रिपोर्टशनिवार, आषाढ १६, २०७५

पूर्व–पश्चिम एउटै शहर !

मुकेश पोखरेल

महेन्द्र राजमार्ग बनेसँगै बढेको ‘हाइवे’ केन्द्रित बसाइसराइले पूर्व–पश्चिम राजमार्ग एउटै शहरको रूपमा विकास हुँदै जाँदा पर्यावरणमा घातक असर परेको छ ।

मकवानपुरको मनहरी बजार । तस्वीर: शिवकुमार काशी

२०२४ सालमा चन्द्रबहादुर श्रेष्ठ मकवानपुरको सुनाचुरीमा बसाइँ सरेर आउँदा त्यहाँ खरले छाएका १४–१५ वटा स–साना घर थिए । पूर्वको मनहरी बजार पुग्न ८ किलोमिटर घना जंगल छिचोल्नुपथ्र्यो । अहिले मनहरी गाउँपालिका–८, सुनाचुरीमा ९०० भन्दा बढी घर छन् । “५० वर्षमा सुनाचुरी र मनहरी जोडिइसक्यो” ७७ वर्षीय श्रेष्ठ भन्छन्, “२०४० सालमा पूर्व–पश्चिम राजमार्ग बनिसकेपछि त बसाइँ सरेर आउनेको ओइरो नै लाग्यो ।” 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै अवस्था मनहरी–सुनाचुरीको भन्दा फरक रहेन । राजमार्ग छेउछाउमा बाक्लो जंगल हराउने र बस्ती बढ्ने क्रम चल्यो । बुटवल नगरपालिकाका पूर्व प्रमुख भोजप्रसाद श्रेष्ठ २०४२ सालतिर बुटवल–बर्दघाटबीचको खैरेनी र सुनवल छेउछाउमा पातलो बस्ती रहेको सम्झ्न्छन् । बुटवल पश्चिम रानीबगिया, सालझ्ण्डी, गोरुसिङ्गे र चन्द्रौटामा मात्र स–साना बस्ती थिए ।

जोडिंदै शहर
राजमार्ग निर्माणपछि पहाडबाट तराईमा बसाइसराइ व्यापक बन्यो । त्यसबाट राजमार्ग केन्द्रित पूर्व–पश्चिम बस्ती जोडिने क्रम बढिरहेको छ । आसपासका स–साना बस्तीहरू पनि बढ्दै राजमार्गको शहरमा जोडिएका छन् । बाराको पथलैया–अमलेखगञ्जबीचको पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जलाई छोड्ने हो भने त्यहाँ पनि ठूलो बस्ती बनेको छ । अमलेखगञ्जदेखि हेटौंडासम्मको चुरियामाई क्षेत्रमा थोरै मात्र जंगल बाँकी छ ।

हेटौंडा–नारायणघाट खण्ड घरले भरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार क्षेत्र बाहेक सबै शहर बनिसकेको छ । पथलैयादेखि निजगढसम्मको राष्ट्रिय वन र रौतहटको चन्द्रनिगाहपुरदेखि वागमतीसम्मको जंगल बाहेक प्रायः सबै ठाउँमा वन सखाप भइसक्यो ।

नारायणघाट पश्चिम कावासोती–चोरमारा, चोरामार–अरुणखोला र अरुणखोला–दुम्कीबासको जंगल बाहेक अन्यत्र सबै ठाउँमा शहर बनिसक्यो । दुम्कीबास–बर्दघाटबीचको दाउन्ने बाहेक बर्दघाटदेखि बुटवलसम्म अब वन छैन, सबै सखाप भइसक्यो । बुटवलदेखि पश्चिम सुराइनाकासम्म सडकको उत्तर–दक्षिण घरहरूले भरिएको छ ।

सुराइनाका र भालुवाङबीचको धानखोला, कालाकाँटे लगायतका ठाउँमा पनि सडक छेउछाउ बाक्लो बस्ती बसिसकेको छ । भालुवाङदेखि लमहीसम्म खाली ठाउँ नै छैन । लमहीदेखि पश्चिम बाँकेको कुसुमबीच पनि यही क्रम बढिरहेको छ ।

