रिपोर्टसोमवार, आषाढ १८, २०७५

सजिलो छैन जापानमा

हिमालखबर

मुकेश पोखरेल, जापानबाट फर्केर

सजिलो काम र धेरै कमाइको लोभमा जापान पुग्ने नेपाली विद्यार्थीको ठूलो संख्या आफ्नै निर्णयबाट पछुताइरहेको छ ।

टोक्यो इन्टरनेशनल बिजनेस कलेजले आयोजना गरेको कार्यक्रममा अन्य देशका विद्यार्थीसँगै जापानी भाषा पढ्ने नेपाली विद्यार्थी ।

चार वर्षअघि जापान पुगेका नवलपरासीका कुमार तिमिल्सेनाले २० मंसीर २०७४ मा समुद्रमा हाम फालेर आत्महत्या गरे । स्टुडेन्ट भिसामै जापान गएका कास्कीको पोखरा–२२ पुम्दीभुम्दीका राजु क्षेत्री २३ वैशाख २०७५ मा मृत भेटिए ।

जापानस्थित नेपाली दूतावासका अनुसार पछिल्ला दुई वर्ष जापानमा प्रत्येक दुई महीनामा एक नेपालीको मृत्यु भइरहेको छ । सन् २०१६ मा ७ र सन् २०१७ मा ६ जना नेपालीको जापानमा मृत्यु भएको थियो ।

आत्महत्याबाट भएका मृत्युका अधिकांश घटनालाई विभिन्न कारणले गर्दा मृत्यु मात्रै भन्ने गरिएकाले आत्महत्याका घटना बाहिर आएभन्दा बढी हुने टोक्योस्थित नेपाली दूतावासका नियोग उपप्रमुख कृष्णचन्द्र अर्याल बताउँछन् । “दुई महीनामा सरदर एक नेपालीको मृत्यु हुने गरेको छ” उनी भन्छन्, “मृत्यु भएको रूपमा घटना बाहिर आउँछ, आत्महत्याको गरेको कुरा सकेसम्म प्रकाशमा ल्याइँदैन ।” पछिल्लो दुई वर्षका घटना केलाउँदा मृत्यु हुनेमा स्टुडेन्ट भिसामा जापान पुगेका २० देखि ३० वर्ष उमेर समूहका युवा बढी छन् ।

पैसा कमाउने उद्देश्यले स्टुडेन्ट भिसामा जापान पुगेका युवायुवती सोचेजस्तो नभएपछि आत्महत्यासम्मको अवस्थामा पुग्छन् । जापान आउनुअघि कन्सल्टेन्सीले मासिक रु.२ लाखसम्म कमाइ हुने आश्वासन दिए पनि त्यो पूरा नभएपछि तनावमा फस्ने गरेको विद्यार्थीहरू स्वयं बताउँछन् ।

लमजुङको दुराडाँडाकी संगीता न्यौपाने पनि मासिक रु.२ लाखसम्म कमाउने सपना लिएर स्टुडेन्ट भिसामा जापान पुगिन् । “जापान गएपछि टन्न पैसा कमाइन्छ भन्ने सोचेकी थिएँ” उनी भन्छिन्, “यहाँ अवस्था उल्टो रहेछ, कमाएको पैसा त बस्न–खान र कलेज फी तिर्नमै ठिक्क ।”

जापानमा भाषा पढ्नका लागि भिसा पाउन तुलनात्मक रूपमा सहज भएकाले अधिकांश नेपाली युवाहरू स्टुडेन्ट भिसामा जापान पुगेका छन् । यसरी जापान पुग्ने विद्यार्थीले कलेज शुल्क, कन्सल्टेन्सी शुल्क, हवाई भाडासहित जापान जान न्यूनतम रु.१२ लाखसम्म नेपालमै खर्च गरिसकेका हुन्छन् ।

