महत्वपूर्ण गोल नै दोस्रो हाफमा गरेको थियो। निलम्बनका कारण आजको खेलमा मिडफिल्डर सेवास्टियन लार्सन अनुपस्थित रहने छन्। स्विडिस कप्तान आन्द्रेस ग्रान्केभिस्टले आजै पुत्रलाभ गरेका छन्। उनकी श्रीमतिले छोरालाई जन्म दिएपनि स्विडेनको रक्षापंक्ति अर्कालाई सुम्पिएर घर फर्किन उनी मानेनन्। उनी आज म्यानचेस्टर युनाइटेडका सशक्त राइट डिफेन्स भिक्टर लिन्डेलोफसँग स्विडिस गोल पोस्टको रक्षा गरिरहेको देखिने छन्। स्विडेन आज विश्वकपको ५० औं खेल खेल्दैछ। विश्वकपको ५० खेल खेल्ने स्विडेन ११ औं टिम हो।
स्विट्जरल्यान्ड पनि आज आफ्नो दुई महत्वपूर्ण र नियमित डिफेन्स बिना मैदान उत्रिने छ। कप्तान स्टेफन लिस्टाइनर र फाबियन स्येर एक खेल निलम्बनका कारण स्विडेनविरूद्ध अनुपस्थित हुनेछन्।
लिस्टाइनरको स्थानमा मिचेल लाङ र स्येरको स्थानमा योहान जोरुउ अथवा निको अल्भेडी मैदानमा उत्रिने सम्भावना छ।