कुसुम पश्चिम शमशेरगञ्जसम्म मात्र हो, बस्ती कम र जंगल बढी भएको । राजमार्गभन्दा भित्रका गाउँहरूमा पनि शहरीकरण बढिरहेको छ, जुन ढिलोचाँडो राजमार्गमै आएर जोडिनेछ । पूर्व–पश्चिम राजमार्गको कुसुम–कोहलपुर खण्डबीचमा पर्ने शमशेरगञ्ज तीव्र शहरीकरण भइरहेको अर्को ठाउँ हो ।

२०५७ सालमा १५० घरधुरी रहेको शमशेरगञ्जमा अहिले एक हजारभन्दा धेरै घर छन् । नेपालगञ्जलाई माथ गर्ने गरी अघि बढेको यो बस्तीमा अहिले सबै किसिमका सेवासुविधा उपलब्ध छन् । बर्दियामा पनि राजमार्गकेन्द्रित शहरीकरण बढ्दो छ । धेरैजसो राजमार्ग खण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले शहरीकरण बाँसगढी र भुरीगाउँ क्षेत्रमा बढी भइरहेको छ ।

बर्दिया पश्चिम शुक्लाफाँटा वन्यजन्तु आरक्ष बाहेक प्रायः सबै ठाउँमा शहरीकरण बढ्दो छ । पछिल्लो समयमा तीव्र रूपमा विकसित भएको कैलालीको लम्की बजार हो । 

अर्थशास्त्री डा. डिल्लीराज खनालका अनुसार तराईमा पूर्व–पश्चिम राजमार्ग आसपासको शहरीकरणले वनसँगै खेतीयोग्य जमीनमा ठूलो नोक्सान भइरहेको छ । पहाडमा कृषि उत्पादन नहुने, तराईको खेतीयोग्य जमीन पनि मास्ने प्रवृत्ति मुलुकको अर्थतन्त्रको लागि घातक हुने उनको भनाइ छ । यस प्रकारको अन्धाधुन्द बसोबासले खानेपानी, ढल निकास जस्ता शहरी विकासका पूर्वाधारको व्यवस्थापनमा समेत असर पारेर राज्यको लगानी बढाउने उनी बताउँछन् ।

त्यसबाहेक, ‘हाइवे’ मा बस्तीले सवारीको गतिलाई पनि घटाउँदै लगेको छ । महेन्द्र राजमार्गका बस्ती भएका क्षेत्रमा गाडीको गति प्रतिघन्टा ४० किलोमिटरभन्दा कम हुन्छ । ११० किमि लामो नारायणघाट–बुटवल राजमार्ग पार गर्न तीन घण्टा लाग्छ । यसरी ‘हाइवे’ मा सवारी साधनको गति घट्नु भनेको लागत मूल्यदेखि समय व्यवस्थापनसम्ममा असर पुग्नु हो ।

पूर्व–पश्चिम राजमार्ग क्षेत्रको वन विनाश र अन्धाधुन्द शहरीकरणको सबभन्दा खतरनाक असर चाहिं पर्यावरणमा परेको छ । “मेचीदेखि महाकालीसम्म एउटै शहर बनाउने बाटोमा अघि बढेका छौं” संरक्षणविद् डा. तीर्थबहादुर श्रेष्ठ भन्छन्, “विना योजनाको शहरीकरणले पर्यावरण ध्वस्त पार्दैछ, पर्यावरण विना त मानव जीवन नै कसरी चल्ला त !”

चाप वनजंगलमा
राजमार्गकेन्द्रित बसाइसराइको सीधा असर भावर र चुरे क्षेत्रमा परेको छ । राष्ट्रिय वन सर्वेक्षण प्रतिवेदनका अनुसार, चुरे क्षेत्रको वन विनाश दर प्रति वर्ष ०.१८ प्रतिशत (२५ हेक्टर) छ ।

