नेइमारको नायकत्वमा ब्राजिल क्वाटरफाइनलमा, विश्वकपमा सर्वाधिक गोल गर्ने टोली
काठमाडौं (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का व्यवसायिक स्ट्राइकर नेइमारको उत्कृष्ट खेलसँगै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सन् १९९४ देखि लगातार क्वाटरफाइनल प्रवेश गर्दै आएको ब्राजिलले यसपालि पनि यो इतिहासलाई निरन्तरता दियो।
प्रि–क्वाटरफाइनलको पाँचौ खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्ने क्रममा नेइमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाएका थिए।
पहिलो हाफको २५ मिनेट निरस खेल पस्केको ब्राजिलका लागि दोस्रो हाफको ५० मिनेटमा नेइमारले उत्कृष्ट गोल गरे। विश्वकपमा उनको यो छैटौं गोल थियो। विलियानले डिबक्स भित्र दिएको पास गाब्रियल जेससले नियन्त्रणमा लिन नसकेपनि नेइमारले गोलमा परिणत गरे। उनले विश्वकपमा ३८ सर्ट प्रहार गर्दै ६ गोल पुरा गरेका हुन्।
८८ मिनेटमा डिबक्स बाहिरबाट अगाडि बढाउँदै ल्याएको बल नेइमारले मेक्सिको गोलरक्षक गुइलेर्मोलाई ‘डच’ दिन गोल पोस्टमा प्रहार गरेका थिए। तर, उक्त बल गुइलेर्मोको खुट्टामा लागेर बाहिरिन लागेको अवस्थामा ६ यार्ड नजिकबाट रोबेर्टो फिरमिनोले गोलमा परिणत गरेका थिए।
ब्राजिलले विश्वकपमा जर्मनीको सर्वाधिक गोल गर्ने इतिहासलाई पनि उछिनेको छ। जर्मनीले विश्वकपमा २ सय २६ गोल गरेको थियो। नेइमारको गोलसँगै ब्राजिलले जर्मनीको कीर्तिमानलाई पछाडि पारेको हो। ब्राजिलले विश्वकपमा २ सय २८ गोलको कोशेढुंगा पुरा गरेको छ।