डेनिस चेरिसेभ (रुस)
पूर्व स्ट्राइकर डिमिट्री चेरिसेभका छोरा डेनिस स्पेनमा बसेर व्यवसायिक फुटबल खेल्ने रुसी खेलाडी हुन्। मिडफिल्ड, विशेषत विङबाट खेल्ने डेनिस २०१६ देखि भिलारेलमा आवद्ध छन्। उनले रियल म्याड्रिड क्लबको एकेडेमीबाट फुटबल कला सिकेका छन्।
बुवा डिमिट्रीले स्पोर्टिङ गिजोनबाट व्यवसायिक फुटबल खेल्न स्पेनको बसाइँ सरेसँगै डेनिस ६ वर्षको उमेरमा रुस छोडेर फुटबलको बलियो संरचना भएको देश पुगेका थिए। उनले रियलको ‘बी’ टिमबाट समेत खेलिसकेका छन्। तर, लगातारको चोटका कारण उनी म्याड्रिडको सिनियर टिममा अटाउन सकेनन्। यसपछि ऋण सम्झौतामा सेभिल, भिलारेल र भ्यालेन्सिया हुँदै उनलाई भेलारेलले स्थायी रुपमा अनुबन्ध गरेको थियो।
२०१२ मा अमेरिकाविरूद्ध अन्तर्राष्ट्रिय फुटबलमा डेव्यु गरेका डेनिसले आफ्नै घरमा आयोजना भएको विश्वकपमा तीन गोल गरिसकेका छन्। उनी स्पेनका धेरै खेलाडीसँग परिचित छन् र स्पेनिसहरूको खेल शैलीबाट पनि परिचित छन्। त्यसैले आज हुने प्रि–क्वाटरफाइनलको खेलमा स्पेनका लागि उनी खतरनाक खेलाडी बन्न सक्छन।