बाँकेको शमशेरगञ्ज बजार ।

हरियो वन, नेपालका प्रमुख डा. शान्तराज ज्ञवाली राजमार्गकेन्द्रित बसाइसराइले बस्तीहरूलाई राजमार्गबाट उत्तरतिर सार्दै लगेको बताउँछन् । “त्यसको असर चुरे र भावर क्षेत्रमा परेको छ” उनी भन्छन्, “चुरे र भावरको जंगल नासिनु भनेको तराईको मरुभूमिकरण हो ।” 

वन विनाशकै कारण हरेक वर्ष चुरे र भावर क्षेत्रको भूक्षय तराईमा खनिंदैछ । बाराको पसाहा, सप्तरीको खाँडो, धनुषाको जलान नदीको तहभन्दा माथि राजमार्गलाई नै छुने गरी थुप्रिएको गेग्रान यसैका उदाहरण हुन् । चुरे र भावर क्षेत्रको जंगलले आकाशबाट परेको पानी जमीन मुनि पुर्‍याउँछ । अर्थात् भूमिगत जलसतह ‘रिचार्ज’ गर्छ ।

तर, जंगल नासिएपछि पानी रिचार्ज नभई सतहमा बगेर भू–क्षय बढाएको छ । राजमार्ग क्षेत्रमा बढिरहेको बस्तीको चाप निकुञ्ज क्षेत्रमा समेत देखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत मनोज साह मध्यवर्ती क्षेत्रहरूका सामुदायिक वनमा थेगिनसक्नु अतिक्रमण बढेको बताउँछन् ।

हरायो पानी
चुरे–भावर क्षेत्रको वन विनाशको असर तराईको भूमिगत पानीमा परेको छ । पछिल्लो पाँच वर्षमा तराई मधेशका गाउँमा इनार र चापाकल सुक्ने समस्या वर्षेनि बढिरहेको छ । पाँच वर्षअघि ४०–५० फिट गहिराइमै पानी आउने गरेकोमा अहिले १५० फिटमा पनि भेट्न मुश्किल पर्न थालेको छ । महोत्तरीको बर्दिवास नगरपालिका–७ मनहरीपुरकी मुना खत्री पोहोर खनेको इनार एक वर्ष नपुग्दै सुकेको बताउँछिन् ।

पर्साको सोनवर्षामा बनाइएको धारो । पानी आउन छाडेपछि स्थानीयले गोठको रुपमा प्रयोग गरेका छन् । तस्वीर:जियालाल साह

वडा नम्बर–८ पशुपतिनगरका नथुनी महतोको समस्या पनि उस्तै छ । “पाँच वर्ष अघिसम्म लामो खडेरी हुँदा जेठतिर खानेपानीको अलिअलि समस्या हुन्थ्यो” उनी भन्छन्, “अहिले त फागुनमै चापाकल र इनार सुक्न थालेको छ ।”

नगरपालिकाका प्रमुख विदुर कार्की बर्दिवास नगर क्षेत्रमा ७० प्रतिशत इनार र चापाकल चैत शुरू नहुँदै सुकेको बताउँछन् । किसाननगर, विजुलपुरा, हात्तीलेट र पशुपतिनगर, यादवटोल, छघरे टोल लगायतका ठाउँमा यो समस्या बढी देखिएको उनले बताए ।

“अरबलाई मरुभूमि भनेर बुझथ्यौं, अब हामी नै मरुभूमिवासी बन्दैछौं”, ६ जेठमा खानेपानीको गुनासो लिएर आएका स्थानीयका माग सुन्दै गरेका कार्कीले भने । दुई वर्षअघि चापाकल र इनारहरू धमाधम सुक्न थालेपछि स्थानीयले गठन गरेको संघर्ष समितिको नेतृत्व उनैले गरेका थिए ।

चापाकल र इनार सुक्ने समस्या राजमार्ग आसपास मात्र नभई दक्षिणी बस्तीहरूमा पनि देखिएको छ । महोत्तरीको जलेश्वर नपा–२ का गिरेन्द्रकुमार झाले आफ्नो घरको चापाकलमा चैतदेखि मध्य असारसम्म पानी आउन छाडेको तीन वर्ष भएको बताए ।

