एक खर्ब ३४ अर्बको खाद्यन्न आयात
सरकारले खाद्यवस्तु उत्पादनमा जोड दिँदै आएपनि यसको आयात भने बढ्दो छ । यसवर्ष मात्रै सबै प्रकारका गरी कूल रु. एक खर्ब ३४ अर्बको खाद्य वस्तु आयात भएको छ ।
खाद्यन्नमा गहुँ र कुखुराको मासुबाहेक नेपालीलाई आफ्नो उत्पादनले धान्दैन । खानेबानीमा सुधार नहुँदा पनि चामालको आयातदर वृद्धि हुँदै आएको छ भने गहुँको खपत दर न्यून छ । नेपालमा यसवर्ष १७ लाख मेट्रिक टन गहुँ उत्पादन भएको छ भने रु २५ अर्बको चामल आयात भएको छ ।
अक्टोबर १६ का दिन विश्वभर ‘जलवायु परिवर्तन भइरहेको छ, खाद्य र कृषि फेरिनैपर्छ’ भन्ने नारासहित विश्व खाद्य दिवस मनाइएको छ । ३६ औँ विश्व खाद्य दिवसको अवसरमा खाद्यका लागि कृषि अभियानका संयोजक डा.कृष्ण पौडेलले संविधानमा उल्लेखित खाद्य अधिकार र खाद्य सम्प्रभूतालाई कार्यान्वयन गर्न सबै समूह र व्यक्ति प्रतिवद्ध हुनुपर्ने बताए । राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष उद्धव अधिकारी खाद्यान्न उत्पादनमा भन्दा खरिदमा सरकारी निकाय सक्रिय भएको आरोप लगाउछन ।
अहिले पनि २५ प्रतिशतभन्दा बढी नेपाली गरिबीमा जीवन बिताउन बाध्य छन् भने ४० प्रतिशत भन्दामाथि कुपोषणको सिकार छन् । तर नेपालले खाद्य सुरक्षा र पोषणका लागि दिगो खाद्य प्रणाली स्थापित गर्न सकेको छैन ।
सेप्टेम्बर २०१५ मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सम्मेलनमा १९३ राष्ट्रले आगामी १५ वर्षभित्र भोकमरी अन्त गर्ने जनाएका थिए । त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १९५ देशका प्रतिनिधिले खाद्य सुरक्षा नै अहिलेको मुख्य प्राथमिकता रहेको तर जलवायु मुख्य चुनौती रहेको धारण सार्वजनिक गरेका थिए ।
नेपालमा भने जलवायु परिवर्तन भन्दा पनि जग्गाको खण्डीकरण र खेतीपाती नगर्ने अर्थात बाझै राख्ने चलनले खाद्य सङ्कट निम्तीनसक्ने विज्ञवर्गले चिन्ता व्यक्त गरेका छन् । कृषि गणना २०६८ लाई आधार मान्दा विगत एक लाख २९ हजार हेक्टर जमिन बाझै छ । जस्मा ३० लाख ९० हजार हेक्टर जमिनमा खेती भएको छ ।
सो अवधिमा धान ९ प्रतिशत, गहुँ ६, मकै १२ कोदो १९, जौ ३५, फापर ४०, कोसेबाली २१, तोरीबालीमा १३ प्रतिशतले उत्पादन घटेको छ । छैठौं कृषि गणनाले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा अपनाउन नपाएको र कृषिबाटै रोजगार गर्न चहानेको लागि राज्यले सहज लगानीको वातावरण मिलाउन नसकेको समेत सो गणनामा उल्लेख छ । रासस