२ गोलले अग्रता लिएको जापान नाटकीयरुपमा बाहिरियो, बेल्जियमको भेट ब्राजिलसँग
काठमाडौं (एजेन्सी)– जापानले ५२ मिनेटमा लिएको दुई गोलको नतिजा उल्ट्याउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ६५ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा प्रवेश गरेका मारोउने फेलानीको आगमनसँगै रणनीति परिवर्तन गरेको बेल्जियमले अन्तिम २० मिनेटमा तीन गोल फर्काउदै जापानलाई स्तब्ध पार्यो।
सन् १९९८ देखि विश्वकप खेल्न सुरु गरेको जापानका लागि सोमबार राती सम्पन्न खेलमा पहिलो पल्ट क्वाटरफाइनल प्रवेश गर्ने सूवर्ण अवसर थियो। तर, फ्रान्सका पूर्व स्ट्राइकर थियरी हेनरीको रणनीतिक चालबाजीमा परेपछि जापान एकाएक बाहिरियो। हेनरी विश्वकप खेलिरहेको बेल्जियम टोलीको टेक्निकल समूहमा समावेश छन्।
जापानले ४८ मिनेटमा यान्की हारागुचीको गोलको सहयोगले अग्रता लिएको थियो। यसको ४ मिनेटपछि नै ताकासी इन्वीईले अर्को गोल थपेपछि जापानले ५२ मिनेटमा दुई गोल थपिसकेको थियो।
तर, ६५ मिनेटमा फेलानीलाई मैदान प्रवेश गराएको बेल्जियमले तीब्रगतिमा खेलिरहेको जापानविरूद्ध ‘काउन्टर अट्याक’को रणनीति अपनायो, जुन जितको मुख्य आधार पनि बन्यो। बेल्जियमका लागि ६९ मिनेटमा भेर्टुङ्घनले पहिलो गोल गरेका थिए। ७४ मिनेटमा फेलानीले दोस्रो गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो।
निर्धारित समयपछि थप गरिएको अतिरिक्त समयमा जापानले गोलका लागि दुई वटा गम्भीर प्रयास गरेको थियो। केइसुकी होन्डाको ३५ यार्ड टाढाको स्तरीय फ्रिकिक बेल्जियम गोलरक्षक थाइबट कोर्टोइसले जोगाएका थिए।
९४ मिनेटमा पाएको अर्को कर्नर किकलाई गोलमा परिणत गर्न जापानी खेलाडी अगाडि बढेको अवस्थाको फाइदा उठाउँदै केभिन डि ब्रुयनले दौडाएको बल रोमेलु लुकाकु हुँदै नासेर चाड्लीले काउन्टर अट्याकमार्फत गोलमा परिणत गरे।
नासेरलाई पनि बेल्जियमले ६५ मिनेटमा फेलानीसँगै मैदान प्रवेश गराएको थियो। बेल्जियमसँगको अप्रत्यासित हारसँगै जापान प्रतियोगिताबाट बाहिरिएको छ भने बेल्जियमले क्वाटरफाइनलमा ब्राजिलसँग भिड्नु पर्नेछ।