जिल्ला जनस्वास्थ्य अधिकृत समेत रहेका झ महोत्तरीभरि नै यस्तो समस्या रहेको बताउँछन् । उनी भन्छन्, “सरसफाइको कुरा गर्न गाउँघरमा गयो, मानिसहरू पानी नै छैन, के को सरसफाइ भनेर उल्टै कराउँछन् ।” 

वैशाख पहिलो हप्ता रूपन्देही–बर्दिया र जेठ पहिलो हप्ता सप्तरीदेखि पर्सासम्मका पूर्व–पश्चिम राजमार्ग क्षेत्र र नेपाल–भारत सीमावर्तीका गाउँघर डुल्दा सबै ठाउँमा चापाकल र इनार सुक्ने समस्या देखियो । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का देवीबहादुर खत्रीले फागुनदेखि असारसम्म चापाकलबाट पानी आउन छाडेको तीन वर्ष भएको सुनाए ।

त्यही कारण कञ्चनरुप नपामा डीप ट्यूबेल गाड्न शुरू गरिएको उनले बताए । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको धनुषास्थित यूनिटका प्रमुख रामेश्वर पण्डित जनकपुर दक्षिणका क्षेत्रमा ८० देखि १०० फिट गहिराइका चापाकलमा समेत पानी आउन छोडेको बताउँछन् ।

सर्लाही, सासपुरका लालबहादुर ब्लोन पनि पानीकै समस्याले पिरोल्न थालेको बताउँछन् । चापाकलहरू सुकेपछि गाउँभन्दा आधा घण्टा टाढाबाट पानीको जोहो गर्नु परेको उनले बताए । उनका अनुसार, पहिले शिक्षा र रोजगारी गाउँघरमा प्रमुख माग हुन्थ्यो, अहिले पानी भएको छ ।

कतिसम्म भने, महोत्तरीका पत्रकार सञ्जितकुमार मण्डल जिल्लाको किसाननगर, पशुपतिनगर, हात्तीलेट लगायतका गाउँवासी पानी लिन गाडी रिजर्भ गरेर जान थालेको बताउँछन् ।

दाङको लमही–१ नर्तीका जोगेन्द्र चौधरीलाई ६ वटा गाईको लागि पानी जुटाउन समस्या परेको छ । चापाकलमा पानी नआएपछि तीन वर्षअघि खनेको इनारमा रातभरमा मुश्किलले केही लीटर पानी जम्मा हुने उनले बताए ।

तरकारी खेती गर्ने जोगेन्द्रका छिमेकी ईश्वर चौधरीले त चापाकल सुकेपछि खनेको इनारमा पानी नै नआएको बताए । सामुदायिक वन उपभोक्ता महासंघ, धनुषाका अध्यक्ष सोमप्रसाद शर्मा चैत लागेपछि चापाकल र इनार सुक्ने समस्याले साना किसानको भोक–निद्रा उडाएको बताउँछन् ।

वन्यजन्तुलाई असर चुरे–भावरसँगै महाभारत क्षेत्रमा पानीका स्रोतहरू सुक्न थालेपछि वन्यजन्तुहरू दक्षिण सर्दै गएका छन् । मकवानपुरको सुनाचुरी, लोथर र मनहरीको बगर प्रशस्त गैंडा पाइने ठाउँमा गनिन्थे । एकसिंगे गैंडाको विषयमा विद्यावारिधि गरेका शान्तराज ज्ञवालीका अनुसार २० वर्ष अघिसम्म त्यस क्षेत्रका वनमा गैंडाका लागि प्रशस्त आहाल र घाँसे मैदान थिए ।

तर, अहिले चितवन राष्ट्रिय निकुञ्जको सौराहा भन्दा दक्षिण पश्चिममा मात्र गैंडा पाइन्छ । “आहाल बस्ने पोखरी र चर्नलाई घाँसे मैदान सुकेपछि सुनाचुरी, लोथर र मनहरी बगर क्षेत्रका गैंडाको बासस्थान सरेको” डा. ज्ञवाली बताउँछन् ।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरी चुरेबाट निस्केको पानी बीचमा सुकेर वन्यजन्तुलाई समस्या भएको बताउँछन् । सुक्खा याममा पानीको खोजीमा भौतारिंदा राजमार्गमा गाडीको ठक्करबाट मर्ने वन्यजन्तुको संख्या बढेको छ । चौधरीका अनुसार, गत वर्ष गाडीको ठक्करबाट ८० वटा वन्यजन्तु मरेका थिए । तीमध्ये आधा फागुनदेखि जेठसम्म मरेका थिए ।