जापान पुगेपछि त्यहाँको कानून अनुसार विद्यार्थीले हप्ताको २८ घण्टाभन्दा बढी काम गर्न पाउँदैनन् । यता जापान जाँदा लागेको खर्च र छोराछोरी जापानमा भएपछि परिवारले गर्ने अपेक्षा ठूलो हुन्छ । “स्टुडेन्ट भिसामा जापान आएर त्यो अपेक्षा पूरा हुने सम्भावना छैन” न्यौपाने भन्छिन्, “एक त काम पाउनै गाह्रो, काम पाए पनि कानूनले तोकेभन्दा बढी समय काम गरेको थाहा पाए अध्यागमनले भिसा नथपेर नेपाल पठाइदिन्छ ।”

अर्कोतर्फ, भाषाको राम्रो ज्ञान नभएकालाई जापानमा काम पाउन गाह्रो छ । त्यस्ता व्यक्तिले काम पाउने भनेकै ट्रान्सपोर्ट कम्पनी (यामातो), फुड प्याकिङ (वेन्तो), क्लिनर (बेड मेकिङ) मा हो । यस्ता काम महिलाका लागि कठिन हुने न्यौपाने बताउँछिन् ।

सात महीनाअघि स्टुडेन्ट भिसामा जापान पुगेकी अर्घाखाँचीको ढाकावाङकी इन्दिरा खनाल पैसा कमाउने उद्देश्य हो भने स्टुडेन्ट भिसामा जापान नजान सल्लाह दिन्छिन् । उनी भन्छिन्, “जापान जाने समय र खर्चमा कोरियाली भाषा पढेर ईपीएस कोटामा दक्षिण कोरिया जाँदा धेरै राम्रो ।”

कन्सल्टेन्सीको बदमासी
जापानमा विद्यार्थीलाई आत्महत्याको मुखमा पुर्‍याउन नेपालमा बग्रेल्ती खुलेका कन्सल्टेन्सी पनि जिम्मेवार देखिन्छन् । पैसाको लोभमा कन्सल्टेन्सी सञ्चालकले विद्यार्थीलाई असम्भव सपना देखाइदिन्छन् ।

कन्सल्टेन्सीले जापान पुगेपछि जति पनि काम गर्न पाइने र मासिक न्यूनतम रु.२ लाख कमाइ हुने आश्वासन दिने गरेको जापान पुगेका विद्यार्थीको भनाइ छ । नेपालमा कन्सल्टेन्सीले झूटो आश्वासन दिएर विद्यार्थी ठग्ने गरेको गुनासो आइरहेको नियोग उपप्रमुख अर्याल पनि बताउँछन् ।

टोक्योमा भाषा पढिरहेकी न्यौपाने कलेजको होस्टलमा बस्ने वातावरण नभएपछि चर्को भाडा तिरेर बाहिरै बसिरहेकी छन् । ६ महीनाका लागि होस्टेल शुल्क अग्रिम बुझाइसकेकी उनी भन्छिन्, “जाँडरक्सी खानेहरूले हो–हल्ला गर्ने, महिला–पुरुष सबैका लागि एउटै शौचालय र भान्सा भएकाले बाहिरिएँ तर, पैसा फिर्ता पाइनँ ।”

टोक्योमा कोठा पाउन निकै समस्या हुने उनको अनुभव छ । एउटा कोठाका लागि शुरूमै दुई लाख येन (फिर्ता नहुने) जम्मा गर्नुपर्छ भने एउटा कोठाको मासिक भाडा ८० हजारदेखि एक लाख येनसम्म लाग्छ ।

काठमाडौं, चितवन र रूपन्देहीका केही कन्सल्टेन्सीमा यो संवाददाता विद्यार्थी बनेर पुग्दा उनीहरूले हामीसँग पनि झूटा आश्वासनका कुरा गरे । बागबजारको इन्लाइटन, चितवनको इडिमार्क, काठमाडौंका वकाबा, यूकी लगायत कन्सल्टेन्सीमा विद्यार्थी बनेर सोधपुछ गर्दा उनीहरू सबैले जापानमा स्टुडेन्ट भिसामा गए पनि सजिलै काम पाइने, भिसाको समस्या नहुने र प्रशस्त कमाइ हुने आश्वासन दिए ।

