खाद्य कार्यक्रम थप विद्यालयमा विस्तार
शिक्षाका लागि खाद्य कार्यक्रम यस वर्षदेखि सुदूरपश्चिमका ४२८ निम्म माध्यमिक विद्यालयमा विस्तार गरिएको छ ।
विद्यालयका छात्रछात्राको उपस्थिति दर वृद्धि गर्न लागू गरिएको यो परियोजना सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुर बाहेक सबै सात जिल्लामा कार्यान्वयनमा छ ।
कार्यक्रम कार्यान्वयनबाट बालविकास केन्द्र, प्राथमिक विद्यालय, र निमावि समेत गरी एक हजार ८०१ विद्यालयका एकलाख ८८ हजार ११९ विद्यार्थी लाभान्वित भएको जिल्लास्थित शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना समन्वय कार्यालयले जनाएको छ ।
गत वर्षसम्म यो कार्यक्रम बालविकास केन्द्र र प्राथामिक विद्यालयमा मात्र लागू थियो । परियोजना अन्तर्गत छनोट भएका गाविसका विद्यालयका छात्र छात्रालाई दिउँसोको खाजाबापत हलुवा पकाएर खुवाइने गरिन्छ ।
यस क्रममा सम्बन्धित विद्यालयमा अध्ययन गर्ने प्रत्येक छात्रछात्रालाई दैनिक ९० ग्राम पोषणयुक्त पिठो, १० ग्राम चिनी, र महिनामा एक पटक १० ग्रामका दरले तेल वितरण गर्ने गरिन्छ ।
परियोजना कार्यन्वयनका लागि विद्यालयमा विद्यार्थी भर्ना दर, कुपोषणको अवस्था, खाद्यान्नको उत्पादन अवस्थालगायतका विषयमा गाविस र विद्यालय छनोट गर्ने गरिएको कार्यालयका प्रमुख नेत्रप्रसाद पन्तले बताए । विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले यो परियोजना सञ्चालन गरेको हो । रासस