मानव बस्ती विस्तारले गर्दा वन्यजन्तु आउजाउ गर्ने करिडोरहरू पनि छिन्नभिन्न भइसकेका छन् । भारतको ब्रह्मपुत्रदेखि नेपालहुँदै पश्चिममा यमुना नदीसम्म पुग्ने वन्यजन्तुको करिडोर छिन्नभिन्न भइसकेको छ । पूर्वका वन्यजन्तु पश्चिम जाने र पश्चिमका पूर्व जाने व्यवस्था मिलाउन नेपालभित्र बनाइएको वागमतीदेखि शुक्लाफाँटासम्मको तराई भू–परिधि करिडोर पनि भताभुंग भएको छ ।

योसँगै वन्यजन्तुको आनुवंशिक गुण वृद्धि गर्न अपनाइएको यो अवधारणाको सम्भावना अन्त्य भएको यस क्षेत्रका विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार, तराई भू–परिधिको असफलता पछि उत्तर–दक्षिण करिडोरको विकास गर्ने प्रयास थालिएको छ ।

नेपालमा अहिलेसम्म कहाँ बसोबास र कुन क्षेत्रमा खेती भन्ने प्रष्ट छैन । भू–उपयोग सम्बन्धी योजना नहुँदा जथाभावी बसोबास भइरहेको छ, जसको सीधा असर वनमा परेको छ । सरकारले २०६९ सालमा भू–उपयोग सम्बन्धी नीति ल्याए पनि ऐन बनाएर कार्यान्वयन गर्न सकेको छैन ।

कार्यान्वयनमा नआएको नीतिमा जमीनलाई बसोबास, खेतीयोग्य, औद्योगिक, वन लगायत १२ वर्गमा विभाजन गरेको छ । भूमि अधिकारकर्मी जगत देउजा भू–उपयोग नीति कार्यान्वयन नहुँदा जथाभावी सडक निर्माण र योजनाविहीन बस्ती विस्तार गर्ने प्रवृत्ति बढेको बताउँछन् ।

डुब्यो लगानी
पर्साको साविक सोनवर्षा र शंकरसरैया गाविसमा खानेपानीको समस्या हटाउन जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले २०६३ सालमा गरेको रु.१ करोड ५२ लाख लगानी मुहान नै सुकेपछि खेर गएको छ । गाउँका धाराहरूमा पानी आएको एक वर्षमै ९ किलोमिटर टाढाको चुरे क्षेत्रमा रहेको भाठा भन्ने ठाउँको मुख्य मुहान सुक्यो ।

भाठामा मुहान सुकेपछि दुई वर्षअघि तराई–मधेश खानेपानी आयोजनाले रु.३० लाखमा गरेको डीप बोरिङ्गमा पनि अहिले पानी आउँदैन । जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर रामहित यादव पानीको सतह गहिरिंदै गएकाले पानी आउन छोडेको बताउँछन् ।

शंकरसरैयामा पानीको समस्या हटाउन २०६४ सालमा पुनः चुरेसँगै जोडिएको घोडा मसान मुहानबाट पानी ल्याई वितरण गर्न रु.१ करोड ६५ लाख लागतमा ट्यांकी निर्माण, पाइप विस्तार र धाराहरू जडान गरियो, तर पानी आउनु अघि नै मुहान सुक्यो ।

पर्साको ठोरी गाउँपालिका सिकारीबासका जनता चापाकल र इनार सुकेपछि अहिले डोहरम खोलाको पानी खान बाध्य छन् । “हिउँदमा पानी सुकेर वर्षामा बाढी आएर समस्या” सिकारीबासका ७८ वर्षीय नारायण अर्याल भन्छन्, “पाँच वर्ष भयो फागुन पछि चापाकल र इनार सुक्न थालेको ।”

जियालाल साह, पर्सा

प्रतिकृया दिनुहोस