नियोग उपप्रमुख अर्यालका अनुसार दूतावासले एक वर्षअघि नै शिक्षा मन्त्रालयलाई ‘नेपालका कन्सल्टेन्सीका कारण धेरै नेपाली जापानमा अलपत्र पर्ने अवस्था आएको र विकृति पनि बढ्दै गएकाले कन्सल्टेन्सीको नियमन र कडाइ गर्नुपर्ने’ भन्दै पत्र लेखेको थियो । तर, कन्सल्टेन्सीलाई नियमन र कडाइ गर्नेतर्फ अहिलेसम्म शिक्षा मन्त्रालयको ध्यान पुगेको पाइँदैन ।

जापान जानका लागि कतिपय विद्यार्थीले नक्कली कागजपत्र तयार गर्छन् । स्टुडेन्ट भिसामा अध्ययनका लागि जानेले अभिभावकको आम्दानी र ब्यांकमा भएको कारोबार देखाउन अधिकांशले कन्सल्टेन्सीकै सहयोगमा नक्कली कागजात बनाउँछन् ।

सात महीनाअघि जापान पुगेकी मोरङ, उर्लाबारीकी हिमा लुङ्गेली मगर बागबजारको इन्लाइटन कन्सल्टेन्सीले रु.२५ हजार लिएर ब्यांकिङ प्रयोजनका कागजपत्र तयार गरिदिएको बताउँछिन् ।

नेपाली तेस्रो स्थानमा
स्टुडेन्ट भिसामा जापान जाने नेपालीको संख्या चिनियाँ र भियतनामीपछि तेस्रो स्थानमा छ । जापानमा धेरै नेपाली संलग्न भएको अर्को क्षेत्र हो, रेस्टुरेन्ट व्यवसाय । जापानको होक्काइदो प्रिफेक्चरको हाकोदातेमा रेस्टुरेन्ट चलाइरहेका शिवप्रसाद भुसाल चार वर्षकै बीचमा हाकोदातेमा नेपाली रेस्टुरेन्टको संख्या दुईबाट ३० पुगेको बताउँछन् । रेस्टुरेन्ट बढेसँगै कुकका नाममा अदक्ष कामदार पनि जापान भित्रिन थालेपछि पछिल्लो समय कुक भिसामा जापान सरकारले कडाइ गरेको छ ।

भुसालका भनाइमा पर्यटक भिसामा नेपालीलाई जापान पठाउने र शरणार्थीमा आवेदन दिएर जापान बस्न लगाउने गिरोह पनि सक्रिय छ । “जापानले नेपालीलाई कुक भिसामा कडाइ गरेपछि अहिले टुरिष्ट भिसामा जापान ल्याएबापत रु.१२ लाखदेखि रु.१५ लाखसम्म लिने दलालको गिरोह सक्रिय छ”, भुसाल भन्छन् ।

नेपालीलाई विभिन्न बहानामा जापान ल्याउन क्रियाशील संघ–संस्थाका प्रतिनिधिलाई पनि चेतावनी दिइएको नियोग प्रमुख अर्याल बताउँछन् । “पीडितलाई उजुरी नगर्न भनी धम्क्याउँदा रहेछन्” उनी भन्छन्, “मौखिक आधारमा कारबाही गर्न गाह्रो छ ।”

जापानमा नेपालीको संख्या बढेसँगै गैरकानूनी काममा संलग्न हुनेहरू पनि बढ्न थालेका छन् । त्यसैले नेपाली विद्यार्थीले अध्ययन गर्ने कलेजमा नेपाली भाषामा लेखिएका जापानी कानूनको सँगालो त्यहाँको सरकारले वितरण गर्न शुरू गरेको छ । 

प्रतिकृया दिनुहोस