इस्को (स्पेन)
रियल म्याड्रिडका आक्रामक मिडफिल्डर इस्को आयोजक रुसविरूद्ध आज हुने प्रि–क्वाटरफाइनलका लागि स्पेनी टिमको प्रभावशाली खेलाडी हुन्। उनले मोरक्कोविरूद्ध २–२ को बराबरी खेलमा गोल गरेका थिए। जसका कारण स्पेन समूहको विजेता बन्दै आयोजक रुससँगको भिडन्तको समिकरणमा प्रवेश गरेको थियो।
मोरक्कोसँगको पराजय उसलाई समूह चरणबाट बाहिर निकाल्ने निहुँ पनि बन्न सक्थ्यो। २६ वर्षीय इस्कोले क्लब फुटबलमा आफूलाई प्रमाणित गरिसकेका छन्। दायाँ विङरको भूमिकामा उनी खतरनाक मानिन्छन। इस्को प्रशिक्षक फर्नान्डो हियरोका विश्वास पात्र पनि हुन्। रियल म्याड्रिडका पूर्व ‘सेन्टर ब्याक’ हियरोले १५ वर्षको उमेरदेखि नै इस्कोको खेल पछ्याइरहेका छन्।
उनले नै भ्यालेन्सियाबाट मालागामा आवद्ध हुन इस्कोको सिफारिस गरेका थिए। सन् २०१३ देखि रियल म्याड्रिडमा आवद्ध इस्कोले ३२ गोल गरिसकेका छन्। उनका लागि त्यतिबेला म्याड्रिडले ३ करोड युरो खर्चिएको थियो। गत मार्चमा अर्जेन्टिनाविरूद्ध मैत्रिपूर्ण खेलमा ६–१ ले विजयी स्पेनी टिमका लागि इस्कोले ह्याट्रिक गरेका थिए। विश्वकपको समूह चरणमा ३ गोल गरेका डिएगो कोस्टाका लागि पनि उनी सहयोगी बन्न सक्छन।